‘जेरी अन टप’को टिजरमा सगरमाथा आरोहण कथा

काठमाडौं । विश्वका अग्ला मध्य बहुसंख्यक हिमालहरू नेपालमै छन् । तर पनि हिमाल आरोहणको कथामा नेपाली चलचित्र त्यत्ति धेरै निर्माण भएका छैनन् । हलिउड र बलिउडले हिमाल आरोहण सम्बन्धी चलचित्र बनाइरहेको बेला सगरमाथा आरोहणको कथामा यति बेला नेपाली चलचित्र ‘जेरी अन टप’ निर्माण गरिएको छ ।

एक दशक अघि निर्माण भएको अनमोल केसीको चलचित्र ‘जेरी’को सिक्वेलको रूपमा ‘जेरी अन टप’ निर्माण गरिएको हो । जसमा सगरमाथा आरोहणको आरोह अवरोहसँग प्रेम कथालाई मुख्य विषय बनाइएको छ ।

यो चलचित्र तिहारको अवसर पारेर आगामी ३१ असोजमा नेपालमा रिलिज हुँदै छ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा सोमबार बेलुका यो चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।

नेपाली चलचित्रको टिजरले पछिल्लो समय युट्युबमा राम्रो भ्युज नपाएको बेला चलचित्र ‘जेरी अन टप’को टिजर रिलिज भएको २० घण्टामै पाँच लाख पटक युट्युबमा हेरिएको छ । अनमोलको सगरमाथा आरोहण यात्रालाई दर्शकले टिजरमा खुलेर प्रशंसा गरेका छन् ।

यो चलचित्रमा अनमोल केसीसँगै आँचल शर्मा, जसीता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’, भुवन केसी, उषा खड्गीलगायतको शीर्ष भूमिका छ । ‘जेरी अन टप’ लाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । चलचित्रको छायांकन हिमालमा गरिएका कारण पनि यसको छायांकन तीन महिना भन्दा बढी लागेको निर्माण पक्षको कथन छ ।

सोमबार बेलुका सार्वजनिक गरिएको यो चलचित्रको १ मिनेट ५२ सेकेन्ड लामो टिजरले विश्वकै सर्वोच्च शिखर सगरमाथासँगको सम्बन्धलाई प्रस्तुत गरेको छ । सगरमाथा आरोहणको क्रममा अभिनेता अभिनेत्रीको प्रेम सम्बन्ध र आरोहणको क्रममा भएको दुर्घटनाले ल्याएको विविध घटना चलचित्रमा रहेको टिजरले संकेत गरेको छ ।

यो चलचित्रको कथा हेमराज बिसीको हो । यसलाई हेमराजले निर्देशन गर्ने चर्चा थियो । तर उनी अमेरिकामा रहेका कारण यसको निर्देशन सुयोगले गरेका हुन् । यस अघि ‘जेरी’को निर्देशन हेमराजले गरेका थिए । हङकङको एलजी एसोसिएट्सले यो चलचित्रको (अस्ट्रेलियाबाहेक) अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको छ । नेपालमा रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले यो चलचित्रको वितरण अधिकार लिएका छन् ।

‘जेरी अन टप’मा कालीप्रसाद बाँसकोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत, विश्वास तिम्सिनाको पटकथा, दुलिप रेग्मीको छायांकन रहेको छ ।

सरोज न्यौपानेको प्रस्तुतिमा तयार चलचित्र ‘जेरी अन टप’को निर्मातामा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ, दीपक भण्डारी छन् । चलचित्रको कार्यकारी निर्माता अनुराधा गिरी र ईश्वर श्रेष्ठ तथा सह निर्माता नवीन घिमिरे, विवेक थापा र भविष्य खड्का हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

epaper

ताजा समाचार

आजका लागि अमेरिकी डलरको विनिमय दर : न बढ्यो, न घट्यो