राजविराज । पेटको जटिल शल्यक्रिया र उपचार गराउँदा लागेको खर्च तिर्न नसकेर ३ दिनदेखि अस्पतालमै वास बसिरहेका बिरामी बालक र उनका आफन्त शनिबार दाताहरुको सहयोगबाट घर फर्किएका छन् ।
उपचार खर्च तिर्न नसक्दा अस्पतालमै वास बस्न बाध्य सप्तरीको छिन्मस्ता गाउँपालिका ३ का मनोज मेहतर र डोमनीदेवी दम्पत्ति आफ्ना बिरामी परेका एक मात्र छोरा ७ वर्षिय विष्णुको दाताहरुको सहयोगबाट उपचार खर्च तिरी घर फर्कन सफल भएका हुन् ।
अति विपन्न परिवार मध्येका एक मेहतर दम्पत्तिको एक मात्र छोरा विष्णुको पेटमा जटिल प्रकृतीको रोग देखिएपछी १५ दिनअघि यहाँका चिकित्सकको सल्लाहमा बिराटनगर लगिएको थियो । बिराटनगरस्थित बिराट टिचिङ अस्पतालमा बालक विष्णुको पेटको शल्यक्रिया गरिएको थियो ।
आन्द्राभुँडीमा समस्या देखिएपछी अभिभावकको सहमति लिँदै चिकित्सकले उनको जटिल शल्यक्रिया सम्पन्न गरेको थियो । उपचारका क्रममा करिब २ लाख रुँपैयाको बिल अस्पताल प्रशासनले अभिभावकलाई बुझाएपछी मेहतर दमपत्ति तनावमा परे । गाउँ घरमा अर्काको घर खेतमा ज्यालादारी गर्ने मेहतर दाम्पति त्यत्रो ठूलो रकम तिर्ने अवस्थामा नरहेपछी अस्पताल प्रशासनले डिस्चार्ज गर्न मानेनन् ।
त्यसपछी मेहतर दम्पत्ति उपचार खर्च सहयोग जुटाउन भौतारिन थाले । यसैक्रममा समाजसेवा क्षेत्रमा लामो समयदेखी काम गर्दै आएका आफनै वडाका युवा इन्जिनियर राहुल कुमार शर्मासँग मनोजको भेट भयो । उनले सबै पीडा पोखेपछी ई. राहुलले व्यक्तिगत सहयोगमा मात्र गरेनन् । सामाजिक संजालमार्फत विपन्न परिवारका बालक विष्णुलाई जोगाउन अपील गर्दै सहयोग जुटाउने अभियान नै चलाए । फलस्वरुप सामाजिक संजालमार्फत गरिएको अपीलबाट प्राप्त सहयोग रकममा नपुग भएको १४–१५ हजार रुँपैया जति थपेर उनी अस्पताल प्रशासनलाई उपचार खर्च वापतको रकम बुझाएर बालकलाई आफ्नो घर पु¥याउन सफल भएका छन् ।
उनले आफ्नो क्षमताले भ्याएसम्म पहल गरि गरिब परिवारको पीडामा मलहम लगाउने प्रयास गरेको प्रतिक्रिया दिए । उनले चन्दा सहयोग संकलन गर्ने कार्यमा उक्त वडामा रहेको राष्ट्रिय प्राथमिक विद्यालय गोबिन्दरपुरका प्रधानाध्यापक बलदेव मुखियाको पनी निकै साथ र सहयोग रहेको बताए ।
समाजसेवा क्षेत्रमा क्रियाशिल ई. राहुलले यसअघि सोही वडाकी क्यान्सर पीडित फूलोदेवी मुखियाको पनी उपचार खर्चमा समस्या भएपछी केही व्यक्तिगत सहयोगका साथै अभियान मार्फत दुई लाख रुँपैया भन्दा बढी चन्दा संकलन गराएर उपचारमा सघाएका थिए । उनले सबैको सहयोगले गरिब, असहायको पीडमा मलहम लगाउने काम गरिरहेको र यसलाई भावी दिनमा पनी निरन्तरता दिने बताएका छन् । उनले विष्णुको शिक्षा दिक्षामा समेत आफूले क्षमताले भ्याएसम्म सहयोग गर्ने जनाएका छन् ।
यता बिराटनगरबाट उपचार गरी छोरा विष्णुलाई लिएर घर फर्केका मनोजले इ. राहुलका साथै अन्य सबै दाताहरुको सहयोगमा आफ्नो एक मात्र छोराले नयाँ जिवन पाएको बताए । दैनिक ज्याला मजदुरी गरि परिवार पाल्दै आएका आफूहरु दुबै जना छोराको उपचारमा लामो समयसम्म बिराटनगरमा बस्दा आम्दानीको श्रोत टुटेको र अहिले हातमुख जोर्ने समस्या समेत थपिएको मेहतर दम्पत्तिले सुनाएका छन् ।






