धनगढी । जेन्जी पुस्तालाई अपमानित महसुस गराउने हिसाब कुनै पनि व्यवहार नगर्न धनगढी नगर प्रमुख मेयर गोपाल हमालले आग्रह गरेका छन् । भदौ २३ र २४ गते भएको जेन्जी पुस्ताको आन्दोलनको विषयमा नकारात्मक टिप्पणी गरेर जेन्जी युवाहरूलाई तनाव दिने काम नगर्न नगर प्रमुख हमालले अनुरोध गरेका हुन् ।
हमालले भनेका छन्, ’असल मनसायबाट जेन्जी युवाहरूले आन्दोलन गरेको तर युवाको आन्दोलनमा घुसपेट भएको सबैलाई अवगत नै छ । जसमा अहिले भिडियो र फोटोहरू सामाजिक सञ्जालमा आइरहेका छन् । त्यही भएर जेन्जी पुस्तालाई निरुत्साहित गर्ने कार्य नगर्न हुन अनुरोध गर्दछु ।’
नगर प्रमुख हमालले अगाडि थपेका छन्, ‘जेन्जी पुस्ता यो देशको भविष्य हो । गहना हो र आत्मा हो । स्वदेशमै बसी काम गरी आफ्नो उज्जल भविष्य खोजी रहेको पुस्ता हो । जो राष्ट्र प्रथमको भावले काम गर्न चाहन्छन ।’
युवाहरूले राज्य सत्ताको माग नगरेको उल्लेख गर्दै देशमा भ्रष्टाचारको अन्त्य भई देशलाई सदाचारमा डोर्याउन युवाहरूले आवाज उठाएको नगर प्रमुख हमालले बताएका छन् ।
हिजो आज विभिन्न स्थानमा जेन्जी पुस्तालाई निरूत्साहित र आत्मग्लानी महसुस गराइ मनोवल घटाउने कार्य भइरहेकाले उक्त कार्य रोक्नुपर्ने हमालले बताएका छन् । बेदकोट नगरपालिका–४ बस्ने २४ वर्षीय नरेश धानुकले सामाजिक अत्याचार सहन गर्न नसकेर आत्महत्या गर्न बाध्य हुनुपरेको घटना सार्वजनिक भएको भन्दै युवाहरूको अपमान नगर्न नगर प्रमुख हमालले सम्पूर्णमा आग्रह गरेका छन् ।
नगर प्रमुख हमालले युवाहरूलाई आत्महत्या गर्न निरुत्साहित गरिनु दुःखद भएको बताएका छन् । २०७९ माघ १० गते संघीय संसद भवन अगाडि ईलामका ३७ वर्षीय व्यवसायी प्रेम आचार्यले आत्मदाह गरेको स्मरण गर्दै प्रत्यक्ष र परोक्ष रुपमा युवाहरूलाई पीडा र अपमानित हुने व्यवहार गर्न नहुने बताएका छन् । हमालले जेन्जी पुस्तालाई निरुत्साहित गर्ने काम नगरी उनीहरूको ऊर्जालाई यो राष्ट्र निर्माणमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।






