मदिराको खाली बोत्तल ‘रि–युज’को लहरो पहरोसम्म..

वीरगन्ज । मदिरा (एल्कोहल) सेवन गर्ने मानिस ‘मदहोस्’ हुन्छ, यो खासै अनौठो होइन । तर एल्कोहल प्याकिङ्ग गर्ने खाली बोत्तल सयौं पटक ‘इम्बोस्’ गरेर पनि पुनः प्रयोग गर्दा ‘चूँ’ नबोल्ने मुलुकको नीति निर्माण तह र राजश्व विभाग, मातहतका सबै निकाय मदहोस् भेटिदा चाही अनौठो पाइएको छ ।

‘मदिरा, बियर, वाईन र साइडर उत्पादन गर्ने प्रतिष्ठानले आफ्नो नाम भएका वा केही नलेखिएको नयाँ बोत्तल वा सिसीको प्रयोग गर्नुपर्छ । अन्य प्रष्ठिानको नाम भएको, बिशेष चिन्ह (लोगो) समेत अंकित भएको इम्बोस् गरिएको बोत्तल वा सिसी प्रयोग गर्न पाइने छैन’ भनी अन्तशुल्क निर्देशिका २०६८ परिमार्जित संस्करण २०८१ ले प्रष्टै बोलेको छ ।

तर नेपालका मदिरा उत्पादक कम्पनी ब्रुअरी र डिष्टिलरीहरुले मदिरा (रक्सी) र बियर प्याकिङ्ग गर्ने बोत्तल सयौं पटक ‘रि–युज’ गरेको भेटिएको छ । बर्षमा एउटै कम्पनीले करोडौं बोत्तल मदिरा तथा बियर उत्पादन गरेका तथ्य आन्तरिक राजश्व कार्यालयबाट लिएका स्टिकरको संख्याले पुष्टि गर्छ । तर उनीहरुले प्याकिङ्ग गर्ने नयाँ बोत्तलको आयात हेर्ने हो भने १० प्रतिशतको हाराहारीमा पनि भन्सारको तथ्याँकमा उल्लेख भएको नपाइएको हो ।

गएको वर्ष २०८१–०८२ मा पनि मुलुककै प्रमुख भन्सार नाकाबाट मदिरा र बियर उत्पादक कम्पनीहरुले जम्मा ३६ लाख १६ हजार २ सय ९६ थान मात्र नयाँ बोत्तल आयात गरेको तथ्याँक छ । यो मुलुककै प्रमुख भन्सार नाका वीरगन्ज भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानेले उपलब्ध गराएको तथ्याँक हो । यो तथ्याँकमा १ सय ८० एमएल, ३ सय ३० एमएल, ३ सय ७५ एमएल, ६ सय ५० एमएल, ७ सय ५० एमएल र अल साइज भनी उल्लेख गरिएको छ ।

यता आन्तरिक राजश्व कार्यालय वीरगन्जबाट मात्र समिक्षा अवधिमा दुईवटा कम्पनीले खरिद गरेको स्टिकर ६ लाख ५९ हजार १ सय ३१ केश रहेको पाइएको छ । यो भनेको ३ अर्ब ५४ करोड १ लाख ५२ हजार ६ सय ७४ रुपैया बराबरको स्टिकर भएको आन्तरिक राजश्व कार्यालयले जनाएको हो । संख्यात्मक हिसाबले हेर्ने हो भने पनि यो लाखौं बोत्तलका लागि पुग्ने दावी गरिएको छ । जब लाखौं बोत्तल उत्पादन हुन्छ भने खाद्य सुरक्षाको दृष्टिकोणले सबै नयाँ बोत्तल नै प्रयोग हुनु पर्ने नियम छ ।

तर पर्सामा रहेको राजश्व कार्यालय मातहत हिमालयन डिष्टिलरी र एशिएन डिष्टिलरी गरी दुईवटा मात्र कम्पनीमा जाने स्टिकरको परिणाम यत्रो छ भने मुलुकभरका ब्रुअरी र डिष्टिलरीको उत्पादनका लागि चाहिने बोत्तलको संख्या पनि करोडौंको हुन्छ । तर उपभोक्ताको हित प्रतिकुल एउटै बोत्तल रि–युज हुने शैलीले भने भन्सारमा आउने राजश्व र आन्तरिक राजश्वमा जम्मा हुने करमा पनि धोका भएको मदिरा व्यवसायीहरुकै तर्क छ ।

उपभोक्ताको हितमा धज्जी
खाद्य स्वच्छता तथा गुणस्तर ऐनको यो शैलीले धज्जी उडाएको राष्ट्रिय उपभोक्ता मञ्च नेपालका केन्द्रिय अध्यक्ष प्रेम बाबु महर्जनले बताए । उपभोक्ताको हित विपरित एकपटक प्रयोग भएको बोत्तल रि–युज गर्न नपाइने ऐनमा उल्लेख छ उनले भने । उत्पादनको रेभेनु (राजश्व) पाइएकै छ भनी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्न राज्यका नियमनकारी निकायहरुलाई छुट नहुने उनले तर्क गरे ।

