लमजुङ । लमजुङमा खेलाइने सर्वाधिक राशिको फुटबल प्रतियोगिताको ३३ औं त्रीवेणी कप फुटबल प्रतियोगिताको उपाधि एपिएफको विभागीय क्लव, काठमाडौंले जितेको छ । फाइनल खेलमा एपिएफले लमजुङको लाङ्दीदेवी युवा क्लवलाई २– ० गोल अन्तरले हराउँदै विजयी भएको हो ।
जिल्ला सदरमुकाम बेसीशहरको सहजी खेल मैदानमा भएको ३३ त्रीवेणी कप फुटबल प्रतियोगिताको फाइनल खेलमा २– ० गोल अन्तरले एपिएफले लाङ्दीदेवी नाल्मालाइ हराउँदै लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । एपिएफले आमन्त्रित टिमका रुपमा खेल्न गत वर्षदेखि यस प्रतियोतिगामा भाग लिन थालेको हो ।
लगातारको सफलता, अनुशासन र टिमवर्कको शानदार उदाहरण भएको एपिएफका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताए । गत वर्ष भने एपिएफले बिवाईसी भोटेओडार, लमजुङलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै उपाधि हात पारेको थियो ।

यसपल्ट भने एपीएफलाई उतिको संघर्ष गर्नु परेन । करिब ७ वर्षपछि एपिएफ फर्किएका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले निर्धारित समयमै एपीएफलाई उपाधि चुम्न सफल भए । त्यसका लागि एपीएफको जितमा युवराज खड्का र प्रदीप लामाले गोल गरे । खेलको ७७ औं मिनेटमा युवराजको गोलमार्फत एपीएफले सुरुवाती अग्रता लिएको थियो । त्यसको ८६ मिनेटपछि प्रदीपले अर्को गोल थप्दै २–० को अन्तरले आफ्टो टिमलाई सहज जित हात पारेका हुन् ।
सो प्रतियोगिताको समापन गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेकको प्रमुख आतिथ्यतामा भएको थियो । पुरस्कार वितरण गर्दै उनले उक्त प्रतियोगिता निरन्तर ३३ वर्षसम्म सञ्चालन गर्नु त्यो पनि यति धेरै पुरस्कार राशिका साथ भन्दै आयोजकको प्रशंसा गरे । मुख्यमन्त्री पाण्डेले यति धेरै मान्छे गण्डकी प्रदेशको कुनै खेलमा पनि उपस्थित आफूले नदेखेको बताउँदै प्रदेश सरकारले खेल क्षेत्रलाई प्राथमिकता राख्दै यसको विकासमा लागिपरेको बताए ।
खेलको माध्यमबाटै युवाहरूको प्रतिभा पहिचानसँगै खेडालीलाई व्यवसायिक रुपमा स्थापित गर्ने, नाम र दाम दुवै कमाउने अवस्थामा सृजना गर्न खेल विकासमा प्रदेश सरकार लागिपरेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो । तीनवर्ष लगातर त्रिवेणी पकको समापनमा उपस्थित भइरहँदा सहजी खेलमैदान स्तरोन्नतीका गतवर्ष आफूले प्रतिवद्धता गरे अनुसार बजेट उपलव्ध नभएकाले यो वर्ष सो बजेट उपलव्ध हुनेमा विश्वस्त रहन आग्रह गरे ।

उनले आयोजकलाई नगरपालिकालाई प्रदेश सरकारसँग समन्वय गरी पूर्ण साईजको खेल मैदान अर्थात रङ्गशालामा परिणत गर्न निर्देशन दिए । अर्को एक प्रसङ्गमा पछिल्लो समय युवा पुस्ताले सामाजिक सञ्जालदेखि अन्य ठाउँमा मनलाग्दी बोल्दा समाजमा नकारात्मक असर परेकोप्रति चिन्ता व्यक्त गर्दै सबैले सोच विचारका साथ सकरात्मक धारणा मात्र व्यक्त गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा आयोजक क्बलको संस्थापक कोषाध्यक्ष एवम् पूर्वअध्यक्ष समेत रहेका गण्डकी प्रदेश सरकारका वन तथा वातारण मन्त्री भेषबहादुर पौडेलले स्थापनाकालीन इतिहासको स्मरण गरेका थिए । कार्यक्रममा एन्फाका अध्यक्ष पकंज विक्रम नेम्बाङले खेलको विकासको लागि सवै निकायको साथ र सहकार्य आवश्यक रहेको बताए ।
प्रतियोगिता उपाधी विजेता एपिएफले १२ लाख पुरस्कार राशी सहित त्रिवेणी कप, स्वर्णपदक हात पारेको छ । प्रतियोगिताको उपविजेता लाङदीदेवी युवा क्लव नाल्माले ६ लाख रुपैया सहित, रजतपदक हात पारेको छ ।
प्रतियोगिता अवधिभर समान ३-३ गोल गरेर एपिएफ क्लवका समिर थोकर र प्रदिप लामा सर्वाधिक गोलकर्ता घोषित भएर नगद २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेका छन् । यसैगरी एपिएफका गोल किपर एञ्जल श्रेष्ठ वेष्ट गोेलकिपर घोषित भएर नगद २५ हजार रुपैयाँ ट्रफी पाए । एपीएफकै खेलाडी सन्तोष खत्री फाइनाल खेलको म्यान अफ दि म्याच घोषित भई नगद १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिएको आयोजक त्रिवेणी युुवा क्लवका अध्यक्ष टेकजंग गुरुङले बताए । उनका अनुसार गत वर्षसम्म सेमिफाइनलमा पराजित दुई टोलीलाई प्रदान गरिँदै आएको २–२ लाख रुपैयाँको पुरस्कार भने यस वर्ष हटाइएको छ ।
आयोजक क्लवका अध्यक्ष टेकजंग गुरुङको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा संविधान सभा सदस्य जमिन्द्रमान घले, प्रदेश सदस्य, पार्वती तामाङ, मुनिन्द्रजंग गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङ, प्रमुख जिल्ला अधिकारी उमेश ढुंगाना, सहित पालिका प्रमुख तथा अध्यक्षहरू, प्रहरी नायव उपरिक्षक रेशम बोहरा, वडाअध्यक्षहरू विभिन्न कार्यालय र संघ सस्थाका प्रमुख एवम् प्रतिनिधिका साथ जिल्ला भित्र र वाहिरका गरी हजारौँ खेलप्रेमी दर्शकको सहभागिता रहेको थियो ।
क्लवका पूर्व अध्यक्ष विनोद गुरुङले सञ्चालन गरेको समापन कार्यक्रममा क्लवका उपाध्यक्ष खुशीजङ गुरुङले स्वागत मन्तव्य राखेका थिए । हरेक वर्ष पुस १२ देखि सुरु गरिने ३३ औँ त्रिवेणी कप राष्ट्रिव्यापि फुलबल प्रतियोगितामा ६ आमन्त्रित सहित १६ टिमले भाग लिएका थिए । उक्त प्रतियोगिता १० दिनसम्म सञ्चालन गरिएको थियो ।







