काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्वबाट उम्मेदवार छन् । ‘जनयुद्ध’ हुँदै शान्ति प्रक्रियापश्चात् पाँचौं पटक निर्वाचनमा सहभागी हुँदैगरेका प्रचण्ड निर्वाचनपिच्छे निर्वाचन क्षेत्र परिवर्तन गर्ने नेतामा पर्छन् ।
प्रचण्डले निर्वाचनपिच्छे निर्वाचन क्षेत्र मात्रै परिवर्तन गर्दैनन्, उनले २०६४ सालको निर्वाचनदेखि २०८२ सालको निर्वाचनसम्म पुग्दा निर्वाचन क्षेत्रका साथै पार्टीको नाम, चुनाव चिन्हसमेत परिवर्तन गरेका छन् ।
निर्वाचन क्षेत्र मात्र नभई पार्टीको नाम नै परिवर्तन गर्ने प्रचण्ड नेतृत्वको पार्टी २०६४ मा नेकपा माओवादी, २०७० मा एकीकृत नेकपा (माओवादी), २०७४ र २०७९ मा नेकपा माओवादी केन्द्रको नामले निर्वाचनमा सहभागी भएकोमा २०८२ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को नामले सहभागी छ ।
निर्वाचन क्षेत्र, पार्टीको नाम, चुनाव चिन्ह परिवर्तन गर्दै निर्वाचनमा सहभागी हुँदै आएका प्रचण्ड नेतृत्वको पार्टीले ल्याउने मत र सिट संख्या निरन्तर घट्दो क्रममा रहेको छ । २०६४ यता ०७०, ०७४ र ०७९ मा गोलाकारभित्र हँसिया हतौडा चिन्हमा चुनाव लडेको प्रचण्ड नेतृत्वको पार्टी २०८२ मा तारा चिन्हबाट लडिरहेको छ । यसबीचमा प्रचण्डले परिवर्तन गर्न नसकेको एक मात्र ‘पार्टी प्रमुख’ हो । कहिले अध्यक्ष त कहिले संयोजक बन्दै प्रचण्ड सधैँ पार्टी प्रमुखको जिम्मेवारीमा छन् ।
निर्वाचन क्षेत्र फेर्दै फेर्दै चुनाव लड्ने नेताको रूपमा प्रचण्डलाई अस्थिर नेताको आरोप लागिरहँदा उनी आफू भने गतिशील र सिंगै देशको साझा नेता भएको दाबी गर्छन् । २०६४ मा काठमाडौं–१० बाट चुनाव लडेका उनी २०७० मा सिराहा र काठमाडौंबाट चुनाव लडे । काठमाडौंबाट हारेका उनी सिराहाबाट जितेर संसदमा आए । २०७४ मा चितवनबाट चुनाव लडेका थिए भने २०७९ मा गोरखा–२ बाट चुनाव लडेर जिते । हरेक निर्वाचनमा क्षेत्र बदल्ने उनी अहिले रुकुमपूर्वबाट उम्मेदवार भएका छन् ।
पार्टी प्रमुखबाहेक सबै परिवर्तन गरिसकेका प्रचण्ड नेतृत्वको तत्कालीन माओवादी केन्द्र पछिल्लो निर्वाचन (२०७९) मा ३२ सिट ल्याएर तेस्रो ठूलो दल बन्यो । तेस्रो ठूलो दल भए पनि उनले सरकारको नेतृत्व गर्ने अवसर पाए ।
२०५२ सालमा सशस्त्र संघर्ष सुरु गर्दा प्रचण्ड नै नेतृत्वमा थिए । सशस्त्र संघर्ष छोडेर २०६३ सालपछि शान्तिपूर्ण राजनीतिमा आएका प्रचण्ड नेतृत्वको पार्टी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा सहभागी भयो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडा लिएर २०६४ सालको निर्वाचनमा सहभागी भएको प्रचण्ड नेतृत्वको पार्टी २ सय २० सिटसहित सबैभन्दा ठूलो दल बन्यो । प्रत्यक्षतर्फको २ सय ४० सिटमध्ये १ सय २० र समानुपातिक तर्फ १ सय सिट माओवादीले ल्यायो । समानुपातिकतर्फ २९ दशमलव २८ प्रतिशत मत ल्याएर माओवादी ठूलो दल भएको थियो । तर दोस्रो संविधानसभा निर्वाचन (२०७०) मा सहभागी हुँदै गर्दा प्रचण्ड नेतृत्वको पार्टीको नाम मात्रै परिवर्तन भएन, माओवादीको लोकप्रिय मतसमेत घट्यो । नेकपा (माओवादी) बाट एकीकृत नेकपा (माओवादी) भयो । चुनाव चिन्ह भने परिवर्तन भएन ।
