काठमाडौं । नाङ्लो बेकरी प्रालिले उत्पादन गरेको ‘क्रोइसन्ट’ मापदण्डविपरीतको भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।
अखाद्य भेटिएपछि बजारबाट उत्पादन फिर्ता लैजान निर्देशन
नाङ्लोका उत्पादनमा अखाद्य पदार्थ भेटिएसँगै ब्रान्डका नाममा उपभोक्तामाथि भइरहेको गम्भीर खेलबाडसमेत बाहिर आएको छ ।
नाङ्लो बेकरीले उत्पादन गर्ने ‘क्रोइसन्ट’मा मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने औद्योगिक ट्रान्स फ्याट मापदण्डभन्दा अत्यधिक भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तत्काल बजारबाट फिर्ता (रिकल) गरी बिक्री वितरण रोक्न आदेश दिएको छ ।
विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) र उपदफा (४) बमोजिम नाङ्लो बेकरीका उत्पादनहरू बजारबाट फिर्ता लिन र बिक्री वितरणमा रोक लगाउन आदेश दिएको हो ।
विभागले ललितपुर महानगरपालिका–१४ गोदावरीमा रहेको नाङ्लो बेकरी प्रालिबाट उत्पादित क्रोइसन्टको नमुना बजार अनुगमनका क्रममा संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा औद्योगिक ट्रान्स फ्याटको मात्रा २ प्रतिशतभन्दा बढी रहेको पाइएको थियो ।
यो मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । कम्पनीको ब्याच नम्बर–९१ उत्पादन मिति ३ डिसेम्बर २०२५ र उपभोग्य मिति १० डिसेम्बर २०२५ रहेको क्रोइसन्टको नमुना परीक्षणमा अखाद्य पदार्थ भेटिएको हो ।
नाङ्लोको उत्पादन न्यून गुणस्तरको उत्पादन मात्र नभई उपभोक्ताको स्वास्थ्य सुरक्षासँग जोडिएकाले बेचबिखन रोकेर बजारबाट फिर्ता ल्याउन भनेको विभागको भनाइ छ ।
औद्योगिक ट्रान्स फ्याटलाई आंशिक हाइड्रोजनेटेड तेलबाट उत्पादन गरिन्छ । यसलाई मुटुरोग, मधुमेह, उच्च रक्तचाप र अन्य दीर्घकालीन रोगहरूको प्रमुख कारक मानिएकाले विश्वभर प्रतिबन्धित गरिएको छ ।
उपभोक्ताको स्वास्थ्य जोखिम बढेपछि नेपालमा २०८१ सालदेखि खाद्य पदार्थमा ट्रान्स फ्याटको मात्रा २ प्रतिशतभन्दा बढी राख्न पूर्णप्रतिबन्ध गरिएको छ ।
ट्रान्स फ्याटसम्बन्धी मापदण्ड लागू भएको लामो समयपछि पनि ठूला ब्रान्डले पूर्ण पालन नगरेको भन्दै यसलाई उपभोक्ता स्वास्थ्यप्रति गम्भीर लापर्बाहीका रूपमा उपभोक्ता अधिकारकर्मी, स्वास्थ्यकर्मी तथा खाद्य विज्ञहरूले गम्भीर लापर्बाही भनेका छन् ।
नाङ्लो ब्रान्डले ट्रान्स फ्याटसम्बन्धी कानुन उल्लंघन गरी मानव स्वास्थ्यमा जोखिम निम्त्याएकाले कम्पनीका उत्पादन बजारबाट फिर्ता गरेर मात्रै नहुने उपभोक्ता अधिकार र स्वास्थ्य जोखिम निम्त्याएको कसुर कारबाही हुनुपर्ने अधिकारकर्मी तथा अधिवक्ता नारायण भण्डारी बताउँछन् ।
अन्य ब्रान्डका खाद्य पदार्थमा पनि औद्योगिक ट्रान्स फ्याट र अखाद्य पदार्थको मिसावट रहेको विषयमा विभागद्वारा सूक्ष्म ढंगले अनुसन्धान गर्न उनको आग्रह छ । विश्व स्वास्थ्य संगठनले औद्योगिक रूपमा उत्पादित ट्रान्स फ्याटलाई स्वास्थ्यका लागि अत्यन्त हानिकारक मान्दै यसलाई विश्वव्यापी रूपमा हटाउन सन् २०१८ बाट सुरु गरी सन् २०२३ सम्ममा विश्वव्यापी खाद्य आपूर्तिबाट औद्योगिक ट्रान्स फ्याट हटाउने लक्ष्य राखेको थियो ।
ट्रान्स फ्याटले हृदय रोगको जोखिमलाई २१ प्रतिशतले र मृत्युको जोखिमलाई २८ प्रतिशतले बढाउँछ । डब्लूएचओको प्रतिवेदनअनुसार ट्रान्स फ्याटको सेवनबाट विश्वव्यापी रूपमा प्रत्येक वर्ष ५ लाख मानिसको प्रिमेच्योर मृत्यु भएको छ । जसमा मुख्य रूपमा हृदय रोग (कोरोनरी हार्ट डिजिज)बाट हुने गर्छ ।
नेपालमा नसर्ने रोगहरूबाट हुने मृत्युको ६९ प्रतिशतलाई यसले सम्बोधन गर्दै दिगो विकास लक्ष्यअन्तर्गत नसर्ने रोगको मृत्युदर एक तिहाइ घटाउने लक्ष्यमा योगदान दिने अपेक्षा गरिएको छ ।
ट्रान्स फ्याट चिल्लो पदार्थ हो, जसलाई मुख्य रूपमा औद्योगिक प्रक्रियाबाट तरल तेललाई ठोस बनाउने क्रममा उत्पादन गरिन्छ । यो मुख्य रूपमा मार्जरिन, बेकरी उत्पादनहरू, फास्ट फुड र प्रशोधित खाद्य पदार्थहरूमा पाइन्छ । ट्रान्स फ्याटको अत्यधिक सेवनले स्वास्थ्यमा गम्भीर नकारात्मक प्रभाव पार्छ, जसलाई विभिन्न वैज्ञानिक अध्ययनले पुष्टि गरेका छन् । यसले मुख्य रूपमा हृदय रोग, मधुमेह र अन्य दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउने गर्छ ।
ट्रान्स फ्याटले रगतमा खराब कोलेस्ट्रोलको स्तर बढाउँछ र राम्रो कोलेस्ट्रोलको स्तर घटाउँछ । यसले धमनीहरूमा प्लाक जम्मा हुने प्रक्रिया (एथेरोस्क्लेरोसिस)लाई बढावा दिन्छ, जसबाट हृदयाघात, स्ट्रोकको जोखिम बढ्छ ।
अध्ययनअनुसार दैनिक कुल क्यालोरीको २ प्रतिशत ट्रान्स फ्याटबाट आउँदा हृदय रोगको जोखिम २३ प्रतिशतसम्म बढ्नसक्छ । ट्रान्स फ्याटले मधुमेहका रोगीलाई इन्सुलिन प्रतिरोध बढाउँछ, जसले टाइप २ मधुमेहको जोखिम बढाउँछ । विशेषगरी अधिक वजन भएका वा मधुमेहका रोगीमा यसको प्रभाव बढी देखिन्छ । यसले मेटाबोलिक सिन्ड्रोमलाई पनि बढाउँछ, जसमा उच्च रक्तचाप, उच्च रगतको चिनी र मोटोपन समावेश हुन्छ ।






