कतारकी राजकुमारी अलथानीले सगरमाथामा जे देखिन्…

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारी तथा सगरमाथा आरोही आश्मा अलथानीले हिमाली क्षेत्रको तीब्र रूपमा भइरहेको परिवर्तनप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् ।

सोलुखुम्बुको सानो तर जलवायु असरले गहिरो प्रभावमा परेको गाउँ थामेमा साथसाथै फाउन्डेसनद्वारा आयोजित हिमाली आरोही सम्मेलनलाई सम्बोधन गर्दै राजकुमारी थानीले भनिन्, ‘सगरमाथाजस्ता हिमालमा हिउँ रित्तिँदै जानु भनेको केवल नेपालको चिन्ता होइन, यो सम्पूर्ण विश्व समुदायका लागि खतरा हो ।’

सन् २०१९ मा पहिलोपटक नेपाल आएकी र त्यसै वर्ष सफल सगरमाथा आरोहण गरेकी राजकुमारीले अहिलेको यात्रालाई निकै भिन्न अनुभवको रूपमा लिएकी छन् । ‘पहिलोपटक आउँदा हिमाल उज्यालो, आकर्षक र जीवन्त लाग्यो, अहिले फर्किंदा ती हिमालमा जीवन छैनजस्तो लाग्यो, हिउँ हराउँदै गएको छ, चट्टान खुला भएका छन् । मौसम परिवर्तन भएको छ । यो सबै परिवर्तन एकदमै गम्भीर छ,’ उनले भनिन् ।

थामे बस्ती : जलवायु परिवर्तनको प्रत्यक्ष मार
हिमाली वातावरणमा आएको परिवर्तनको सबैभन्दा ठूलो असर थामेजस्ता बस्तीले प्रत्यक्ष रूपमा झेलिरहेका छन् । गएको वर्ष सगरमाथा क्षेत्रमा अवस्थित एक हिमताल फुट्दा आएको बाढीले थामे बस्तीमा व्यापक क्षति पु¥याएको थियो । दर्जनौं घर विस्थापित भए । विद्युत् संरचना ध्वस्त भयो । सडक सञ्जाल टुट्यो र बस्तीका बालबालिकाको शिक्षामा समेत बाधा पुगेको थियो ।

राजकुमारी थानीले यस्ता घटना जलवायु परिवर्तनको प्रत्यक्ष परिणाम भएको बताउँदै भनिन्, ‘यस्ता हिमाली बस्तीको पुनर्निर्माणमा केवल नेपाल सरकारको प्रयास काफी हुँदैन । यो संकटसँगै लड्न सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायले हातेमालो गर्नुपर्छ ।’

पूर्वसूचना प्रणाली जडानको आग्रह बाढी, हिमताल विस्फोट र हिउँपहिरोजस्ता विपद्बाट बच्न पूर्वसूचना प्रणाली जडान गर्नुपर्नेमा राजकुमारीको विशेष जोड थियो । ‘हिमाली क्षेत्रहरू संवेदनशील छन्, यहाँ यस्ता प्रणाली भए यथासमयमा सूचना प्रवाह भएर जनजीवन जोगिन सक्छ । प्रविधिको सदुपयोग जरुरी छ,’ उनले भनिन् ।

सगरमाथा संरक्षणमा विश्वको उत्तरदायित्व
राजकुमारी थानीले सगरमाथा केवल नेपालको सम्पत्ति नभई सम्पूर्ण मानव जातिको साझा धरोहर भएको उल्लेख गरिन् ।

‘हामीजस्ता आरोहीले सगरमाथा चढ्दा मात्र गौरवको कुरा मान्दैनौं, हामी त्यसको रक्षा पनि हाम्रो कर्तव्य ठान्छौं, अब हरेक विकास योजनामा हिमालको अस्तित्वलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ, होइन भने भोलि सगरमाथा फोटोमा मात्र सीमित हुनेछ,’ उनले चेतावनीस्वरूप भनिन् ।

राजकुमारीको भनाइलाई समर्थन गर्दै सम्मेलनमा सहभागी अन्य पर्यावरण विज्ञ, आरोही र स्थानीय प्रतिनिधिले हिमालय संरक्षणका लागि वैश्विक सहकार्य आवश्यक भएकामा एकमत जनाए ।

सम्मेलनमा नेपाल सरकार, स्थानीय निकाय, गैरसरकारी संस्था तथा विदेशी पर्वतारोहण समुदायबीच सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । थामेमा आयोजित यो सम्मेलन केवल हिमाली आरोहीको जमघट मात्रै थिएन, यो जलवायु चेतना, हिमाली संकट र समाधानको विमर्शको थलो बन्यो । सम्मेलनमा प्रस्तुत गरिएका तथ्यांकअनुसार सगरमाथा क्षेत्रको औसत तापक्रम हरेक दशकमा लगभग तापक्रम बढ्दै गएको छ, जसको प्रत्यक्ष असर हिमनदी पग्लनु हो ।

राजकुमारी थानीको चेतावनी, अनुभव र भावनात्मक अपिलले सम्मेलनमा गहिरो प्रभाव पारेको थियो । उनको अन्तिम सन्देश थियो, ‘हिमाल हाम्रो शिर हो, हाम्रो आत्मा हो । यदि हिउँ हरायो भने हामीले पृथ्वीको भविष्य गुमाउँछौं । सगरमाथा बचाउनु हामी सबैको साझा उत्तरदायित्व हो ।’

सो सम्मेलनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको शुभकामना सन्देश पनि सार्वजनिक गरिएको थियो । प्रधानमन्त्री ओलीले सम्मेलनले सगरमाथा संवादको औपचारिक तयारीमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

साथसाथै फाउन्डेसनले तीनै तहको सरकारसँगको समन्वयमा मंगलबार थामेमा आयोजना गरेको आरोही सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि वातावरणीय संकट’bout जागरुकता फैलाउन आवश्यक रहेको उल्लेख गर्दै शुभकामना सन्देश पठाएका थिए । सो सम्मेलनलाई नेपाल सरकारले आगामी २ जेठबाट आयोजना हुने ‘सगरमाथा संवाद’ को पूर्वकार्यक्रमको रूपमा अपनत्व लिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 225 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण