बुटवल । कोभिड–१९ को ‘इपिसेन्टर’ बनेको प्रदेश पाँचमा निको हुनेको संख्या पनि बढदै गएको छ । बाँकेको खजुरास्थित सुुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट शुक्रबार २१ जनाको कोरोनो जितेको भोलिपल्ट शनिबार साँझ रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालबाट पनि एकसाथ १० जना संक्रमित निको भएर घर फर्किएका हुन् । निको हुने सबै कपिलवस्तुका छन । प्रदेश पाँचमा कोरोना जितेर घर फर्किनेको संख्या ३२ पुगेको छ भने नेपालमा ८७ छन् । प्रदेश पाँचमा सबैभन्दा धेरै कोरोना संक्रमित छन् । त्यसमध्ये रुपन्देहीमा कोरोना संक्रमित ४६ जना पुगेको छ ।
भारतबाट लुुकिछिपी आएकामा संक्रमण बढी देखिएको बताइन्छ । दुई साताअघि अस्पताल भर्ना संक्रमितको लगातार दुई पटकको रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुुटवल धागो कारखानस्थित कोरोना विशेष अस्पतालका फोकल पसर्न तथा वरिष्ट कन्सलटेन्ट डा. सुुदर्शन थापाले जानकारी दिए । उनले भने, ‘बिरामीलाई निको बनाएर पठाउँदा खुसी लागेको छ ।’
निको भएर जानेहरुले ‘कोरोनाबाट डराउनुपर्दैन, सजिलै जिन्त सकिन्छ’ भन्ने सन्देश पनि दिएको उनी बताउँछन् । अब आइसोलेसन नपाएर क्वारेन्टाइनमा राखिएको संक्रमितलाई राखिने जनाइएको छ । धागो कारखानको कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुका ३६ जनाले उपचार गराइरहेका थिए ।
यसअघि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा निको भएर घर गइसकेको छन् । प्रदेश पाँचको कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै २ सय ७१ छ । जसमध्ये निको ३२ जना र २ जनाले ज्यान गुमाएका छन् ।
लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डन डा. राजेन्द्र खनालले मानिस अनुशासनमा बस्ने सकेमा कोरोना संक्रमण रोक्न सकिने बताए । लकडाउनको पालना गरेर घरमै बस्नुपर्ने र सरसफाइमा ध्यान दिनुपर्ने उनको भनाइ छ । धागो कारखानामा २ सय बेड थप गरिदै छ । त्यस्तै बुटवल ११ देविनगरस्थित एन्फा एकेडेमीमा पनि ५० बेडको आइसोलेन सेन्टर बनाइएको छ ।






