लिपुलेक अतिक्रमण विरुद्ध भक्तपुरमा जुलुस

भक्तपुर । भारतले नेपाली भूमि लिपुलेक–कालापानी–लिम्पियाधुरामा एक पक्षीय रुपमा बाटो बनाई मानसरोबर मार्ग खोलेको खोलेको विरुद्ध नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले भक्तपुरमा विरोध जुलुस तथा सभा गरेको छ ।

भारतले आफ्नो भुमी कब्जा गरी चीनको मानसरोवरसम्म जाने सडक खोलेको विरुद्धमा भक्तपुरमा लकडाउनका बाबजुत सयौंका संख्यामा निक्लेका युवा विद्यार्थीले विरोध जुलुस तथा सभा गरेका हुन् ।

भक्तपुरको कमलविनायकबाट सुरु भएको युवा–विद्यार्थीको उक्त जुलुस विभिन्न भारत विरोधी नारा लगाउँदै च्याम्हासिँह–सूर्यमढी–दतात्रय–सुकुलढोका–टौमढी हुँदै सूर्यविनायक चोक पुगेर समापन भएको थियो ।

जुलुसमा भारतीय विस्तारवाद लिपुलेक छोड् , कालापनजी हाम्रै (नेपालकै) हो, लिम्पियाधुरासम्म हाम्रै हो, भारतीय विस्तारवाद–मुर्दावाद, भारतीय सेना कालापानी छोड्, सीमा अतिक्रमण–बन्द गर, नेक्रायुसंघ–जिन्दावाद, नेक्राविसंघ–जिन्दावाद आदि नारा लगाइएको थियो ।

जुलुसपछिको सभामा नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष सविन ख्याजुले सबै प्रमाणहरूले लिपुलेक–कालापानी लिम्पियाधुरासम्मको क्षेत्र नेपालको हो भनी प्रष्ट हुँदाहुँदै भारतले कब्जा गरी राख्नु भारतको विस्तारवादी हेपाहा प्रवृत्ति भएको बताएका थिए । वि.सं २०१८ सालमा कालापनी क्षेत्रको सबै गाउँमा नेपालको जनगणना गराएका तत्कालीन जनगणना अधिकृत वरिष्ठ पत्रकार भैरव रिसाल अझै जीवित रहेको र कालापनी क्षेत्र नेपालको हो भनी बोलिरहेको अवस्थामा पनि नेपाल सरकारले देशको भूमि फिर्ता लिन साहस गर्न नसक्नु नालायकी र लाचारीपन भएको उनले बताएका थिए ।

भारतले अतिक्रमित सबै नेपाली भूमि नेपाललाई फिर्ता गर्नुपर्ने माग गर्दै अध्यक्ष ख्याजुले जबसम्म नेपाली भुमी फिर्ता हुँदैन तबसम्म युवा–विद्यार्थीको आन्दोलन चालु रहने समेत बताएका थिए ।

कार्यक्रममा नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला समितिका अध्यक्ष मिनबहादुर बाटाले नेपाललगायत सारा विश्व कोरोना भाइरस महामारीको चपेटामा परेको अवस्थामा भारतीय विस्तारवादले नेपाली भूमिमा सडक बनाएर आफ्नो मौकापरस्त अनुहार उदाङ्गो पारेका आरोप लगाएका थिए । नेपाली भूमि अतिक्रमण गरी ७८ कि.मि सडक बनाउँदा समेत नेपाल सरकार आफूलाई थाहा छैन भनी पञ्छनु गैरजिम्मेवारीको पराकाष्टा भएको उनको आरोप थियो ।

देशमा भएका अनुसन्धानका सयन्त्र सेना पुलिस एवं कुटनीतिज्ञहरु साथै उक्त स्थान हेर्ने जिम्मा पाएको जिल्ला प्रसाशनलगायत स्थानीय निकायले समेत नेपाली भुमिमा बाटो बनी सक्दासम्म केहि बास्ता नगर्नु लाज मर्नु भएको उनले बताएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 641 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु