रोम । बेल्जियन विंगर तथा फरवार्ड ड्रिएस मेर्टिन्सले इटालियन क्लब नपोलीसँग सम्झौता नवीकरण गरेका छन् । मेर्टिन्सले नपोलीसँग थप तीन वर्षको सम्झौता नवीकरण गरेका हुन् ।
पछिल्लो समय मेर्टिन्स अनुबन्धका लागि सिरी ‘ए’ क्लब इन्टर मिलान र इंग्लिस क्लब चेल्सीले यसै समरमा फ्री ट्रान्सफरमार्फत अनुबन्ध गर्ने चासो देखाए पनि उनले नपोलीले बस्ने निर्णय गरेका हुन् । ३३ वर्षे मेर्टिन्सको सम्झौता यसै समरमा सकिँदै थियो । अब उनी २०२३ को समरसम्म नपोलीमै रहनेछन् ।
चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले बेल्जियन फरवार्ड मेर्टिन्स मनपर्ने खेलाडी रहेको र आउँदो समरमा अनुबन्ध गर्ने योजना बनाएको थियो । यस्तै, इन्टर मिलानले मेर्टिन्सलाई प्रतिसाता १ लाख ७० हजार अमेरिकी डलरको प्रस्ताव गरे पनि उनी नेपोलीमै बस्न राजी भएका हुन् । यससँगै नपोलीका समर्थक पनि खुसी हुनेछन् । मेर्टिन्स २०१३ मा डच क्लब पीएसभी इन्डोभेनबाट नपोली पुगेका थिए । उनी पछिल्लो समय सिरी ‘ए’मा उत्कृष्ट फरवार्डका रूपमा आफूलाई स्थापित गरिरहेको छ ।
मेर्टिन्सले नपोलीका लागि हालसम्म नपोलीका लागि ३०९ खेलमा १२१ गोल गरेका छन् । मेर्टिन्सले यो सिजन २९ खेलमा १२ गोल गरेका छन् । उनले २०१६÷१७ को सिजनमा ३५ खेलमा सर्वाधिक २८ गोल गरेका थिए । नपोली यो सिजन सिरी ‘ए’मा छैटौं स्थानमा रहेको छ । इटाली सरकारले १४ जुनसम्म खेलकुदका कुनै पनि गतिविधि नगर्न निर्देशन दिएपछि सिरी ‘ए’ पुनः सुरु हुने या नहुने आशंक पैदा भएको छ ।
इटाली सरकारको यो निर्देशनपछि इटालियन फुटबल फेडेरेसन –एफआईजीसी)ले १३ जुनदेखि सिरी ‘ए’ सञ्चालन गर्ने योजनामा धक्का लागेको छ । तर, एफआईजीसीले त्यसपछिको समयमा आयोजना गर्ने अघि सारेको छ । इटालीमा ९ मार्चदेखि फुटबल स्थगित छ ।






