धनगढी । कैलालीमा जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरिएका भौतिक संरचनाको क्षतिको विवरण संकलन गर्ने काम सुरु भएको छ । गत बुधबार भएको प्रदर्शनमा सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरका संघ, प्रदेश र स्थानीय तहमातहतका कार्यालय र संरचनामा आगजनी, तोडफोड र लुटपाट भएको थियो ।
जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार कैलालीमा १ सय ३ वटा सरकारी कार्यालय भवनमा आगजनी तथा तोडफोड गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले प्रदर्शनका क्रममा १ सय ३ सरकारी कार्यालयका भवन, १७ वटा पार्टी कार्यालय भवन, १२ वटा निजी घर र पाँचवटा प्रहरी बिट क्षतिग्रस्त भएको जनाएको छ ।
प्रहरीका अनुसार कैलाली जिल्लाभर १ सय १४ वटा चारपांग्रे, ५ सय ४३ वटा दुईपांग्रे, ६ वटा तीनपांग्रे र १५ वटा साइकल गरी ६ सय ७८ सवारीसाधनमा आगजनी र तोडफोड भएको थियो । प्रदेश सरकारका मन्त्रालयहरू रहेको धनगढीमा सबैभन्दा बढी सरकारी संरचनामा क्षति पुगेको छ भने स्थानीय तह, वडा कार्यालय, विभिन्न विषयगत कार्यालयका भवनमा समेत आगजनी, तोडफोड र लुटपाट गरिएको छ ।
कैलालीमा धनगढी र गोदावरी नगरपालिकाको अत्तरियामा आगजनी, लुटपाट र तोडफोड भएको छ । प्रदर्शनकारीको आक्रमणका कारण संरचना क्षतिग्रस्त भएपछि सरकारी कार्यालयको सेवा ठप्प छ ।
मन्त्रालयको मुचुल्का तयार गर्दै प्रहरी
गत मंगलबार सामान्य प्रदर्शन भएको धनगढीमा बुधबार भने भीषण प्रदर्शन भएको थियो । पछिल्ला दिनमा अवस्था सामान्य बनेपछि अहिले प्रहरीमार्फत क्षतिग्रस्त कार्यालयको विवरण संकलन गर्दै मुचुल्का उठाउने काम भइरहेको छ । आगजनीले क्षतिग्रस्त सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेशसभा र अन्य मन्त्रालयमा प्रहरीले मुचुल्का संकलन गरिरहेको मुख्यमन्त्री कार्यालयका प्रवक्ता नवराज ओझाले बताए । उनले जलेर नष्ट भएको भौतिक सामानको विवरण लिने काम भइरहेको र केही कोठाबाट सामान्य सेवा प्रवाह गर्ने तयारी थालिएको बताए ।
‘हिजो (आइतबार) प्रमुख सचिवज्यूले सचिवज्यूहरूसँग बैठक राख्नुभएको थियो, आज (सोमबार) सबै मन्त्रालय र कार्यालयमा क्षतिको विवरण लिने र प्रहरी मुचुल्का उठाउने काम भइरहेको छ,’ उनले सोमबार भने, ‘कर्मचारी साथीहरू पनि सबै आउनुभएको छ ।’
प्रदेशसभामा भने आइतबार नै प्रहरीले मुचुल्का उठाएको छ । प्रदेशसभा सचिवालय भवन र प्रशासनिक भवनका सम्पूर्ण सामान र स्रेस्ता जलेर नष्ट भएको सूचना अधिकारी युवराज जैसीले बताए । उनले प्रहरीले मुचुल्का संकलन गरिसकेपछि सरसफाइ गरेर अत्यावश्यक र प्रशासनिक काम मंगलबारदेखि सुरु हुने बताए । ‘आगजनीले सभामुखज्यूको कार्यकक्ष र दुईवटा विषयगत समितिको कक्षबाहेक लगभग सबै संरचनामा क्षति पुगेको छ । आइतबार मुचुल्का उठाउने काम भयो,’ जैसीले भने, ‘सोमबार सशस्त्र प्रहरीले सरसफाइ गरेको छ, मंगलबारदेखि बचेको कोठाबाट प्रशासनिक काम अघि बढाउने सोच बनाएका छौं ।’
प्रदेश सरकारअन्तर्गतका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलगायतका संरचना पनि क्षतिग्रस्त भएका छन् । यी सबै कार्यालयको क्षति विवरण लिने काम भइरहेको छ । यी मन्त्रालयका भवन जलेर पूर्ण रूपले क्षतिग्रस्त नभए पनि फर्निचर, कुर्सी, टेबुल, सोफासहित कागजपत्र भने जलेर नष्ट भएका छन् । मन्त्रालयहरूमा प्रहरीको मुचुल्का संकलनपछि सरसफाइ गर्ने र बाँकी रहेका संरचनाबाट सेवा सुचारु गरिने भएको छ ।
मुख्यमन्त्रीसहित मन्त्रीहरू सेनाको ब्यारेकबाट फर्किए
धनगढीमा अवस्था सामान्य बन्दै गएपछि नेपाली सेनाले सुरक्षा दिएर राखेका प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहित मन्त्रीहरू ब्यारेकबाट फर्किएका छन् । सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएपछि नेपाली सेनाले उनीहरूलाई घर फर्किन आग्रह गरेको थियो ।
सेनाको तेघरीस्थित ब्यारेकबाट फर्किएपछि मुख्यमन्त्री कमलबहादुर शाह र मन्त्रीहरूले क्षतिग्रस्त संरचनाको निरीक्षण भने गरेका छैनन् । तर, प्रमुख सचिव डा. कमलप्रसाद पोखरेलसहितका सचिव र कर्मचारीहरूले सेवा सञ्चालनका लागि आवश्यक काम गरिरहेका छन् ।
पूर्ण रूपमा सेवा सञ्चालन गर्नसक्ने अवस्था नभए पनि तत्काललाई क्षतिग्रस्त संरचनामै एउटै भए पनि कोठा सरसफाइ गर्दै आधारभूत सेवा प्रवाह गरिने मुख्यमन्त्री कार्यालयका प्रवक्ता नवराज ओझाले बताए ।
कैलालीमा जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, भन्सार कार्यालयलगायतका संघीय सरकारअन्तर्गतका कार्यालयले भने अत्यावश्यक सेवा आइतबारदेखि सञ्चालनमा ल्याएका छन् ।
नगरप्रमुख र गाउँपालिका अध्यक्षद्वारा राजीनामा फिर्ता
कैलालीमा जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जाल फेसबुकमार्फत् पदबाट राजीनामा दिएका नगरप्रमुख र गाउँपालिका अध्यक्षले राजीनामा फिर्ता लिएका छन् । जिल्लाको टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारू र कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले पदबाट राजीनामा दिएका थिए । तर, दुवै जनाले जेनजी प्रदर्शनकारीबाट आएको धम्कीका कारण राजीनामा दिएको बताउँदै अहिले राजीनामा फिर्ता लिइसकेको बताएका हुन् ।
‘जेनजी आन्दोलनका क्रममा मेरो घरमा तोडफोड तथा आगजनी गरी मलाई पनि राजीनामा दिन धम्की आएको र राजीनामा नदिएमा ज्यान मार्नेसमेत धम्की आएकाले मैले बाध्य भएर २४ भदौमा सामाजिक सञ्जालमार्फत कैलारी गाउँपालिकाको अध्यक्ष र पार्टीको साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएको थिएँ,’ कैलारीका अध्यक्ष चौधरीले भने, ‘कैलारी गाउँपालिकाका सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षणका लागि कैलारीवासी दाजुभाइ, दिदीबहिनी, गाउँसभा सदस्य, राजनीतिक दलबाट राजीनामा फिर्ता लिन अनुरोध भएको हुँदा सो राजीनामा फिर्ता लिइएको जानकारी गराउन चाहन्छु ।’
अध्यक्ष चौधरीले गाउँपालिकाका नियमित काम अगाडि बढाउनका लागि सम्पूर्ण कैलारीवासीलाई सहयोग र समन्वयका लागि अनुरोध पनि गरेका छन् । टीकापुर नगरपालिकाका नगरप्रमुख थारूले पनि प्रदर्शनकारीले धम्की दिएपछि बाध्य भएर फेसबुकबाट राजीनामा दिएको बताउँदै अहिले काममा फर्किसकेको जानकारी दिए । ‘राजीनामा नदिएपछि टीकापुर नगरपालिका पनि जलाइदिन्छु भन्ने धम्की आयो,’ उनले भने, ‘क्षति कम गर्नका लागि बाध्य भएर राजीनामा दिएको हुँ, आधिकारिक रूपमा कतै राजीनामा नदिएको हुँदा काममा फर्किसकेको छु ।’
सम्बन्धित समाचार







