लस एन्जलस । करिब ७ दर्जन चलचित्रमा अभिनय गरेकी हलिउडकी दिग्गज अभिनेत्री डायने लाडकोको ८९ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारले सोमबार साँझ अभिनेत्री डायन लाडको मृत्युको खबर सार्वजनिक गरिन् ।
दिग्गज हलिउड अभिनेत्री डायने तीन पटकसम्म सर्वोत्कृष्ट अभिनेत्रीको लागि ओस्कार अवार्ड र तीन पटक एमी अवार्डका लागि मनोनीत भएकी थिइन् । ‘एलिस डजन्ट लिभ हियर एनिमोर’,‘वाइल्ड एट हार्ट’ जस्ता चलचित्रको अभिनयले उनलाई लोकप्रियता दिलाएको थियो ।
उनकी छोरी तथा चलचित्र जुरासिक पार्ककी प्रसिद्ध अभिनेत्री लौरा डर्नले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै आफ्नो लागि अत्यन्त दुखद खबर भएको बताइन् । विज्ञप्तिमा उनले आफ्नी आमा एवम् लोकप्रिय अभिनेत्री डायने लाडको क्यालिफोर्नियाको ओहायोमा रहेको घरमा निधन भएको उल्लेख गरेकी छिन् । आफू आमासँगै रहेको पनि उनले बताएकी छिन् । तर आमाको मृत्युको कारण उनले खुलासा गरेकी छैनन् । आमा केही समयदेखि विरामी भएको मात्र उनले जनाएकी छिन् ।
आफ्नी आमा डायने प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले लेखेकी छिन्,‘उनी मेरालागि अमूल्य उपहार थिइन् । उनी एक महान् छोरी, आमा, हजुरआमा, अभिनेत्री, कलाकार र संवेदनशील आत्मा थिइन् र हामीले हाम्रो जीवनमा उनीलाई पाउँदा धेरै भाग्यमानी महसुस गरेका थियौँ ।’
छोरी लौराको विज्ञप्ति अनुसार डायने लाड एक प्रतिभाशाली अभिनेत्रीसँगै हास्य कलाकार एवम् नाट्य कलाकार पनि थिइन् । उनले आफ्नो पुरै करियर चलचित्र, टेली सिरिज र थिएटरमा बिताएकी थिइन् । उनले सन १९६१ मा हलिउड चलचित्र ‘समथिङ वाईल्ड’बाट सह अभिनेत्रीको रूपमा अभिनय अघि बढाएकी थिइन् ।
मार्टिन स्कोरसेसको १९७४ को चलचित्र ‘एलिस डजन्ट लिभ हियर एनिमोर’ बाट अभिनेत्रीको रूपमा लोकप्रिय भएकी थिइन् । सो चलचित्रमा उनले निर्वाह गरेका ‘फ्लो’ नामको चरित्र त्यो समयका दर्शकमा अमिट छाप बनेको थियो । यस भूमिकाको लागि, उनी सर्वश्रेष्ठ सह अभिनेत्रीको लागि ओस्करको लागि मनोनीत समेत भएकी थिइन् ।
२९ नोभेम्बर, १९३५ मा मिसिसिपीमा जन्मिएकी डायने लाडले सात वर्षको उमेरमै अभिनय सुरु गरेकी थिइन् । हलिउडमा डेब्यू गरेपछि थुप्रै चलचित्रमा अभिनेत्री गरेकी उनी चलचित्रमा नायिका बन्नु अघि सन १९५० र १९६० को दशकमा लोकप्रिय टेलिभिजन कार्यक्रम ‘नेकेड सिटी’ र ‘पेरी मेसन’मा पनि शिर्ष भूमिकामा थिइन् । सन २०६१ मा सह नायिकाको रूपमा हलिउड चलचित्रमा प्रवेश गरेकी पछि उनले सह नायिकाबाट नायिका हुँदै चरित्र अभिनेत्रीको रूपमा सन २०२२ सम्म करिब ७२ वटा चलचित्रमा अभिनय गरिन् । उनको टेली श्रृंखलाको सँख्या चलचित्र भन्दा बढी थियो । ८० भन्दा बढी टेली श्रृंखलामा उनले अभिनय गरेकी थिइन् ।
सम्बन्धित समाचार
एकल साँझमा प्रस्तुत हुँदै अञ्जना गुरुङ
‘जेरी अन टप’ले बनायो नवौँ दिनमा नयाँ रेकर्ड
बहिष्कारबीच पनि कन्सर्टमा उत्रिए सोनु निगम
निर्माण हुँदै चलचित्र ‘हिमालयन गोल्ड’
च्याब्रुङमाथि कथा लेख्दा ‘जारी २’ बन्यो भन्छन् उपेन्द्र
चलचित्र विकास बोर्डको सामाजिक कार्यमा जोड
चलचित्र ‘धागो’को ट्रेलरमा सीमा क्षेत्रका समस्या
‘मन बिनाको धन’ लाई युनिभर्सल प्रमाणपत्र






