एमाले आडमा मौलाएको ‘महेश महत्वाकांक्षा’

काठमाडौं । जेनजी आन्दोलनपछिको त्रसित र तरल अवस्थामा ठूलो आवाजमा बोल्न सुरु गरेका एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको अभियान ‘महेश महŒवाकांक्षा’मा बदलिएको छ ।

जेनजी आन्दोलनका कारण प्रधानमन्त्री पदबाट राजीनामा गरेर हेलिकोप्टर चढी सेनाको सुरक्षामा बसेका अध्यक्ष केपी शर्मा ओलीलाई घरफिर्तीमा स्वागत गर्नेदेखि राजनीतिक अभियान बढाउने आधार तयार गरेको भन्दै एमाले नेता बस्नेतले आफ्नो राजनीतिक अभियान तीव्र बनाएका छन् । बस्नेतले आफ्नो आधार इलाका भन्दै सूर्यविनायक नगरपालिका–७ गुन्डुमा रहेको थापागाउँमा लगेर ओलीलाई बस्ने व्यवस्था मिलाएपछि एमालेको हेडक्वार्टरका रूपमा गुन्डुको प्रचार भइरहेको छ ।

एमालेका वरिष्ठ उपाध्यक्षदेखि सबैजसो पदाधिकारी, स्थायी समितिदेखि केन्द्रीय तहका नेताहरूको भेटघाट व्यवस्था मिलाउनेदेखि सचिवालय बैठकसम्म बस्ने व्यवस्था गरेपछि एमालेभित्र महेश बस्नेत र गुन्डुको प्रचार जति बढेको छ, त्यसभित्रको अन्तरकथाले पार्टीभित्र उस्तै आकार बढाउँदै गएको छ ।

एमालेभित्र अन्तरसंघर्ष चर्किंदा अध्यक्ष ओलीको पक्षमा उभिने बस्नेत ओली प्रधानमन्त्री भएकै बेलामा पनि किनारामा परेका थिए । पार्टीको प्रभावशाली नेता तथा अध्यक्षको नजिकको मान्छे भन्ने प्रभावलाई दुरुपयोग गरेर विभिन्न गतिविधिमा विवादित भएपछि बालुवाटारमा निषेध व्यहोरेका बस्नेतले अहिलेका गतिविधिमार्फत पार्टीमा अध्यक्षपछिको आफैं मात्रै हो भन्ने खालका दम्भ देखाउन लागेपछि एमाले कार्यकर्ताले आफूलाई लज्जाबोध भएको बताउन थालेका छन् ।

२०६४ सालपछिको नेकपा माओवादीको भ्रातृ संगठन वाईसीएलसँग भिडेर आफ्नो भिन्न पहिचान बनाएका बस्नेतलाई युवा परिचालनमा जस दिएपछि उनले पार्टी पहुँच र सम्बन्ध दुरुपयोग गरेर पार्टी कार्यकर्तालाई नै विभिन्न हिसाबले पीडित बनाएको उजुरी पार्टीका अध्यक्षदेखि विभिन्न नेतामा पुगेको एमाले अनुशासन आयोगका एक नेताले बताएका छन् ।

आफूमाथि भएका आक्रमण र आरोपबाट पनि जोगिने र पार्टीभित्र शक्ति विस्तारसहित पुनः ओलीलाई स्थापित गराउन चालिएका अभियानप्रति सचेत हुनुपर्ने भन्दै बस्नेतबाहेक पनि ठूलो पंक्ति एमाले रहेको नभुल्न नेताहरूले लाक्षणिक रूपमा सन्देश दिएका छन् ।

युवा संघका २–३ सय कार्यकर्ताको घेरामा अध्यक्ष ओली र बस्नेतले उभिएर गरेका भाषणले एमाले कार्यकर्ता झन् झस्किएको पार्टी पंक्तिमा चर्चा चलेको छ ।

अरूको आधार बस्नेतको बाजी
खासमा सूर्यविनायक नगरपालिका–७ एमाले नेता बस्नेतको भन्दा सूर्यविनायक नगरपालिकामा दुईपटक निर्वाचन जितेका नगरप्रमुख वासुदेव थापा र दुईपटक वडाध्यक्ष जितेका रवीन्द्र सापकोटाको आधार क्षेत्र हो ।

अझ त्यस क्षेत्रका अर्का लोकप्रिय नेता तथा बाग्मती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाको घर भएको क्षेत्र पनि हो, गुन्डु । एमाले नेता बस्नेतको घर जल्दैगर्दा स्वास्थ्यमन्त्री थापाको घर भने स्थानीयले घेरा हालेर जोगाएका थिए । मन्त्री थापाको लोकप्रियता प्रमाणित गर्ने उदाहरण यस्ता धेरै छन् । ‘ओली कमरेड यहाँ आएर बस्दा हामीलाई त गर्व नै बढेको छ तर महेशजीको बोलीले गर्दा हामीलाई लाज र डर लागेको छ,’ थापा थरका एक स्थानीयले बताए ।

आफ्नै विभिन्न गतिविधिका कारण पटकपटक अनेक ढंगले विवादमा आएका बस्नेतले आफ्ना धेरै विवादबाट जोगिन पनि अध्यक्ष र पार्टीलाई नै प्रयोग गरे भन्ने निष्कर्षमा पुगेका एमाले नेताहरू अध्यक्षलाई गुन्डुबाट बाहिर निस्कने वातावरण बनाउनुपर्ने अभियानमा पनि जुटेका छन् ।

२०७४ सालको निर्वाचनमा प्रतिद्वन्द्वीलाई दोब्बर मतान्तरले हराएका र २०७९ सालको निर्वाचन सानदार ढंगले जितेका वडाध्यक्ष सापकोटा, वडासदस्य उमेश कार्की, ईश्वर थापा, मञ्जु कार्कीहरूको स्थानीय नागरिकसँगको जनसम्बन्ध बलियो भएकै कारण ओलीको टिम बसोबास व्यवस्थापनका लागि करिब डेढ दर्जन घर तयार गरिएको छ ।

२ असोजमा गुन्डु सरेका ओली र बस्नेतको सुरक्षाका लागि करिब ३ सय युवालाई बसोबास व्यवस्था गरिएको छ भने खानपानमा दैनिक ठूलो खर्च भइरहेको छ । ओली सुरक्षाका लागि व्यवस्था गर्न केही स्थानीयलाई त्यहाँबाट अन्यत्र भाडामा बस्न लगाई घर खाली गरिएको समेत स्थानीयले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 232 times, 1 visits today)

epaper

ताजा समाचार

बालेन र सुदनविरुद्ध नेविसंघले पनि दियो प्रहरीमा उजुरी