मदिरा उत्पादक कम्पनीहरुको अवैध अर्थको चक्करमा नेपालका राजश्व संयन्त्रका भोगीहरु लठ्ठ रहेको अरु उपभोक्ता हितमा काम गर्नेहरुले पनि दावी गरे । एउटा कम्पनीले अर्को कम्पनीको बोत्तल समेत इम्बोस् गरेर प्रयोग गरेको बजारमा छ्याप्छ्याप्ती भेटिन्छ । तर मदिरा र बियर कम्पनीको अवैध लाभले मदहोस् नियमनकारी निकायका प्रमुखहरु चूँ बोलेको पाइदैन उनीहरुले थपे । अझ ‘पिसाबको न्यानो’ भने झैं नयाँ बोत्तल खरिद गर्दा २२ रुपैयादेखि ३५ रुपैया प्रतिबोत्तलको पैसा बाहिरिएको त छैन भनी गैर जिम्मेवार जवाफमा भाले पल्टिएका छन् उपभोक्ता हितका लागि काम गर्ने प्रतिनिधिहरुले तर्क गरे ।

आन्तरिक राजश्व विभागका निर्देशक राजकुमार खतिवडाले पनि खाली बोत्तल पुनः प्रयोग गर्दा नयाँ बोत्तल खरिद गर्दा बाहिरिने रकम मुलुकमै रहेको दावी गरेका छन् । कवाडवालाहरुले जम्मा पारेका खाली बोत्तल मदिरा उत्पादक कम्पनीहरुले साढे ४ रुपैयादेखि साढे ८ रुपैयासम्ममा पाउने गरेको प्रमाण फेला परेको छ । तर उपभोक्तासँग भने नयाँ बोत्तलमै प्याक गरे बराबरको रेटमा बियर र मदिरा बिक्री भइरहेको तीन दशकभन्दा बढि भयो । यता तर्फ तैं चुप मै चुप राज्यका नियमनकारी निकायहरु छन् ।

सवारीमा प्रयोग हुने पेट्रोलियम पदार्थमा १ रुपैया बढ्दा हँगामा हुने देशमा मदिराको पुरानो बोत्तल प्रयोग गरी मदिरा उत्पादक कम्पनीहरुले हरेक बोत्तलमा २७ रुपैया अतिरिक्त बढि मूल्य लिदा पनि मदिरापारखीहरु भने मदहोस् हुँदै आएको पाइएको छ ।

रि–युजका बोत्तल प्रयोगकर्ता कम्पनी
पुराना बोत्तल सप्लायर्स गर्ने सबै भारतीय व्यवसायी भएको भुक्तभोगीहरुले खुलासा गरे । नेपालमा सबैभन्दा धेरै पुराना बोत्तल प्रयोग गर्नेहरुमा गोर्खा बु्रअरी, सिजी बु्रअरी, टाइगर, यति, याक, याक र ओम ब्रुअरी लगायत रहेको जनाइएको छ । त्यसैगरी डिष्टिलरीहरुमा पनि हिमालयन डिष्टिलरी, यति डिष्टिलरी, अभिनाश, यति, त्रियुगा, एशियन लगायत १२ दर्जन बढि डिष्टिलरी रहेको खुलेको पनि जनाइएको छ ।

सप्लायर्स सबै भारतीय
उक्त ब्रुअरी र डिष्टिलरीलाई नेपालमा नै प्रयोग भइसकेका बोत्तल जम्मा पारी पुनः प्रयोग गर्न दिने कम्पनीहरुमा शिवम् ट्रेडर्स, शिवशक्ति बोत्तल सप्लायर्स, पशुपति ट्रेडर्स, श्रीराम ट्रेडर्स र सीपी ट्रेडर्सलगायत रहेको खुलेको छ । यी सप्लार्यस कम्पनीहरुका संचालन सबै भारतीय नागरिक रहेको दावी गरिएको छ ।

यति हुँदा पनि नीति, नियम, निर्देशिका, ऐन र कानून निर्माणकर्ताहरुले नेपाली उपभोक्ताको हितमा कदम नचाल्नु सद्धे मानसिकता नभएको जानकारहरुको आरोप छ । बियर र मदिरा उत्पादक बु्रअरी र डिष्टिलरी उद्योगहरुको हकमा प्रयोग हुने खाली बोत्तल भित्र लतपतिएका राजश्वका कर्मचारीले यहि नीति, निर्देशिका, ऐन र कानूनको छिद्रमा टेकेर उम्किरहेको पनि आरोप छ ।

मदिराका बोत्तलको लगत, राजश्वको लगत र स्टिकर प्रयोगको लगत प्राप्तिमा उनीहरुले खेलेको आलटाले खेलले पनि उनीहरुमा कैफियत नभएको भन्न सकिन्न । आन्तरिक राजश्व कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत केही कमजोरी रहे पनि बोत्तल रि–युज गर्नेहरुको हकमा कार्वाही गर्ने ऐनको अभाव रहेको दावी गर्छन् । अलि अगाडी भने उनी कार्वाही हुनसक्ने दावी गर्दै आएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 683 times, 1 visits today)

epaper

ताजा समाचार

गगनलाई २ नेताको टक्कर, विश्वप्रकाश र पुष्पा निर्विरोध