काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभरमा आकर्षक तलबसहित विभिन्न किसिमका सूचना र विज्ञापन टिकटकलगायतका समाजिक सञ्जालमा प्रसारण भएका सन्देशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विभागले सरकार र इजरायल सरकारका बीचमा सम्पन्न द्विपक्षीय समझदारीअनुरूप इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा सहायक कामदारहरू पठाउने सम्पूर्ण कार्य केवल जी–टू–जी प्रक्रियामार्फत मात्र हुने गर्छ र कुनै पनि निजी संस्था, कम्पनी वा व्यक्तिलाई यी कामका लागि विज्ञापन गर्न, फाराम भर्न वा पठाउने प्रक्रिया सञ्चालन गर्न कुनै अधिकार नरहेको स्पष्ट पारेको छ ।
विभागले ‘इजरायलमा काम गर्न जानका लागि सरकारदेखि सरकार (जी–टू–जी) बाहेक अर्को विकल्प नरहेकाले त्यस्ता भ्रमपूर्ण समाचार सन्देश, पोष्ट सूचनाका पछि नलाग्न र विश्वास नगर्न सबैमा आग्रह गरेको छ । साथै यस्ता भ्रामक, झुठा र ठगी उद्देश्यले गरिएका क्रियाकलाप वा अवैध रूपमा कामदार पठाउने कुनै पनि व्यक्ति, समूह वा एजेन्सीमाथि कडा कारबाही गरिने विभागले उल्लेख गरेको छ ।
यसैगरी, विभागले आवश्यक जानकारीका लागि सरकार तथा वैदेशिक रोजगार विभागद्वारा प्रकाशित आधिकारिक सूचना वैदेशिक रोजगार विभागको आधिकारिक वेबसाइट हेर्न आग्रह गरेको छ ।






