दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार यस्तो आदेश दिएको हो ।

प्रहरी महानिरीक्षक पदमा डा. मनोजकुमार केसीको नियुक्तिविरुद्ध दानबहादुर कार्कीले दायर गरेको उत्प्रेषणसम्बन्धी रिटमा सर्वोच्चले अन्तरिम आदेश दिनुपर्ने अवस्था नरहेको ठहर गरेको हो ।

सरकारको २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार डा. केसी प्रहरी महानिरीक्षक पदमा बढुवा भई सोही दिन नियुक्तिपत्र बुझेर कार्यभार सम्हालिसकेको तथ्य मिसिलबाट देखिएको सर्वोच्चको आदेशमा उल्लेख छ ।

प्रहरी संगठनको नेतृत्व देशको शान्ति सुरक्षा कायम गर्ने महत्वपूर्ण जिम्मेवारीसँग जोडिएको संवेदनशील विषय भएको भन्दै अदालतले रिट निवेदनमा उठाइएका कानुनी प्रश्नको निरुपण अन्तिम सुनुवाइका क्रममा हुने जनाएको छ । साथै, सुविधा सन्तुलनको दृष्टिले पनि तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको आदेशमा उल्लेख छ ।

यद्यपि, सर्वोच्चले उक्त मुद्दालाई प्राथमिकताका साथ छिटो सुनुवाइ गर्न आदेश दिएको छ । प्रहरी संगठनको नेतृत्व तथा नियन्त्रण प्रणाली (चेन अफ कमान्ड) सँग सम्बन्धित विषय भएकाले यसको महत्व, गम्भीरता र संवेदनशीलतालाई ध्यानमा राख्दै छिटो निर्णय गर्नुपर्ने अदालतको ठहर छ ।

अदालतले प्रत्यर्थीहरूबाट लिखित जवाफ प्राप्त भएपछि वा लिखित जवाफ पेस गर्ने अवधि समाप्त भएपछि सात दिनभित्रै मुद्दाको पेसी तोक्न आदेश दिएको छ । साथै, पेसी स्थगित गर्न नपाउने पूर्वसूचना दुवै पक्षलाई दिएर नियमानुसार पेस गर्न पनि आदेशमा भनिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

epaper

ताजा समाचार

फरक स्वाद, फरक उर्जा: पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा