खोटाङ । दुमी किरात राई फन्सीकीमको आठौं राष्ट्रिय महाधिवेशन पुख्र्यौली ज्ञान साझा पहिचान भन्ने नाराकासाथ खोटाङको खार्मीमा आजबाट सुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले मंगबाल ब्यानर वाचन तथा दुमी किरात राईहरुको नाग्रे कुबी पित्रे धामीले तीन चुल्हा पुजेर महाधिवेशनको औपचारिक उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख भट्टराईले खोटाङ किराँत भूमि भएकाले नगरपालिकाको लेटर प्याडमा समेत किरात लिपि समावेश गरिएको जानकारी दिए । नगर प्रमुख भट्टराईले भने, “म भट्टराई परिवारमा जन्म लिए पनि किराती हुँ । हामीलाई किराती हुनुमा गर्व लाग्छ । त्यसैले नगरपालिकाले गर्ने हरेक क्रियाकलापमा मुन्दुमी कुराहरु जोडेर गर्ने गरेका छौँ ।” उहाँले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी सम्पन्न गरी विभिन्न ४० देशका ख्यातिप्राप्त चित्रकारहरुले क्यानभासमा उतारेका चित्र संकलन गरेर मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला सङ्ग्राहलय स्थापना गरेको र यसले किराती सभ्यतालाई विश्वभर चिनाउन मद्दत गरेको बताए ।
महाधिवेशन सफल बनाउन देश तथा विदेशमा छरिएर बसेका दुमी किराँत राईहरु खार्मीमा भेला भएका छन् । नेपालसहित छिमेकी देश भारतको सिक्किम र दार्जिलिङ तथा हङकङ, अमेरिका र बेलायतका दुमी किरात राईहरु खार्मीस्थित रुधालुङमा जम्मा भएका हुन् । आयोजक दुमी किरात राई फन्सीकीमका महासचिव तेजमाया मुरह दुमी राईका अनुसार महाधिवेशनले नयाँ नेतृत्व चयन, आर्थिक तथा साङ्गाठानिक प्रतिवेदन पारित र भावी रणनीति निर्माण गर्नेछ । किरात समुदायको महान चाड छीरीयाम्लो उँधौलीको अवसर पारेर आयोजना गरिएको महाधिवेशनले एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, दुई जना उपाध्यक्ष, एक जना महासचिव, तीन जना सचिव, एक कोषाध्यक्ष र एक जना सहकोषाध्यक्षसहित २१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्ने जनाइएको छ ।
माझ किरात भनेर चिनिने खोटाङको खार्मीस्थित रुधालुङको जगत आधारभूत विद्यालयको प्राङ्गणमा दुई दिनसम्म सञ्चालन हुने महाधिवेशन उद्घाटन कार्यक्रममा दुमी किरात राईहरुको वङ्शावलीसमेत विमोचन गरिएको छ । किर्तिपुर क्याम्पसका पूर्व सहप्राध्यापक एवम् सँस्कृतिविद् चतुरभक्त राईले संकलन, लेखन तथा सम्पादन गर्नुभएको ९५० पृष्ठको वङ्शावलीमा दुमी किरात राईहरुको २२ पाछा तथा ११ सामायी समेटिएको छ ।
करिब ३२ वर्ष लगाएर तयार पारिएको उक्त वङ्शावली संंकलन, लेखन तथा सम्पादन गर्नुहुने सँस्कृतिविद् राईलाई फन्सीकीमले सफरी फेटा बाँधेर ताम्रपत्रसहित सम्मान गरेको छ । महाधिवेशन उद्घाटनमा साकेला सिली, मारुनी नाच, कुबी तथा तयातङ्कुबाट मुन्दुमी बखान लगायतका कार्यक्रम प्रदर्शन गरिएको थियो । किरात राई संस्कार तथा संस्कृति झल्कने विभिन्न स्टल राखिएको कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई, केपिलासगढी गाउँपालिकाका प्रमुख समिर राई, साम्पाङ राई जुम्लेखाका केन्द्रीय अध्यक्ष वीरकाजी राई, खार्मीका वडाध्यक्ष ईखबहादुर राई, जालपाका वडाध्यक्ष दानबहादुर राई, नेर्पाका वडाध्यक्ष माधव राई, किरात पुर्खा, संस्कृतिविद्, कुबी तथा तयातङ्कुलगायतको उपस्थिति रहेको थियो ।
किरात यले सम्वत् यल थो ५०८५ को अवसर पारेर आयोजना गरिएको राष्ट्रिय महाधिवेशनमा शुभकामना आदानप्रदान, साँस्कृतिक झाँकी प्रदर्शन तथा बुढापाकाबाट मुन्दुमी ज्ञानसमेत आदानप्रदान गरिने आयोजक दुमी किरात राई फन्सीकीमका केन्द्रीय अध्यक्ष डा. नेत्रमणि हलक्सु दुमी राईले जानकारी दिए । दुमी किरात राई समुदायले खोटाङको खार्मी, जालपा, बाक्सिला, सप्तेश्वर र माक्पालाई आफूहरुको उद्गम थलो मान्ने गरेका छन् । विसं २०५५ सालमा स्थापना गरिएको दुमी किरात राई फन्सीकीमले दुमी किरात राई समुदायको पुख्र्यौली ज्ञान, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
सम्बन्धित समाचार
हिमालयन माहायान छेदेन छ्याकी खोलो वौद्ध गुम्बाको संरक्षण
इटहरीमा अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन पुस ५ र ६ गते हुने
बस दुर्घटनाका घाइते चालकको उपचारका क्रममा मृत्यु
नुहाउने क्रममा बेपत्ता व्यक्तिको शव फेला
पाटन दरबार स्क्वायर क्षेत्र अब सवारीरहित
आकर्षक पर्यटकीय गन्तव्य बन्दै खार्तम्छामा रहेको ‘छाँगे झरना’
उपचार खर्चको अभावमा अस्पतालमै वास
धनगढीमा प्रभावकारी बन्दै निःशुल्क शव चिस्यान सेवा, दुई वर्षमा ५५६ परिवारले लिए सेवा