२०७० सालको निर्वाचनमा प्रत्यक्षतर्फ २ सय ४० सिटमध्ये माओवादीले २६ ल्यायो । समानुपातिकतर्फ १५ दशमलव २१ प्रतिशत मतसहित ५४ सिट पायो । दोस्रो संविधानसभा निर्वाचनमा माओवादी ८० सिटमा सीमित भयो । पहिलो संविधानसभामा पहिलो भएको माओवादी दोस्रो संविधानसभा निर्वाचनबाट तेस्रो ठूलो दल भयो । २०६४ र २०७० को निर्वाचनमा ६ सय १ सिट थियो । २०७२ सालमा संविधान जारी भएपछि सिट संख्या नयाँ संविधानअनुसार हेरफेर भयो । संविधान जारी भएपछि प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० सिटअनुसार निर्वाचन भयो ।
संविधानसभाबाट संविधान घोषणा भएपछि नयाँ संविधानअनुसार भएको पहिलो निर्वाचन (२०७४) मा माओवादी पार्टीको नाम परिवर्तन गर्दै नेकपा (माओवादी केन्द्र) भयो । चुनाव चिन्ह भने परिवर्तन गरेन । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रले एमालेसँग गठबन्धन गर्दै निर्वाचनमा सहभागी भएको थियो । माओवादी केन्द्र प्रत्यक्षतर्फको १ सय ६५ सिटमध्ये ३६ सिटमा विजयी भयो । समानुपातिकतर्फ १५ प्रतिशतको हाराहारीमै मत ल्यायो । प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फको १७ गरी माओवादी केन्द्रको सिट संख्या ५३ थियो ।
२०७९ सालको निर्वाचनसम्म पुग्दा माओवादीले अघिल्लो निर्वाचनमा सहभागी हुँदा पार्टीको नाम र चुनाव चिन्हलाई नै कायम राख्यो । तर चुनावी गठबन्धन परिवर्तन ग¥यो । अघिल्लो निर्वाचनमा एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्रले २०७९ सालको निर्वाचनमा कांग्रेस, तत्कालीन नेकपा (एकीकृत समाजवादी) सहितका दलहरूसँग पाँचदलीय गठबन्धन ग¥यो ।
प्रत्यक्षतर्फको १ सय ६५ मध्ये १८ र समानुपातिकतर्फ १४ गरी माओवादी ३२ सिटमा सीमित भयो । २०७९ को निर्वाचनमा एकीकृत समाजवादीसँग चुनावी गठबन्धन गरेको माओवादी अहिले पार्टी एकता गर्दै २०८२ को सालको निर्वाचनमा सहभागी हुँदैछ । एकीकृत समाजवादीसहित विभिन्न दल र समूहसँग माओवादीले पार्टी एकीकरण गरेको छ ।
यो निर्वाचनमा सहभागी हुँदै गर्दा माओवादीको नाम र चुनाव चिन्ह परिवर्तन भइसकेको छ । प्रचण्ड संयोजक रहेको पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र चुनाव चिन्ह तारा भएको छ । पार्टीनेतृत्वबाहेक सबै परिवर्तन गरिसकेका प्रचण्ड २१ फागुनको निर्वाचनमा सबैभन्दा ठूलो दल बन्ने दाबीसहित चुनावी महाअभियानमा होमिएका छन् ।
प्रत्येक निर्वाचनमा चुनाव चिन्ह, दल, निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएका प्रचण्ड नेतृत्वको दलले मत प्रतिशत र सिट संख्या बढाउन नसके पनि आगामी निर्वाचनबाट ठूलो दल बन्ने दाबी भने गरेको छ । प्रचण्ड नेतृत्वको दल यसबीचमा पटक–पटक विभाजन र एकताको अभ्याससमेत राम्रैसँग गर्नेमा पर्छ ।





