मातृभूमिको आँगनमा ७ स्रष्टा सम्मानित हुँदै

मकवानपुर । मकवानपुरको जिल्लाको पुरानो तथा अग्रेणी सहित्यिक संस्था मातृभूमि साहित्य समाजले साहित्य सेवामा रहेका सात जान स्रष्टाहरुलाई सम्मान गर्ने भएको छ ।

समाजले आगामी १५ र १६ जेठमा आयोजना गर्ने मातृभूमि साहित्य महोत्सव २०८२ मा ७ वटा सम्मानबाट विभिन्न व्यक्ति सम्मानित हुने भएका हुन् । समाजले हेटौंडामा पत्रकार सम्मेलन गर्दै यस’bout जानकारी गराएको हो ।

मातृभूमि पत्रकारिता दीर्घ सेवा सम्मान, २०८२ बाट पत्रकार प्रताप विष्ट सम्मानित हुने भएका छन् । दीर्घ सेवा सम्मानको संस्थापक मातृभूमि साहित्य समाज रहेको छ । यसैगरी मायादेवी मातृभूमि पुरस्कार, २०८० बाट साहित्यकार गीता रेग्मी सम्मानित हुने भएका छन् । काठमाडौं निवासी साहित्यकार रेग्मीलाई रुकु कार्कीले स्थापना गरेको २१ हजार रुपैंया राशिको उक्त पुरस्कार प्रदान गरिने समाजका सचिव किशन पौडेलले जानकारी दिए ।

यसैगरी राजकुमार स्मृति मातृभूमि सम्मान, २०८० बाट कवि चन्द्र गुरुङ सम्मानित हुने छन् । सुनसरी धरानका कवि गुरुङलाई इन्द्र बहादुर बानिया“ले दाईको स्मृतिमा स्थापना गरेको १५ हजार रुपैंया राशिको उक्त सम्मान प्रदान गरिने पौडेलले बताए । क्षेत्रबहादुर स्मृति मातृभूमि सम्मान, २०८० बाट माधव काफ्ले सम्मानित हुने छन् । रौतहटका साहित्यकार काफ्लेलाई १५ हजार रुपैंया राशिको उक्त सम्मान प्रदान गरिने भएको हो । बानिया“ले नै हजुरबुबाको नाममा उक्त सम्मान स्थापन गरेको उनले बताए ।

यस्तै होमनाथ बलदेवी मातृभूमि छन्द साहित्य सम्मान, २०८१ बाट सुदेश सत्याल सम्मानित हुने भएका छन् । मातृभूमिका संरक्षक हयग्रीव आचार्यले स्थापना गरेको १५ हजार रुपैंया राशिको छन्द साहित्य सम्मान छन्द कवि सत्याललाई प्रादन गरिने छ । मञ्जु सुवेदी स्मृति मातृभूमि सम्मान, २०८१ रजनी ज्ञवालीलाई प्रदान गरिने भएको छ । नर्सिङ सेवाका ज्ञवालीलाई वनमाली सुवेदी तथा कृष्णप्रसाद दाहालले स्थापना गरेको १५ हजार रुपैंया राशिको उक्त सम्मानबाट सम्मानित गरिने भएको हो ।

झलकबहादुर बानियाँ स्मृति मातृभूमि जीवन संघर्ष प्रोत्साहन वृत्ति, २०८० हेटौंडा – १८ हर्नामाडी कमला आधारभूत विद्यालयका कक्षा ८ मा अध्ययनरत विद्यार्थीलाई प्रदान गरिने सचिव पौडेलले जानकारी दिए । मातृभूमिका पूर्व अध्यक्ष राजबाबु पहाडी बुबाको स्मृतिमा स्थापना गरेको उक्त प्रोत्साहन वृत्ती ७ हजार ५०० को रहेको छ ।

साहित्य महोत्सवमा परिचर्चा एवम् बहस कार्यक्रमका साथै सम्मानित हुने स्रष्टा र अन्य स्रष्टाका रचना वाचन समेत हुनेछ । हाम्रो नगर पर्या पर्यटन र संस्कृतिमा समृद्ध सहर, साहित्य, सिर्जना संवाद र सञ्चार, साझा सरोकार प्रतिलिपि अधिकार र कविता , जीवन र समाजमा परिचर्चा एवम् बहस कार्यक्रम हुने समाजका अध्यक्ष कृष्णप्रसाद दाहालले जानकारी दिए । हाम्रो नगर पर्या पर्यटन र संस्कृतिमा समृद्ध सहर परिचर्चा एवम् बहसमा हेटौंडाका नगर प्रमुख मिनाकुमारी लामा उपमहानगरपालिकाका उपनिर्देशक भीमप्रसाद तिमल्सिना र १० नम्बर वडाध्यक्ष फुर्वादोर्जे तमाङले सहभागिता जनाउने छन् ।

साहित्य, सिर्जना संवाद र सञ्चार परिचर्चा बहसमा पत्रकारद्वय प्रताप विष्ट र रामकुमार एलन तथा कवि शान्ति प्रिय बन्दनाले बहस गर्ने छन् । साझा सरोकार प्रतिलिपि अधिकारमाथि अधिवक्ताहरु मदन कुमार दाहाल, अप्सरा बस्नेत र विशभ अधिकारीले चर्चा र बहस गर्नेछन् । कविता ,जीवन र समाज परिचर्चा र बहस कार्यक्रम कविहरु निमेष निखिल, भूपिन खड्का, चन्द्र गुरुङ र सुदेश सत्यालको सहभागितामा हुनेछ ।

नेपाली भाषा, साहित्य र कलाको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले २०५६ सालमा विधिवत् रूपमा मातृभूमि साहित्य समाजको स्थापना भएको हो । समाजले विविध साहित्यिक कार्यक्रमहरूलाई निरन्तरता दिंदै स्थापित एवम् नव प्रतिभाहरू सम्मान गर्दै आएको समाजका अध्यक्ष कृष्णप्रसाद दाहालले बताए । समाजले विभिन्न विधामा सत्र वटा पुरस्कार एवम् सम्मान प्रादन गर्दै आएको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 97 times, 1 visits today)

epaper

ताजा समाचार

बागमतीका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने