पर्यटकको आकर्षणको केन्द्र बन्दै ‘किरातेश्वर ढुङ्गे बगैँचा’

भोजपुर । ऐतिहासिक धार्मिक पर्यटकीय स्थल किरातेश्वर ढुङ्गे बगैँचा पर्यटकको रोजाइँको गन्तव्य बनेको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको यो स्थानमा पर्यटक लक्षित गरेर पदमार्गसँगै आवश्यक संरचना निर्माण गरिएपछि पर्यटकको रोजाइँको गन्तव्य बनेको हो ।

यहाँका तीन वटा ऐतिहासिक क्षेत्र किरातेश्वर ढुङ्गे बगैँचा, पाँचधारे पोखरी र सिंहदेवी देवस्थललाई एकीकृत पर्यटकीय क्षेत्रको अवधारणा अनुसार विकास गर्ने कार्य भइरहेको छ ।

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर दीर्घकालीन महत्वका साथ विकास तथा विस्तारको काम भइरहेको टेम्केमैयुङ–९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताए । पर्यटकीय क्षेत्रको विकाससँगै यो स्थान आन्तरिक पर्यटकको लागि रोजाइँको गन्तव्य बनेको उनको भनाइ छ ।

पर्यटकलाई लक्षित गरेर किरातेश्वरमा पदमार्ग, किराती चुलाघर, विश्राम स्थल, चौतारा, साखेवा पोखरीलगायतका संरचना निर्माण गरिएको छ ।

त्यस्तै, पाँचधारे पोखरीको संरक्षण र सिंहदेवी देवस्थलमा सांस्कृतिक भवन निर्माण गरिएको वडाध्यक्ष माङ्गपाहाङ्गले जानकारी दिए । ‘पर्यटकलाई लक्षित गरेर विभिन्न संरचना निर्माण गरेका छौँ,’ उनले भने, ‘अहिले यो क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । यसलाई यहाँको मुख्य पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य छ ।’

पाँचधारे पोखरीको ऐतिहासिक स्वरूपलाई यथावत राख्दै जीर्णोद्धार तथा संरक्षण गरिएको उनको भनाइ छ । पाँचधारे क्षेत्रलाई एकीकृत पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न योजनाबद्ध रूपमा काम थालिएको पनि उनले बताए ।

किरातेश्वर ढुङ्गे बगैँचा र ऐतिहासिक पाँचधारे पोखरीको ठूलो धार्मिक महत्व रहेको स्थानीय अधिराज राईले बताए । किरातेश्वर ढुङ्गे बगैँचा किरातीहरूको आस्था केन्द्रको रूपमा रहेको उनले जानकारी दिए । यसको विकास तथा संरक्षणले यहाँको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाइ छ ।

‘किरातेश्वर ढुङ्गे बगैँचा र पाँचधारे पोखरी ऐतिहासिक धार्मिक महत्व बोकेका स्थल हुन्,’ उनले भने, ‘यहाँ पर्यटकलाई लक्षित गरेर विभिन्न संरचना बनेका छन् । यसले यहाँको पर्यटन विकासमा टेवा पुगेको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

epaper

ताजा समाचार

डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै