काठमाडौं । ६ दशक अघि निर्माण भएको चलचित्र ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर…’ अहिलेसम्म पनि त्यत्तिकै बज्ने गर्दछ । यति बेला निर्माण भएको नयाँ चलचित्र ‘माइतीघर’मा पनि यो गीतलाई रिमेक गरेर राखिएको छ ।
नयाँ चलचित्र ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर…’को भिडियो बिहीबार सार्वजनिक गरिएको छ । ओएसआर डिजिटल युट्युब च्यानलबाट यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।
किरण खरेलको शब्द, जयदेवको संगीत रहेको यो गीतको रिमेक भर्सनमा सञ्जीवनीको स्वर छ । यो गीतको पहिलो रेकर्डमा गायिका आशा भोस्लेको स्वर समावेश थियो । निर्माता रोहित अधिकारी र उनको टिमले यो गीतलाई पुनः बजारमा ल्याएको हो ।
गीतको भिडियोमा नायिकाद्धय उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेका छन् । मानकृष्ण महर्जन र सुशन प्रजापतिको छायांकन रहेको यो चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन छ । कविराज गहतराजले यो गीतको भिडियोको कोरियोग्राफी गरेका हुन् ।
नयाँ ‘माइतीघर’लाई रोहित अधिकारी फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण गरिएको हो । आगामी १३ असोज दसैँको फूलपातीबाट यो चलचित्र रिलिजमा आउँदै छ ।
मिलन तामाङको निर्देशनमा तयार भएको यो चलचित्रमा रबिन शेरचन र धिरज तामाङको लगानी छ । चलचित्रका कलाकारमा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजन, संगीता थापा लगायत छन् ।






