बक्स अफिसमा दयाहाङ र सौगात दुवै असफल

काठमाडौं । गत साता माघे संक्रान्तिलाई लक्षित गरेर एकसाथ रिलिज गरिएका तीन नेपाली चलचित्र ‘मिरमिरे’, ‘भाइरल गोर्खे’ र ‘गोबर गणेश’ को १० दिनको व्यापार चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको छ । बोर्डको शनिवार रातीसम्मको रिपोर्ट अनुसार यी तीन वटै चलचित्र व्यावसायिक रूपमा पूर्ण घाटामा जाने देखिएका छन् । एकपछि अर्को सफल चलचित्र दिएका दयाहाङ राईको चलचित्र ‘मिरमिरे’ समेत यति बेला बक्स अफिसमा सुस्ताएको छ ।

दयाहाङ राई र प्रकाश सपुतको मुख्य भूमिका रहेको चलचित्र ‘मिरमिरे’ले १० दिनमा ३३ लाख ७२ हजार रुपैयाँ ग्रस व्यापार गरेको छ । चलचित्र घरमा लागेको १० दिनमा १० हजार ८१३ वटा टिकट बिक्री भएको ‘मिरमिरे’ दयाहाङका चलचित्रहरू मध्य अहिलेसम्म कम व्यापार गर्ने चलचित्रको सूचीमा परेको छ । यम शेर्पा निर्देशित यो चलचित्रको लागत साँढे दुई करोड रहेको छ ।

अर्का अभिनेता सौगात मल्लको चलचित्रको अवस्था पनि उस्तै नाजुक छ । सृष्टि श्रेष्ठसँग सौगातको मुख्य भूमिका रहेको चलचित्र ‘भाइरल गोर्खे’ले १० हजार ६०५ वटा टिकट बिक्रीसहित शनिवार रातीसम्म ३४ लाख ५३ हजार रुपैयाँ ग्रस व्यापार गरेको देखिन्छ । करिब २ करोडको लागतको यो चलचित्र पनि पूर्व असफल साबित भएको छ ।

यस्तै मरीचमान श्रेष्ठ ‘बल्छी धुर्वे’को निर्देशन र मुख्य भूमिका रहेको दुई करोड भन्दा माथि लागतको अर्को चलचित्र ‘गोबर गणेश’ले व्यापारमा दयाहाङ र सौगातलाई दोब्बर भन्दा बढीले पछि पारेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस विवरण अनुसार ‘गोबर गणेश’ले १० दिनमा नेपालको बक्स अफिसमा १ करोड १४ लाख रुपैयाँ ग्रस छ । यो चलचित्रलाई पनि आफ्नो लगानी सुरक्षित गर्न करिब ४ करोडको व्यापार गर्नु पर्ने हुन्छ । अरू चलचित्रको तुलनामा व्यापारमा केही राम्रो देखिए पनि व्यावसायिक रूपमा बल्छी धुर्बे पनि बक्स अफिसमा पूर्ण असफल देखिएका छन् ।

माघमा चिसो बढेको बेला दर्शकहरू चलचित्र घरमा अझै जान चाहेको छैनन् । यस्तो अवस्थामा पनि एकै दिनमा ‘मिरमिरे’, ‘भाइरल गोर्खे’ र ‘गोबर गणेश’ जुधाउँदा आपसी प्रतिस्पर्धाका कारण तीन वटै चलचित्रले व्यावसायिक असफलता भोग्नु परेको चलचित्र वितरकहरूको कथन छ ।

यस्तै बोर्डको रिपोर्ट अनुसार हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित गत ४ पुसमा रिलिज भएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ले पाँचौँ हप्तामा शनिवार रातिसम्म अफिस अफिसमा ३९ हजार २१७ वटा टिकट बिक्रीसहित १ करोड २३ लाख ८८ हजार ८२९ रुपैयाँ ग्रस व्यापार गरेको देखिन्छ । यो पनि अढाई करोड भन्दा माथिको लगानीको चलचित्र हो । सोही कारण यो पनि व्यावसायिक रूपमा असफल भएको देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 104 times, 1 visits today)

epaper

ताजा समाचार

अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक