काठमाडौं । पूर्व (कोशी)मा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले पहिचानवादीसँग पार्टी एकताको घोषणा गरेकै दिन मधेशमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सहित तीन पार्टीका बीचमा एकताको सहमति भएको छ ।
बुधबार झापाको विर्तामोड बुधबार महतो नेतृत्वको रामुपाले पहिचानवादीहरूसँग एकता गरेको छ । नेपालमा पहिचान, स्वशासन र सामाजिक न्यायका मुद्दालाई केन्द्रमा राख्दै राष्ट्रिय मुक्ति पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर) र कोचिला संघर्ष समिति, संघीय लिम्बुवान पार्टी नेपालबीच पार्टी एकता भएको रामुपाका महासचिव केशव झाले जनाएका छन् ।



चारै पक्षबीच गहन छलफलपछि जारी गरिएको सम्झौतापत्र रामुपाका महासचिव सन्तोष मेहताले वाचन गर्दै भने, ‘देशको केन्द्रीकृत, एकात्मक र जातीय पक्षपाती राज्य संरचनालाई रूपान्तरण गरी बहुल राष्ट्रिय लोकतान्त्रिक राज्य निर्माण गर्ने संयुक्त लक्ष्य रहेको छ ।’
सम्झौतामा स्वदेशवाद, बहुल राष्ट्रवाद र सामुदायिक समाजवादलाई एकीकृत पार्टीको मूल विचारधाराका रूपमा स्वीकार गरिएको छ । एकीकृत पार्टीको नाम राष्ट्रिय मुक्ति पार्टी नेपाल र यसै पार्टीको विधान कायम राख्ने सहमति भएको छ ।
चारै पक्षले लिम्बुवान, कोचिला, मधेश, खम्बुवान, तामसालिङ, नेवा, मगरात, थरुहटलगायत पहिचान आधारित स्वायत्त र विशेष राज्यहरूको स्थापना तत्कालीन एजेन्डा हुने स्पष्ट गरेका छन् । साथै, राज्यका सबै तहमा जातीय जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्न माग गरिएको छ ।
सम्झौतामा विगतका आन्दोलन, पहिचान, अधिकार आन्दोलनसँग भएका सम्झौता तत्काल कार्यान्वयन गर्न सरकारलाई दबाब दिने सहमति पनि गरेको छ । भ्रष्टाचार, औपनिवेशिक मानसिकता र राज्य संरचनामा रहेको अन्याय अन्त्यका लागि कडा अभियान सञ्चालन गर्ने, जेन–जी पुस्ताले उठाएका मुद्दा सम्बोधन गर्ने र यसका निम्ति नेपालको संविधान, २०७२ लाई पुनर्लेखन गर्नुपर्ने उल्लेख छ ।
एकीकृत पार्टीको नेतृत्वमा अध्यक्ष राजेन्द्र महतो, वरिष्ठ नेता सन्जुहाङ पालुङ्वा, उपाध्यक्ष त्रिनारायण राजवंशी र मित्र लिङ्देन रहने सहमति पनि भएको छ । चारै पक्षले पहिचान, सभ्यता–संस्कृति संरक्षण, स्वशासन र समानताको पक्षमा उभिएका सबै शक्तिलाई वैकल्पिक राजनीतिक ध्रुवीकरणमा सहभागी हुन आह्वान गरेका छन् ।
सहमति घोषणाको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतो राष्ट्रिय मुक्ति क्रान्तिका लागि अगामी निर्वाचनलाई उपयोग गर्ने वताए ।
पूर्वमा पहिचानवादी शक्तिलाई महतोले एकजुट गर्दैगर्दा बुधबार नै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले विभिन्न तीन मधेशवादी पार्टीसँग एकीकरणको सहमति गरेको छ ।
ठाकुर नेतृत्वको लोसपा, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र बृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीका बीचमा पार्टी एकता गर्ने सहमति भएको हो । त्रिपाठी र लाल नेतृत्वको पार्टी विगतमा लोसपाबाटै विभाजन भएर छुट्टै दल गठन भएको थियो ।
राजनीतिक शक्तिको निर्माण र एकता आवश्यक भएको मनन गर्दै लोसपा, जप्रपा र तमलोपाबीच पार्ट एकजुट भई एकीकृत हुने निर्णय गरिएको तीनै जना नेताद्वारा जारी संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।







