लमजुङ । लमजुङको पूर्वी क्षेत्रमा रहेको दूधपोखरी गाउँपालिका– ४ को सग्रवास स्थित तामाङ वस्तीमा लोपोन्मुख ठाडोभाका घन्किएको छ । ठाडोभाका लोककला प्रतिष्ठान, लमजुङको आयोजना तथा स्थानीय लालीगुराँस आमा समूहको व्यवस्थापनमा यहाँ सञ्चालन गरिएको ठाडोभाका निःशुल्क तीन दिने प्रशिक्षणमा ठाडोभाका घन्किएको हो ।
सो प्रशिक्षणमा पाँच विद्यालय २२ जना छात्रछात्रा सहित ४२ जनाले भाग लिएको आयोजकको भनाइ छ । ठाडोभाका महानायक एवम् आयोजक प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’ले सो प्रशिक्षणमा प्रमुख प्रशिक्षकको भूमिका निभाएका थिए । त्यस्तै महिलातर्फ ठाडोभाका गायिका एवम् प्रतिष्ठानका उपाध्यक्ष सीता दुराले गायनतर्फ प्रशिक्षण दिएकी थिइन् ।

संगीतको वागीनाको तीनवटै विधामा प्रशिक्षण दिइएको थियो । बाध्यवादनको मादल बजाउने कलामा प्रतिष्ठानका कार्यकारी सदस्य एवम् संगीत प्रशिक्षक देवराज गरुङले प्रशिक्षण दिएका थिए भने नाचमा ठाडोभाका महानायक धम्पुले निर्देशन गर्दै प्रयोगात्मक अभ्यास गराएका थिए ।
सो प्रतिक्षणमा ठाडोभाकाका अग्रज गायक अमरध्वज गुरुङ, मीना गुरुङ, सीता गुरुङ र कृष्णमान श्रेष्ठले सहप्रशिक्षणको कार्य गरेको आयोजकको भनाइ छ ।
कार्यक्रमका प्रमुख अतिथि खड्गबहादुर गुरुङले प्रतिष्ठान स्थापना भएपछि ठाडोभाका मर्दैन भन्ने आशा पाएको बताए । उनले यस्ता कार्यक्रमले ठाडोभाका बचाउन मद्दत गर्ने विश्वासको वातावरण जागृत भएको छ, त्यसमा पनि स्कूल पढ्ने बालबालिकालाई सहभागी गराउनु थप सराहनीय कार्य भएको पाँए भने ।
प्रशिक्षणमा सहभागी विद्यार्थीहरूले पहिलो पटक यस्तो कार्यक्रममा भाग लिएको बताउँदै यस्ता कार्यक्रमले निरन्तरता पाउनु पर्ने बताए । त्यसैगरी, वयस्क उमेरका सहभागीले समूहमा गाउँ दकश लाग्ने गर्दथ्यो अब सकिन्छ भन्ने लागेको छ भन्ने प्रतिक्रिया दिएका छन् ।
प्रशिक्षणमा उत्कृष्ठ स्थान हासिल गर्ने हिमालय मावि दूधपोखरी गाउँपालिका– ५ कोल्कीलाई एक जोडी भलिवल र एक थान नेट पुरस्कार स्वरुप प्रदान गरिएको थियो । सो पुरस्कार आयोजक प्रतिष्ठानका सल्लाहकार एवम् पूर्वप्रजिअ रमेशचन्द्र अधिकारीले सौजन्य गर्नु भएको हो ।

यसैगरी, सो अवसरमा प्रशिक्षण अवधिमा तीन वटै विधाको सिकाईमा उत्कृष्ठना हासिल गर्ने विद्यार्थी सहभागीहरू पाँच जनालाई पुरस्कृत गरिएको थियो । त्यस्तो पुरस्कार पाउँमा हिमालय माविका लुजा गुरुङ पहिलो, बाघ भैरव माविका समिक्षा गुरुङ दोस्रो, सानोकाभ्रे माविका आइतमान तामाङ तेस्रो तथा बुद्ध मिलन माविका मनिता गुरुङ र बुद्ध विद्यालयका सोनिया तामाङले सान्त्वना स्थान हासिल गरेका थिए । उनीहरूलाई वरिष्ठ लोकगायिका सिर्जना विरही थापा प्रतीभा पुरस्कार प्रदान गरिएको आयोजक प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङले बताइन् । उनका अनुसार सो पुरस्कारको रकम क्रमशः दुई हजार, एक हजार पाँच सय, एक हजार र ५–५ सय रहेको छ ।
कार्यक्रमको समापनमा प्रमुख अतिथि पूर्वजिल्ला विकास समितिका सदस्य खड्गबहादुर गुरुङ, आयोजनक प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा धम्पु, प्रशिक्षणमा व्यवस्थापन सहयोग गर्ने लालीगुराँस आमा समूहका अध्यक्ष सन्तमाया तामाङले संयुक्त रुपमा पुरस्कार र सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।
दूधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङले उदघाटन गरेको उक्त प्रशिक्षणको समापन कार्यक्रमको अध्यक्षता प्रशिक्षणका संयोजक एवम् आयोजक प्रतिष्ठानका सहकोषाध्यक्ष भुन्टीमाया तामाङले गरेकी थिइन् भने सञ्चालन कार्यकारी सदस्य देवराज गुरुङले गरेका थिए ।
उक्त कार्यक्रमको समापनमा ७० वर्ष उमेर नाघेका अग्रज गायक गायिकालाई सम्मान गर्ने प्रतिष्ठानको घोषित नीति अनुसार नौमाया गुरुङ दूधपोखरी गाउँपालिका– ४ तथा रणबहादुर गुरुङ दूधपोखरी गाउँपालिका– ५ लगायत पाँच जनालाई सम्मान गरिएको थियो ।







