काठमाडौं । लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ । लुम्बिनीले १ देखि २७ मंसिरसम्म आयोजना हुने ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग’को दोस्रो संस्करणका लागि सिंहलाई मेन्टरमा नियुक्त गरेको हो ।
६२ वर्षीय सिंहसँग प्रशिक्षणको लामो अनुभव छ । उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्स र क्यारेबियन प्रिमियर लिगमा बार्बाडोस ट्रिडेन्ट्सको प्रशिक्षण सम्हालिसकेका छन् ।
यस्तै, सिंहले यूएईको राष्ट्रिय टिमलाई समेत प्रशिक्षण दिइसकेका छन् । खेलाडी जीवनबाट संन्यास लिएपछि सिंह सुरुमा भारतको यू–१९ टिमको प्रशिक्षक बनेका थिए । सन् २००४ मा हङकङको प्रशिक्षक बनेका उनले हङकङलाई एसिया कपमा छनोट गराउन भूमिका खेलेका थिए । त्यसपछि सन् २००६ मा उनी भारत ‘ए’ टिमको प्रशिक्षक बने ।
सन् २००७ र २००८ मा उनले भारतीय राष्ट्रिय टिममा फिल्डिङ प्रशिक्षकका रूपमा काम गरे । सन् २००८ मा सुरु भएको आईपीएलको पहिलो सिजनमा सिंह डेक्कन चार्जर्सको प्रशिक्षक थिए । सन् २०१० मा मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षक बनेका सिंह तीन सिजन मुम्बईको टिममा रहे । त्यसपछि मुम्बईले सन् २०१३ मा आईपीएल उपाधि जितेदेखि उनी कोचिङ संरचनामा समावेश थिए । उनी सन् २०१२ पछि बार्बाडोस ट्रिडेन्ट्सका प्रशिक्षक बनेका थिए ।
सिंह सन् २०२० मा यूएईको राष्ट्रिय टिमको डिरेक्टर अफ दि क्रिकेट तथा मुख्य प्रशिक्षक बने । उनकै प्रशिक्षणमा यूएईले सन् २०२२ मा अस्ट्रेलियामा भएको आईसीसी टी–२० विश्वकप खेलेको थियो ।
सन् २०२३ देखि सुरु भएको इन्टरनेसनल लिग टी–२० मा उनी पहिलो सिजन एमआई इमिरेट्सको जीएम बनेका थिए । अर्काे सिजन उनी एमआई इमिरेट्सको मुख्य प्रशिक्षक बन्दै टिमलाई च्याम्पियन बनाउन योगदान गरेका थिए ।
यस्तै, खेलाडी हुँदा अलराउन्डर रहेका उनले भारतका लागि एक टेस्ट र १ सय ३६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले टेस्टमा एक खेलमा २७ रन मात्र बनाएका थिए । यस्तै, एकदिवसीय अन्तर्राष्ट्रियमा २ हजारभन्दा बढी रन बनाएका उनले ६९ विकेट लिएका थिए ।
सिंहले लुम्बिनी लायन्सको मेन्टर बन्न पाएकामा खुसी व्यक्त गरेका छन् । साथै, उनले टिममा युवा प्रतिभावान् खेलाडीहरूसँग आफ्नो अनुभव बाँड्न उत्साहितसमेत रहेको बताएका छन् ।
लुम्बिनी लायन्सको मार्की खेलाडी नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल छन् । यस्तै, लुम्बिनीले दोस्रो सिजनका लागि विदेशी खेलाडीमा अस्ट्रेलियन डार्सी सर्ट र इटलीका बलर थोमस ड्राकालाई अनुबन्ध गरिसकेको छ र अन्य विदेशी खेलाडी पनि चाँडै घोषणा गरिने लुम्बिनीले जनाएको छ ।






