काठमाडौं । मुलुक संघियतामा गएको लामो समय वितिसक्दा पनि अझै स्वदेशी, सीप, श्रम र कच्चा पदार्थमा आधारित नेपाली हस्तकला क्षेत्रले कच्चा कदार्थको समस्या भोगिरहनु परेको छ ।
देशको रोजगारी, बढ्दो युवा विदेश पलायन रोक्ने माध्याम एवं देशको अर्थतन्त्रका साथै सम्पदा संरक्षण र सम्वर्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै नेपाली हस्तकला क्षेत्र अझै राज्यको तीनवटै तह सरकारको प्राथमिकतामा पर्न सकेको छैन ।
जसका कारण स्वदेशी कच्चापदार्थमा आधारित नेपाली हस्तकलाजन्य बस्तु उत्पादन गर्ने उद्योगहरूले अपेक्षाकृत रूपमा स्थानीय स्रोत साधनको उचित प्रयोग गर्न पाएका छैनन् ।
आफ्नै उद्योग आसपासमा खेर गईरहेको कच्चापदार्थलाई समेत हस्तकलाजन्य उत्पादनमूलक उद्योगमा उपयोग गर्न कठिन भइरहेको सम्बन्धीत हस्तकला व्यवसायीको गुनासो छ ।
हस्तकला व्यवसायीका अनुसार सरकारका तीनवटै तहका सरकारले कच्चापदार्थ उपयोगमा अप्ठेरो बन्दै आएको सामान्य नीतिगत समस्या समाधानमा सहयोग नगरिदिएको अवस्था छ । यस्तै अवस्थाका कारण अपेक्षाअनुसार देशको हस्तकला क्षेत्रले गति लिन सकेको छैन ।
स्थानीय स्रोत साधन उपयोग गरि हस्तकला क्षेत्रमा ठूलो रोजगारी सिर्जना गर्न सकिने भएपनि सोहीअनुसार रोजगारी सिर्जना गर्नकालागि सामान्य काम समेत नभएको उनीहरूको दावी छ ।
सोही कारण नेपाली युवा विदेश पलायन बढ्दै गएको व्यवसायीको भनाई छ । हस्तकला क्षेत्रमा लाग्नेहरूमा नाम, दाम र भविश्य छैन भन्ने व्यापाक गुनासो छ । हस्तकला निर्यातको ठूलो संभावना रहेपनि अपेक्षाअनुसार निर्यात बढ्न सकेको छैन । अझै पनि अपेक्षाकृत रूपमा नेपाली हस्तकलाको ब्रान्डिङ हुन सकेको छैन ।
हस्तकलामा ३६ विधा छन् । जति विधा भएपनि एउटा सामुहिक ब्राण्ड बनाएर अघि बढ्न सकिन्थ्यो । तर, त्यो हुन सकेको छैन । निर्यातमूलक मात्र नभई नेपाली कला संस्कृतिको धरोहरका रूपमा रहेका हस्तकलाको छुट्टै नीति बनाएर हस्तकला प्रवर्धनमा जोड दिनुपर्नेमा सम्बन्धीत सरोकारवालाहरूको माग छ ।
हस्तकला व्यवसायमा लाग्नेहरूले अहिलेसम्म सरकारको हस्तकला क्षेत्र संरक्षण नीति बन्न नसकेकोमा गम्भिर चिन्ता व्यक्त गरेका छन् । नेपाल हस्तकला व्यवसायी महासंघका अनुसार हस्तकलाजन्य उद्योग र विदेशी अर्बौ रूपैयाँ लगानीका सिमेन्ट, फलामे डण्डी, तयारी चाउचाउ, विस्कुट जस्ता उद्योग व्यवसायलाई एउटै डालोमा राखेर नीति बनाउँदा समस्या भएकाले पनि हस्तकलाको छुट्टै नीति आवश्यक देखिएको हो ।
पछिल्लो समय सरकारले बल्ल २० प्रतिशतसम्म महँगो भएपनि स्वदेशी वस्तु नै प्रयोग गर्नुपर्ने नीतिगत व्यवस्था गरेको छ । तर, सो नीति कार्यान्वयनमा आउन नसकेको महासंघले जनाएको छ । महासंघका अध्यक्ष रविन्द्र शाक्यले यस्तो बताएका हुन् ।
शाक्यका अनुसार स्वदेशी हस्तकलालाई मूल्यअभिबृद्धि कर (भ्याट) नलाग्ने भएपनि सरकारको खरिद ऐनअनुसार प्रक्रियामा जानुपर्दा भ्याटमा जानुपर्ने हुन्छ । हस्तकलाका साना उद्यमी भ्याटमै गएका हुँदैनन् । त्यसैले हस्तकला व्यवसायी त्यो सरकारी खरिद प्रक्रियामै जान सक्दैनन् ।
भन्सारले पनि एउटा नियम बनाएको हुन्छ । यसैगरी, सरकारी निकायका खरिद शाखाहरूलाई जानकारी नभएर वा उच्च सरकारी अधिकारीहरूको विदेश भ्रमणमा लगिने उपहारहरु पनि स्वदेशी वस्तु हुँदैनन् ।
त्यस्तै, निर्यात अनुदान रकम लिन कठिन भएको महासंघ अध्यक्ष शाक्यको भनाई छ । महासंघका अनुसार अनुदान लिने प्रक्रियागत झमेला धेरै छ । केही पहुँचवाला बाहेक कसैले पनि निर्यात अनुदान पाएका छैनन् । त्यही निर्यात अनुदान पनि अहिलेको सरकारले स्थगित गरिदिएको अवस्था छ ।
अनुदान लगायत हस्तकला व्यवसायीलाई सरकारले विविध किसिमले सहयोग गर्न सक्छ । ‘उद्यमी कलाकारको सम्मान, पहिचान पनि इन्टेन्सिभन्दा कम हुँदैन । एक दुइ जनाले पहुँचका आधारमा सम्मान पाएर हुँदैन, सबै हस्तकला व्यवसायी, कलाकार सम्मानयोग्य छन्’ अध्यक्ष शाक्यले भने ।
यसैगरी, हस्तकला क्षेत्रमा कच्चा पदार्थको पनि समस्या छ । तीन तहको सरकार भएपछि झनै काम गर्न कठिन भएको हस्तकला व्यवसायीको गुनासो छ । संघिय सरकारले एउटा नीति बनाउँछ । प्रदेश र स्थानीय तहको अर्कै नीति हुने र तीन तहका सरकारबीच नीतिगत समस्याका कारण भएकै कच्चा पदार्थको स्रोतहरु त्यसै कुहिएर खेर गइरहेको अवस्था छ ।
वन संरक्षणसम्वन्धी ऐन, खानी संरक्षणसम्वन्धि ऐन, राष्ट्रिय निकुञ्जसम्वन्धि ऐन कानुनका कारण ढुंगा, काठ चलाउन नहुने अवस्था छ । स्वदेशी काठ कुहिएर जान्छ । तर, व्यवसायीले भारत, मलेसियाबाट आयातित काठ प्रयोग गर्नुपरिरहेको अवस्था छ । हस्तकला क्षेत्रमा हालसम्म जे जति भएको छ, त्यो सबै हस्तकला व्यवसायीकै मिहनेत, परिश्रम र साधन श्रोतले मात्र भएको सम्बन्धीत हस्तकला व्यवसायीको दावी छ ।
यसैगरी, नीतिगत समस्या र अस्थिरताका कारण पुस्तान्तरणमा पनि चुनौती देखिएको छ । नयाँ पुस्ताले आफ्ना बुबा बाजेले गरेको पुख्र्यौली पेसा हस्तकलालाई निरन्तरता दिने भन्दा पनि अध्यायनका नाममा विदेश जाने र उतै बस्ने प्रबृत्ति देखिएकाले थप चिन्ता बढेको उनीहरूको गुनासो छ ।
तीन तहको सरकार भएपछि झनै काम गर्न कठिन भएको हस्तकला व्यवसायीको गुनासो छ । संघिय सरकारले एउटा नीति बनाउँछ, प्रदेश र स्थानीय तहको अर्कै नीति हुने र तीन तहका सरकारबीच नीतिगत समस्याका कारण भएकै कच्चा पदार्थको स्रोतहरु त्यसै कुहिएर खेर गइरहेको अवस्था छ
महासंघका अनुसार हस्तकला नीतिको बहस सुरू भएको झन्डै एक दशक बितिसकेको अवस्थामा पनि अझै सरकारले हस्तकला क्षेत्रलाई राम्रो किसिमले हेरेको छैन ।
जसका कारण अब हस्तकला व्यवसायीहरू पनि अलिकति रूपान्तरित हुनुपर्ने आवश्यकता छ । अब परम्परागत तरिकाले मात्र नचल्ने अवस्था आएको महासंघको धारणा छ ।
अब व्यवसायी क्रमशः आधुनिकीकरणमा जानैपर्छ । अहिलेको सूचना प्रविधीको विकासँगै व्यवसायी पूरानै सोच र मानसिकताले बसेर हुँदैन । सरकारले पनि नीतिमा सुधार गर्नुपर्छ । अब हरेक काम सूचना प्रविधीमा आधारित हुनुपर्छ । अझै एउटा अमेरिकी नागरिकले यहाँको हस्तकला लिन नेपालमै आएर किन्नुपर्ने अवस्था छ । तर, हाम्रोमा अनलाइन कारोबारमा पेमेन्टमा समस्या छ । इ कमर्श ऐन नभएकाले सोसियल एप्सहरूबाट हामीले कारोबार गर्न सक्ने अवस्था छैन ।
अन्तर्राष्ट्रिय व्यापार मेलाहरूमा जाँदा पनि भुक्तानीमा समस्या हुने गरेको छ । हाम्रै छिमेकी मुलुक भुटानले समेत आफ्नै एप्स बनाएर संसारभर पैसा कारोबार गर्न सक्ने अवस्था बनाइसकेको छ । तर, हामी आफैं पनि निजी अनलाइन पोर्टलबाटै धेरै सामान खरिद गरिरहेका हुन्छौ ।
जसकालागि हस्तकलाकोे अनलाइन व्यापार अलि सम्वेदनशील भएकाले सहजै खुलेका निजी अनलाइन पोर्टललाई विश्वास गरिहाल्न सक्ने अवस्था छैन । अन्य बस्तुको तुलनमा हस्तकलाका सामान महँगो भएकाले सुरक्षाको ’bout पनि सोच्नुपर्ने महासंघको धारणा छ । महासंघका अनुसार अझै नेपालका धेरैजसो उद्योगहरू आयातित कच्चा पदार्थमा आधारित छन् । तर हस्तकला भनेको विशुद्ध रूपमा आफ्नै कच्चा पदार्थ, स्वदेशी उत्पादन, स्वदेशी हात, स्वदेशी सीप र स्वदेशी रोजगारसँग जोडिएको क्षेत्र हो ।
त्यसैले यसमा सरकारले विशेष ध्यान दिनुपर्ने महासंघको माग छ । हस्तकला महासंघले हरेक वर्ष २८ मंसिरमा विभिन्न प्रवर्धनात्मक कार्यक्रमकासाथ हस्तकला दिवस मनाउँदै आएको छ ।









