काठमाडौं । संखुवासभाको चैनपुर नगरपालिका–६ दुईबरे जिरो प्वाइन्टमा सशस्त्र प्रहरी बलका संस्थापक महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठ र उनकी धर्मपत्नी स्व. नुडुप श्रेष्ठको सालिक अनावरण गरिएको छ । नुडुप फाउन्डेसन र चैनपुर नगरपालिकाद्वारा संयुक्त रूपमा निर्मित सालिकको मंगलबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अनावरण गरेका हुन् ।
स्व. श्रेष्ठको सम्मानमा सशस्त्र प्रहरी बल प्रधान कार्यालयस्थित एपीएफ क्लब हललाई समेत कृष्णमोहन स्मृति भवन नामकरण गरिएको छ । ३ फागुन २००३ मा संखुवासभा जिल्लामा जन्मेका स्व. श्रेष्ठ १९ माघ २०५७ मा सशस्त्र प्रहरी महानिरीक्षक पदमा नियुक्त भएका थिए । उनी २०२७ असारमा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।
प्रहरी सेवामा प्रवेश गरेको ३० वर्षपछि उनी सशस्त्र प्रहरीको महानिरीक्षक बनेका थिए । उनलाई प्रहरी संगठनभित्र अत्यन्तै सालिन, भद्र, मृदुभाषी, सक्षम र योग्य व्यक्तिका रूपमा चिनिन्थ्यिो । हत्या भएको स्थानमा हाल कृष्णमोहन–नुडुप स्मृति उद्यान निर्माण भएको छ । श्रेष्ठ दम्पतीका तीन छोरी नमिता, कृपा र कीर्ति छन् ।
माओवादी द्वन्द्व चर्क ंदै गएको अवस्थामा तत्कालीन दरबारले सेना परिचालनमा सहयोग नगरेपछि सेना र नेपाल प्रहरीबाट केही जनशक्ति ल्याएर २०५७ सालमा तत्कालीन सरकारले सशस्त्र प्रहरी बल गठन गरेको थियो । श्रेष्ठलाई तत्कालीन राजा ज्ञानेन्द्रबाट ३० जेठ २०६० मा मरणोपरान्त सुप्रसिद्ध प्रबल गोरखा दक्षिण बाहु पहिलो प्रदान गरिएको थियो ।
यसैगरी, श्रेष्ठकी पत्नी नुडुप श्रेष्ठलाई मरणोपरान्त सुप्रबल गोरखा दक्षिण बाहु दोस्रो प्रदान गरिएको थियो । तत्कालीन माओवादी विद्रोहीले १२ माघ २०५९ मा ललितपुरको बागडोलमा मर्निङ वाकका क्रममा उनी र उनकी धर्मपत्नी नुडुप श्रेष्ठ एवं अंगरक्षक सशस्त्र प्रहरी नायब निरीक्षक सूर्य रेग्मीको गोली हानी हत्या गरेको थियो ।
सशस्त्र प्रहरी बल नेपालका संस्थापक महानिरीक्षक स्व. श्रेष्ठको स्मृतिमा १२ माघमा कृष्णमोहन–नुडुप स्मृ ति प्रतिष्ठानले हरेक वर्ष श्रद्धाञ्जली समारोहको आयोजना गर्दै आएको छ । सो अवसरमा कृष्णमोहन नुडुप कार्यदक्षता पुरस्कार, सूर्य रेग्मी अंगरक्षक पुरस्कार तथा कृष्णमोहन नुडुप छात्रवृत्ति प्रदान गर्ने गरिएको छ ।
कार्यक्रममा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक कुवेरसिंह राना, अवकाशप्राप्त सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल, अवकाशप्राप्त सशस्त्र प्रहरी अधिकृतहरू, चैनपुर नगरपालिकाका प्रमुख कृष्णकुमार तामाङ, उपप्रमुख एलिना श्रेष्ठ, जिल्ला न्यायाधीश ध्रुवराज त्रिपाठी, प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेल, नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपाने, कृष्णमोहन नुडुप फाउन्डेसनका पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीयवासी एवं नं. ४ अरुण गुल्म संखुवासभामा कार्यरत सशस्त्र प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो ।






