दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा सञ्चालित एसटीएफ तालिमको समापन

 राजविराज । आतंकवादलगायतका विषम् परिस्थितिमा परिचालित भई विशेष कारबाहीहरू सञ्चालन गर्न सक्ने जनशक्ति उत्पादन गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय, बरमझिया, सप्तरीमा सञ्चालित ‘स्पेसल टास्क फोर्स’ तालिमको बुधबार समापन भएको छ ।

सशस्त्र प्रहरी बल, नेपालले ऐनले दिएको जिम्मेवारीअन्तर्गत आतंकवादी गतिविधि, विभिन्न सशस्त्र संघर्ष एवं पृथकतावादी गतिविधि नियन्त्रण गर्न विशेष तालिम प्राप्त जनशक्ति तयार गर्ने उद्देश्यले विगत लामो समयदेखि उक्त तालिम सञ्चालन गर्दै आइरहेकोमा पहिलो पल्ट सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालयमा यो तालिम सम्पन्न भएको हो । ‘होस्टेज रेस्क्यु अपरेसन’ देखि परेको बखत विपद् उद्धारमा समेत परिचालित हुन सक्ने यो तालिममा स्पेसल पुलिस ट्याक्टिस, एक्सप्लोसिभ ह्यान्डलिङ, माउन्टेन वारफेयर, भीआईपी सेक्युरिटी, वाटर रेस्क्यु, मेडिकल फस्ट रेस्पोन्डरलगायतका विषयवस्तुहरूको प्रशिक्षण गरिएको थियो । 

सशस्त्र प्रहरी बल, नेपालको मानवश्रोत विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालको प्रमुख आतिथ्यमा सम्पन्न अन्तिम प्रवचन कार्यक्रममा तालिमको महत्व’bout प्रकाश पार्दै उनले राष्ट्रिय हितविपरीतका आतंकवाद, व्यक्ति अपहरण, आपराधिक तथा हिंसात्मक गतिविधि एवं विपद्को अवस्थामा चुनौती सामना गर्न सक्ने जनशक्ति तयार गर्न यो तालिम प्रदान गरिएको बताए । 

यसैगरी, सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सीमा सुरक्षा, दंगा नियन्त्रण, विपद् व्यवस्थापनलगायत विशेष परिस्थितिहरूमा परिचालन भई प्रभावकारी योगदान दिँदै आइरहेको सशस्त्र प्रहरी बल, नेपालले गम्भीर प्रकृतिको अपहरणमा अपहरित व्यक्तिहरूको उद्धार तथा सुरक्षा र विश्वकै क्यान्सरको रूपमा रहेको आतंकवादविरुद्धको कारबाहीमा परिचालन हुन, चुस्त दुरुस्त र सक्रिय प्रतिरोधक शक्ति भएको फौज तयार गर्न तालिम सञ्चालन भएको थाहा पाउँदा निकै खुसी लागेको बताए ।

कार्यक्रममा उपस्थित प्रमुख अतिथिलगायत सम्पूर्ण अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नेत्रबहादुर कार्कीले भैपरी आउन सक्ने विषम सुरक्षा चुनौतीको सामना गर्न ‘काउन्टर टेरोरिज्म’ क्षमता भएको विभिन्न चुनौती सामना गर्न सक्ने विशेष दक्षतायुक्त समयसापेक्ष जनशक्ति तयार गर्न यो तालिम सञ्चालन गरिएको बताए ।

 विशिष्ट व्यक्ति सुरक्षा, होस्टेज रेस्क्युलगायत प्रदर्शन गरिएको कार्यक्रममा विभिन्न स्थानीय निकायका प्रमुखहरू, सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी बल, नेपाल नं. १ र २ बाहिनीका बाहिनीपतिहरु एवं सप्तरी जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 3,120 times, 1 visits today)

epaper

ताजा समाचार

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