काठमाडौं । राजसंस्था एवं हिन्दू राष्ट्र पुनःस्थापना तथा संघीयताको खारेजीसहितको माग गर्दै आन्दोलनरत राजावादी समूहले अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ । राजावादीको आन्दोलन कमजोर भएको टिप्पणी भइरहेकै बेला उनीहरू आन्दोलन चर्काउनेगरी अघि बढेका छन् ।
राजावादी समूहले गठन गरेको संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीले आगामी १५ जेठदेखि अनिश्चितकालीन आन्दोलनमा उत्रिने घोषणा गरेका हुन् । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सुवेदीले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता पूर्णरूपमा असफल भइसकेको दाबी गरे ।
‘संविधानद्वारा प्रदत्त अधिकारको प्रयोग गर्दै उपरोक्त उद्देश्य प्राप्तिका लागि सशक्त जनदबाब सिर्जना गर्न अगामी १५ जेठदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौं,’ सुवेदीले भने ।
सबै विचारधारा र शक्ति अटाउने संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, सर्वधर्म, समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्रको स्थापना तथा केन्द्रमा एउटा बलियो सरकार र स्थानीय तहमा शक्ति हस्तान्तरणको मान्यताअनुरूप अहिलेको भन्दा बढी अधिकारसम्पन्न स्थानीय सरकार स्थापना गरी दुई तहको सरकार बनाउनुपर्ने उनले बताए ।
‘हाम्रो घोषणा राजनीतिक दलहरूले चाहने हो भने उपरोक्त उद्देश्यहरू सहमति र समझदारीकै आधारमा वर्तमान संविधानकै परिधिबाट हासिल हुन्छ,’ उनले भने । आन्दोलन शान्तिपूर्ण हुने तथा भद्र अवज्ञा र सत्याग्रह आन्दोलनका स्वरूप हुने सुवेदीले बताए । उनले वर्तमान व्यवस्थाले आर्थिक, सामाजिक र सांस्कृतिक संकट, विवाद र द्वन्द्वको अवस्था सिर्जना गरेको दाबीसमेत गरेका छन् ।
नेपाल अहिले गम्भीर आर्थिक संकटको संघारमा आइपुगेको बताउँदै सुवेदीले भने, ‘२०७२ साल असोजमा जारी गरिएको संविधानले स्थापना गरेको संघीय, धर्मनिरपेक्ष गणतन्त्र पूर्ण रूपमा असफल प्रमाणित भएको छ ।’
पूर्वमन्त्री एवं तत्कालीन राष्ट्रिय पञ्चायतका पूर्वअध्ययसमेत रहेका सुवेदीले शान्तिपूर्ण आन्दोलनबाटै राजनीतिक दलहरूको सहमतिमा राजसंस्था पुनःस्थापना हुने बताए । संयुक्त जनआन्दोलन परिचालन समितिको नेतृत्वमा हुने सो आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल), नेपाली कांग्रेस बीपी, शिवसेना नेपाल, नेपाल प्रागिक मञ्चलगायतका राष्ट्रवादी दल र शक्तिको समर्थन रहेको बताइएको छ ।
जनताको प्रत्यक्ष अभिमतबिना नै बाह्य शक्तिको प्रभाव र उग्र वामपन्थी नेकपा (माओवादी)को दबाबमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता लादिएको उनले आरोप लगाए । लोकतन्त्रको आवरणमा दलका सीमित नेताले सिन्डिकेट खडा गरेर देशमा ब्रह्मलुट मच्चाइरहेको आरोपसमेत उनको छ ।
राज्यका सबै निकाय र संरचना पनि पार्टीकरण भएको र कानुनी राज्यको उपहास भइरहेको बताउँदै उनले जनताको मुक्तिका लागि लडेको भन्ने नेताहरू भ्रष्टाचारमा चुर्लुम्म डुबिसकेको दाबी गरे । उनले धर्मान्तरणको डढेलो देशको सबै भागमा डरलाग्दो तरिकाले फैलिरहेको बताए । ‘विद्यमान भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देश र जनतालाई मुक्त तुल्याउनु वर्तमान समयको मुख्य अभिभारा हो, जनताको अवस्था परिवर्तन गर्न व्यवस्था परिवर्तन अनिवार्य हुन गएको छ,’ उनले भने ।
राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजसंस्था र हिन्दू राष्ट्र फर्काउने आन्दोलन अन्त्य नहुन्जेलसम्म राजावादी समूह नफुट्ने दाबी गरेका छन् । ‘हामीले हाम्रो आन्दोलन भनौंला, यो सिंगो देशवासीको आन्दोलन हो, यो आन्दोलन निष्कर्षमा नपुगी हामी छुट्नेछैनौं,’ लिङ्देनले भने ।
उनले आफूहरूले घोषणा गरेको आन्दोलन कुनै पार्टी र समूहको नभई सिंगो देशको भएको जिकिर गरे । ‘यो आन्दोलन कुनै पार्टी र समूहका लागि होइन, कुनै व्यक्तिको राजनीतिक अभीष्ट पूरा गर्नका लागि होइन, यो देशको भविष्य बनाउनका लागि हो,’ लिङ्देनले भने । उनले गणतन्त्रवादीहरूलाई पनि आफूहरूको आन्दोलनमा सहभागी हुन अपिलसमेत गरेका छन् ।
‘यो ध्रुवीकरणलाई बलियो बनाएर लैजाने जिम्मेवारी हाम्रो काँधमा आएको छ, आजको दिनसम्म औपचारिक रूपमा राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा मत राख्दै हिँड्ने दल र अन्य सबैलाई पनि यस ध्रुवीकरणमा सामेल हुन आग्रह गर्न चाहन्छु,’ लिङ्देनले भने, ‘यस ध्रुवीकरणमा सामेल हुन अहिलेको कथित गणतन्त्रको पक्षमा रहेका, २०६२–०६३ को परिवर्तनलाई परिवर्तन मान्नेहरूलाई पनि आउन आग्रह गर्न चाहन्छु ।’
यसैबीच, काठमाडौं माइतीघरमा बिहीबार राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनासहितका माग गर्दै प्रदर्शन भएको छ । राष्ट्रवादी मातृशक्ति नेपालले स्वतन्त्रताको सुनिश्चतता, मानवअधिकारको प्रत्याभूति र आस्थाका बन्दीहरूको निःसर्त रिहाइसहितका मागसमेत गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनमा पूर्वसांसद गंगा चौधरीलगायतको सहभागिता रहेको थियो ।






