राजविराज । जिल्ला कै सर्वाधिक मतदाता रहेको सप्तरीको निर्वाचन क्षेत्र नं.१ मा १ नम्बर मै रहेर प्रतिनिधी सभासदस्य पद हात पार्ने प्रयासमा विभिन्न राजनितिक दल र स्वतन्त्र गरी २१ जना उम्मेदवार चुनावी मैदानमा भिडेका छन । ४ प्रतिनिधी सभा क्षेत्र रहेको जिल्लामा सर्वाधिक १ लाख १९ हजार ४३ मतदाता यसै निर्वाचन क्षेत्रमा रहेका छन । यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्रका गरी ५ महिला सहित २१ जना उम्मेदवार चुनावी मैदानमा छन । यहाँ यस पल्ट निर्वाचन आयोगमा दर्ता भएका नया दल स्वभिमानले पार्टीबाट इ.सुमित कुमार साह, जनमत पार्टीबाट डा.जयकान्त राउत, नेपाली काँग्रेसबाट रामदेव साह, रास्वपाबाट पुस्पा चौधरी, नेकपा एमालेबाट सुमन राज प्याकुरेलबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।
यस क्षेत्रमा अघिल्लो निर्वाचनमा जसपा नेपालका तर्फबाट उम्मेदवार भएका नवल किशोर साहले जितेका थिए । यस पल्ट उनको छोरा इ.सुमित नयाँ दल स्वभिमान पार्टीबाट उम्मेदवार बनेर चुनावी मैदानमा ओर्लेका छन ।
उनी आफु र आफनो परिवारले यस क्षेत्रको विकासका लागी गरेको योगदान नै जीतको आधार रहेको प्रस्ट पारेका छन । उनले मनोनयन दर्ता दिने देखी आफनो पक्षमा स्वतफुर्त रुपमा जनलहर देखिएको र त्यो जनलहर मतदान सम्म कायम रहने दावी गरेका छन ।
यस क्षेत्रबाट जनमतका अध्यक्ष डा.सिके राउतका दाजु डा.जयकान्त राउत पनि प्रतिस्पर्धामा छन । अघिल्लो निर्वाचनमा दोश्रो स्थानमा रहेका उनी यस पल्ट मतदाताले आफुलाई विश्वास गर्ने र जीत निकाल्ने विश्वास ब्यक्त गर्दै आएका छन । अघिल्लो निर्वाचनमा तेश्रो स्थानमा सिमित भएका नेपाली काँग्रेसका जिल्ला सभापती रामदेव साह यस पल्ट पनि उम्मेदवार बनेका छन । उनी यस पल्ट आफनो पक्षमा माहौल बन्दै गएकोले तेस्रो स्थानबाट उक्लेर पहिलो स्थानमा पुग्ने विश्वास रहेको सुनाए ।
दोश्रो पल्ट पनि पराजीत भई तेश्रो पटक नेकपा एमालेबाट उम्मेदवार बनेका सुमनराज प्याकुरेलल तेश्रो प्रयास सफल हुने बताउँछन । जितेकाले केही गर्न नसकेको भन्दै उनले यस पल्ट आफु जितेर क्षेत्रको विकास गर्ने मतदाता समक्ष वाचा गर्दै हिडेको र मतदाताले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको बताएका छन । यद्यपी एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेता महेश वस्नेतले हालै मधेश सम्बन्धी दिएको विवादस्पद अभिब्यक्तीले उनलाई घाटा पु¥याउने स्थानीय मतदाताको भनाई छ ।
रास्वपाबाट उम्मेदवार बनेकी पुस्पा चौधरी अहिले पार्टी प्रति आर्कषण बढ्दै गएको र घण्टीको पक्षमा जनलहर नै चलेको दाबी गर्दै उक्त जनलहरको फाईदा आफुलाई पनि मिल्नेमा ढुक्क रहेको बताउँछिन ।
यस क्षेत्रबाट नेकपाका रविन्द्र चौधरी, जसपा नेपालका श्यामसुन्दर सरदार, उज्यालो नेपाल पार्टीका हर्खनारायण चौधरी, राप्रपाका सत्यजित कुमार झा, नेपाल जनता पार्टीका दिपेन्द्र प्रसाद यादव, नेपाल जनता संरक्षणपार्टीका खेमराज जैशी, नागरिक उन्नमुक्ति पार्टीका टिका लक्ष्मी चौधरी, राष्ट्रिय एकता दलका शम्भु प्रसाद यादव र ५ स्वतन्त्र गरी २१ जना उम्मेदवार पहिलो स्थान प्राप्त गर्नेमा प्रयासरत छन् । यस क्षेत्रमा कञ्चनरुप नगरपालिका, सप्तकोशी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, अग्निसाइर कृष्णासवरन गाउँपालिका र तिरहुत गाउँपालिका गरी ५ पालिका पर्दछ ।











