गुल्मीमा ४ लाखका सडक सिसा हराए

गुल्मी । साँघुरो सडक । धेरै घुम्ती । घुम्तीको छेउमा सवारी ओहोर–दोहोर गरेको देखिने सडक सिसा फुटेको अवस्थामा छन् । गुल्मीको मुख्य राजमार्गको रुपमा रहेको मदन भण्डारी राजमार्ग अन्तरगत रहेको रिडी–तम्घास सडकमा दुर्घटना न्यूनिकरणका लागि राखिएका सडक सिसाहरु हराएका छन् ।

दुर्घटनाको जोखिम बढ्यो

पहाडी क्षेत्रमा सडक सुविधा पु¥याउँदा धेरै घुम्तीहरु हुने गर्दछन् । घुम्तीकै कारण धेरै दुर्घटना पनि भए । सोही बिषयलाई मध्यनजर गर्दै तत्कालिन सडक डिविजन पाल्पाले गुल्मीको रिडी–तम्घास सडकमा सडक ऐना राख्यो । सडक ऐना घुम्तीमा राखिन्छ । जहाँबाट विपरित दिशाबाट आएका दुवैतर्फका सवारी सहजै सडकको ऐनामा देखिन्छन् । ऐनाबाट दुवैतर्फका सवारीले आ–आफ्नो साइड मिलाएर ओभरटेक वा सवारीको गती घटाउछन् । जसका कारण दुर्घटना हुन पाउदैँन । तर गुल्मीको रिडी–तम्घास सडकमा राखिएका सडक ऐनाहरु महिना दिन पनि टिक्न सकेनन् । कतिपय ठाउँमा सिसा मात्रै छैनन् भने कतिपय ठाउँमा सिसा राख्न गाडिएका खम्बा समेत हराएका छन् ।

सडक ऐना राख्दा दुर्घटना कम हुनेमा विश्वस्त रहेका नागरिक अहिले त्रसित देखिन्छन् । सडक डिविजन पाल्पाले आर्थिक बर्ष २०७२–७३ मा सडकको अति दुर्घटनाको जोखिम रहेको १४ स्थानमा सडक ऐना राखेको थियो । केही ऐना हप्तादिनमा नै हराए भने केही महिनादिनमा हराए । अहिले ऐना राखेको झण्डै १० बर्षमा १३ वटा सिसा हराएका छन् भने एउटा मात्रै सग्लो छ ।

तत्कालिन अवस्थामा एउटा सिसाको मूल्य २८ हजार थियो । यसरी हिसाब गर्दा सबै सडक ऐनाको मूल्य तीन लाख ९२ हजार हुन्छ । जसमध्ये १३ वटा सिसाको मूल्य तीन लाख ६४ हजार सडकमै हराएको छ । अधिकाशं सिसाहरु मदिरा पिएर युवाहरुले तोडफोड गरेका छन् ।

‘कसैले संरक्षण गर्न नचाहेको हो कि, नगरेको हो ? सडक ऐना सबै टुटफुट भएका छन् ।’ तम्घासकी रुपा खत्रीले भनिन्, ‘भन्ने र सुनाउने खै कसलाई ?’ उनले आफुजस्तै स्कुटरमा हिड्नेलाई अझ बढी गाहे हुने गरेको बताईन् । रेसुङ्गा नगरपालिका–१३ का डिल बहादुर खत्रीले आफ्नो घर नजिकैको सडक ऐना मदिरा सेवन गरेका युवाहरुले रातिमा फुटाएको बताए । ऐना फुटाएपछि ऐना राख्न बनाइएको खम्बा समेत उखेलेको उनले बताए ।

अब सकेसम्म छिटो सडकमा अन्य सिसाहरु राख्न र दुर्घटनाको जोखिम कम गर्न उनले आग्रह गरे । रेसुङ्गा नगरपालिका–८ का परमानन्द भण्डारीले सिसा फुटाउने नागरिकलाई कारवाही गर्न र सडकमा नयाँ सिसा राख्न आग्रह गरे । सडकको छेउमै घर भएका भण्डारीले पाँच बर्षसम्म पनि नयाँ सिसा नराख्नु दुखद् भएको बताए । ‘थुप्रै पटक दुर्घटनाको जोखिम भोगेका छौँ, कयौँपटक प्रत्यक्ष रुपमा दुर्घटना देखेका पनि छौँ ।’ उनले भने, ‘राज्यले यसको तत्काल व्यवस्थापन गर्नुपर्छ ।’

यससम्बन्धमा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नारायण अधिकारीले अहिलेसम्म कार्यालयमा लिखित रुपमा उजुरी नआएपनि संवाददाताको भनाईलाई आधार मानेर अनुसन्धान अगाडी बढाउने बताए । ‘सडक ऐना हराएको बिषयमा कतैबाट उजुरी आएको छैन ।’ उनले भने, ‘तपाईले ध्यानाकर्षण गराउनुभयो, अब म अनुसन्धान गर्छु ।’ उनले आइतबार नै सम्बन्धित निकायलाई सडक ऐनाको बिषयमा अनुसन्धान गर्न निर्देशन दिइसकेका छन् । नयाँ सिसा ल्याउने बिषयमा पनि सम्बन्धित निकायमा पहल गर्ने उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 136 times, 1 visits today)

epaper

ताजा समाचार

'नसोधी' ल्याए राधा, घनेन्द्र र सन्तोषले