काठमाडौं । गठबन्धन घटक नेपाली कांग्रेसले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा भूमि मन्त्री बलराम अधिकारीमाथि छानबिन गर्न माग गरेको छ । मन्त्री अधिकारीको ३२ लाख घुस लिएको दाबीसहितको अडिओ सार्वजनिक भएपछि कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले दोषी भए कारबाही गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘त्यसमा पनि सम्बन्धित निकायले छानबिन गर्नुपर्छ । प्रहरीले गर्ने हो कि अख्तियारले गर्ने हो, छानबिन गर्नुपर्छ र यसको टुंगो लगाउनुपर्छ ।’
उनले संलग्न जोसुकै भए पनि कारबाही हुनुपर्ने बताउँदै उनले भने, ‘जो दोषी छन्, उनीहरूलाई कारबाही गर्नुपर्छ, अहिले अडिओ सार्वजनिक भएको छ, त्यसमा सम्बन्धित निकायले छानबिन गर्नुपर्छ । जो दोषी देखिन्छन्, कारबाहीमा आउनुपर्छ ।’
कानूनी र विधिको शासनमा बदमासी गर्ने जोसुकै कानुनी कारबाहीबाट बाहिर जान नसक्ने उनको भनाइ छ । यसअघि प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको पनि घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि राजीनामा दिएका थिए । अडिओ प्रकरणमा मुछिएका गुप्ता र अधिकारी दुवै एमालेका हुन् ।






