रुरुमा बन्यो नेपालकै दोस्रो लामो पुल

गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा नेपालकै दोस्रो लामो पुल बनेको छ । रुरुक्षेत्र गाउँपालिकाको वडा नम्बर १ फलाँटे र वडा नम्बर ३ भड्कुवा जोड्नको लागि पुल निर्माण गरिएको हो । विशेषगरी दुई गाउँ जोड्ने पुल निर्माण गरिएकोमा उक्त पुल सिङगल स्पामतर्फ नेपालकै दोस्रो लामो पुल बनेको हो । पुलको लम्बाई पाँच सय २५ मिटर एक सेन्टिमिटर रहेको छ ।

भड्कुवाबासीको फेरियो दैनिकी

रुरुक्षेत्र गाउँपालिका–३ भड्कुवाकी सावित्रा थापालाई पालिका केन्द्र बलेटक्सार घ्युबेसी वा अन्य कामको लागि बजार जान बिहान १० बजेभित्रै तयारी हुनुपथ्र्यो । कारण हो गाडी नपाइनु । मुख्य राजमार्गभन्दा गाउँ धेरै टाढा भएकोले गाउँमा कम मात्रामा गाडी चल्छन् । तर अहिले भड्कुवा र फलाँटे जोड्ने पुल बनेपछि थापा १० मिनेटमै मुख्य राजमार्ग पुग्छिन् । जसले गर्दा उनको दैनिकी फेरिएको छ । ‘पुलले सडकसँग गाउँ जोडिएको छ ।’ उनले भनिन्, ‘अहिले भड्कुवाबासीलाई निकै सहज भएको छ ।’

भड्कुवाकै अर्की स्थानीय चम्फा थापाले पुल बनेपछि विद्यार्थीहरुलाई विद्यालय जान सहज भएको बताइन् । भड्कुवाका विद्यार्थीहरु रिडी माध्यमिक विद्यालयमा अध्ययन गर्छन । विद्यालयको आफ्नै गाडी भएपनि कच्ची बाटोको कारण नियमित पुग्न सम्भव थिएन । तर पुल बनेसँगै विद्यार्थी लिन गाडी भड्कुवा पुग्छ । फलाँटेका विद्यार्थीहरु पुल तरेर भड्कुवा आएपछि गाडी र विद्यार्थी दुवैलाई सहज भएको थापाको भनाई छ । अब विद्यालय जाने सबै विद्यार्थीलाई नियमित यातायातको सुविधा भएको उनले बताइन् ।

स्थानीय मीना भट्राइले पुलले करिब डेढ घण्टाको बाटो १० मिनेटमा सिमित गराइदिएको भन्दै खुसि व्यक्त गरिन् । ‘पालिका केन्द्र जानुपरे रिडी पुगेर जानुपथ्र्यो, तर अहिले भड्कुवाबाटै गाडी चढ्न सकिन्छ ।’ उनले भनिन्, ‘पुलले यात्रामा समय र पैसा दुवैको बचत गरेको छ ।’ त्यसैगरी कमला भट्राईले पुले गर्दा पालिका केन्द्र घ्युबेसी, तम्घास, रिडी, पाल्पा, बुटबल लगायतका ठाउँमा जान सहज भएको प्रतिक्रिया दिइन् । पहिले मुख्य राजमार्गबाट धेरै विकटमा भएपनि अहिले पुलले सुगम बनाइदिएको उनको भनाई छ ।

स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, बुटबलमार्फत भिम शिखर हिरा कन्ट्रक्सन प्रा.लि.ले २०८२ असार १९ मा पुल निर्माणको सम्झौता गरेको थियो । पुलको कुल लागत आठ करोड ८५ हजार ३४ हजार रुपैँया रहेको छ । हालसम्म पुलको ९१ प्रतिशत काम सकिएसँगै पुल संचालनमा आएको इन्जिनियर राजु थापा मगरले जानकारी दिए । यही प्रकारको सबैभन्दा लामो पुल बाग्लुङमा पाँच सय ६७ मिटरको रहेको छ ।

गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले चुनावी प्रतिवद्धताअनुसार पुल निर्माण गरेको बताए । पुल निर्माण भएसँगै घण्टौ लाग्ने भड्कुवा र फलाँटेबीचको दुरी अब केवल केही मिनेटमा सिमित गरेको उनको भनाई छ । पुलले गर्दा स्थानीयको उत्पादन बजारसम्म पुग्ने, उत्पादित कृषिजन्य सामग्रीले बजार पाउने, विद्यार्थीलाई सहज हुने, जंगली जनावरको डर कम हुने जस्ता फाइदा भएको अध्यक्ष ज्ञवालीले बताए । त्यसका साथै पुल निर्माणले आन्तरिक तथा बाह्य पर्यटकको संख्या समेत बृद्धि भएकोले स्थानीय स्तरमा आर्थिक चलायमान बढ्ने उनको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

epaper

ताजा समाचार

सुदूरपश्चिममा धनगढीबाट पहिलो पटक भूमि प्रशासन सेवा सुरु