काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच आज बिहान टेलिफोन वार्ता भएको छ ।
प्रधानमन्त्री शाहले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड दिएका थिए । उनले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीसँग स्पष्ट पारेको प्रधानान्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।
प्रधानमन्त्री शाहले यस्ता अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पार्दै यसको स्थायी समाधानका निम्ति संयुक्त पहलको आवश्यकतामा जोड दिएका थिए । ‘हामीलाई सिन्डिकेट र बिचौलियातन्त्र मन पर्दैन र यो कुनै पनि हालतमा स्वीकार्य छैन । यसले श्रमिकहरूलाई मारमा पारेको छ,’ प्रधानमन्त्री शाहले मलेसियाली समकक्षीसँग भने, ‘त्यसैले दुवै देशका श्रममन्त्रीलाई प्रत्यक्ष वार्तामा बस्न र यो समस्या सधैँका लागि हटाउन आवश्यक कदम चाल्न आग्रह गर्दछु ।’
प्रधानमन्त्री शाहले व्यक्त गरेको धारणालाई सकारात्मक रूपमा लिँदै मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रथाको विरुद्धमा रहेको बताएका थिए । उनले यस विषयमा आफ्ना श्रममन्त्रीलाई तत्कालै नेपालका श्रममन्त्रीसँग समन्वय गरी काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धतासमेत व्यक्त गरे ।
मलेसियाली प्रधानमन्त्री इब्राहिमले भन्नुभयो, ‘यस्तो गलत र शोषणकारी परिपाटीको म पनि पूर्ण विरुद्धमा छु । म तुरुन्तै हाम्रा श्रममन्त्रीलाई यस विषयमा नेपाली समकक्षीसँग छलफल गरी ठोस निकास निकाल्न निर्देशन दिन्छु ।’
सम्बन्धित समाचार
युवाको आक्रोशलाई राष्ट्र निर्माणमा बदलौँ, निराशा नफैलाऔँ : सभापति लामिछाने
पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता
पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह
तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी
माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत
केदारनाथ मन्दिरमा साँझ महाआरती गरिँदै
नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने मन्त्रिपरिषदको निर्णय
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो






