काठमाडौं । राजसंस्था, हिन्दूराष्ट्र पुनःस्थापनासहितका माग राख्दै आन्दोलनरत राजावादी समूहमाथि प्रहरीले लाठीचार्ज गरेको छ । आइतबार आन्दोलनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि लाठीजार्चसहित प्रहरीले केहीलाई पक्राउसमेत गरेको छ । सोक्रममा आन्दोलनकारी र प्रहरीबीच झडपसमेत भएको छ ।
नक्साल र बालुवाटार क्षेत्रमा भएको प्रदर्शनमा सहभागी आन्दोलनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग दोहोरो झडप भएको हो । केही प्रदर्शनकारीले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रहरीले लाठीचार्ज गरेको बताइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापासहितका नेतालाई प्रहरीले पक्राउ गरेको छ । नक्साल, नारायणचौरबाट बालुवाटारतर्फ जान खोज्दा उनीहरू पक्राउ परेका हुन् । प्रहरीले आन्दोलनकारीले निषेधित क्षेत्र तोड्ने खोजेकाले पक्राउ गरिएको जनाएको छ ।
पक्राउ पर्नेमा थापासहित शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली, सरोज तिमिल्सिनासहितका रहेका छन् । उनीहरूलाई काठमाडौं जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएको छ ।
थापासहितका आन्दोलनकारीले निषेधित क्षेत्र तोकिएको प्रधानमन्त्री निवास बालुवाटारतर्फ अघि बढ्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले जनाएका छन् ।
गत १५ जेठमा गणतन्त्रवादीले गणतन्त्र दिवस मनाउदैगर्दा राजावादी राजसंस्थाको मागसहित आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले त्यसअघि समेत प्रदर्शन गर्दै आएका छन् । १५ जेठयता राजावादीले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।
थापा पक्राउ परेलगतै आन्दोलनमा सहभागीले धर्नासमेत दिए । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार थापासहित आइतबार पक्राउ परेका सबैलाई चाँडोभन्दा चाँडो रिहाइ गर्न माग गर्दै धर्ना सुरु गरिएको हो । ‘हामीले धर्ना सुरु गरेका छौं, तत्काल रिहा नहुने हो भने हामी आन्दोलन थप चर्को बनाउँछौं,’ उनले भने ।
यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता एवं सांसद दीपक सिंहसमेत प्रहरी परिसरबाटै पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी बोहराले उनी पक्राउ परेको बताए । उनले आन्दोलनकै क्रममा सिंहमाथि प्रहरीले निगरानी गरिराखेको र प्रहरी परिसर आएका बेला उनलाई पक्राउ गरिएको जानकारी दिए ।
राप्रपा महामन्त्री शरदराज पाठकले भने राप्रपा नेपालका अध्यक्ष थापालाई भेट्न प्रहरी परिसर पुगेका सांसद सिंहलाई बिनाकारण पक्राउ गरेर थुनामा राखिएको दाबी गरेका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरूको शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठान्न सरकारलाई चेतावनी दिएका छन् । काठमाडौंमा प्रदर्शनकारीलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशले थप द्वन्द्व थेग्न नसक्ने भएकाले विद्रोहको बाटो नअपनाइएको स्पष्ट पार्दै आफूहरूको भद्रतालाई कमजोरी नठान्न चेतावनी दिएका हुन् ।
‘देशले थप द्वन्द्व थेग्न सक्दैन भनेर हामीले विद्रोहको बाटो नरोजेको हो, हामीले शान्तिपूर्ण प्रदर्शन गरेको हो, एक जना प्रहरी मर्नु नपरोस्, एक जना पनि नागरिक मर्नु नपरोस् भनेर हामीले शान्तिपूर्ण बाटो अपनाएको हो, यसलाई कमजोरी नठानियोस्,’ अध्यक्ष लिङ्देनले भने । उनले राप्रपा, नेपालका अध्यक्ष थापासहितका नेतालाई ससम्मान नियन्त्रणमुक्त गर्नसमेत माग गरेका छन् ।
राजावादीहरूले भाडामा ल्याएका केही मान्छे छाडा भए : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूले भाडामा ल्याएका केही मान्छे छाडा भएको टिप्पणी गरेका छन् । आइतबार पार्टीको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले राजावादीहरू आइलागेको खण्डमा जाइलागेर इँटको जवाफ पत्थरले दिन निर्देशन दिए ।
‘अहिले राजावादीहरूले कता–कताबाट पैसा ल्याएका छन्, पैसा त उनीहरूले थुपारेकै होलान्, त्यही पैसाका बलमा भाडाका मान्छे ल्याउने, छाडा बनाउने, जाँड खुवाउने, उफार्ने गरेको मैले देखिराखेको छु, तपाईंहरूले पनि देखिराख्नुभएको छ, म के भन्न चाहन्छु भने हामीहरू जाइलाग्ने चाहिँ होइन, उनीहरूको सभामा, उनीहरूको आन्दोलनमा हामीले गएर आक्रमण गर्ने मैले भन्न खोजेको छैन तर उनीहरू छाडा भएका छन्,’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘छाडा भएर हामीमाथि आक्रमण गर्ने कोसिस गर्दै छन्, यदि उनीहरू आइलाग्छन् भने इँटको जवाफ पत्थरले दिने तयारी गर्नूस्, गर्नैपर्छ ।’
उनले नेपालमा लामो समय शासन गर्ने राजाहरूका नकारात्मक पाटो नयाँ पुस्ताले थाहा पाउनुपर्ने समेत बताए । प्रचण्डले राजाहरू नै बलात्कारी र हत्यारा भएको गम्भीर आरोपसमेत लगाए ।
उनले नारायणहिटी दरबार हत्याकाण्ड के हो भन्ने कुरा सबैलाई स्पष्ट रहेको समेत बताए । नमिता, सुनिताको बलात्कार गरेर हत्या गर्ने राजा र राजाका भाइहरू नै भएको आरोप उनको छ । राजाहरूले नै मूर्ति चोरेर विदेशमा पु¥याउने गरेको आरोप लगाउँदै तस्करीका नाइके पनि तत्कालीन राजाहरू नै भएको उनले बताए ।






