१० दिनको कन्सर्ट टुंग्याएर पार्टी प्रवेश गर्दै निर्वाचनमा उत्रिए प्रकाश सपुत

काठमाडौं । आफ्नो पछिल्लो चलचित्र ‘मिरमिरे’को रिलिज र विभिन्न सांगीतिक कन्सर्टका कारण अभिनेता एवम् गायक प्रकाश सपुतले आफ्नो राजनीतिक पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ (रास्वपा)लाई समय दिन सकेका थिएनन् । यी अभिनेताले यति बेला बल्ल रास्वपा प्रवेश गरेका छन् ।

उनी दुई साता अघि नै रास्वपाबाट समानुपातिक सूचीमा परेका थिए । कार्य व्यस्ताका कारण तर पनि उनले पार्टी प्रवेश गर्न भ्याएका थिएनन् । यति बेला बल्ल उनी औपचारिक रूपमा यो पार्टीमा जोडिएका छन् ।

यस अघि नेकपा एमालेमा आबद्ध रहेका प्रकाश सपुतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको ’boutमा एउटा कार्यक्रममा प्रशंसा गर्दा धेरै दर्शकले उनको चलचित्र ‘वसन्त’ गत वर्ष बहिष्कार गरेका थिए । एमाले भएकै कारण ठुलो आर्थिक क्षति भोगेका उनले सोमबार रास्वपा अध्यक्ष रबी लामिछाने र वरिष्ठ नेता बालेन शाहसँग भेट गरे । दुई नेता रबी र बालेनलाई भेटेको तिनै तस्बिर मंगलबार आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले आफू रास्वपामा प्रवेश गरेका खुलाएका छन् ।

उनले सामाजिक सञ्जालमा रास्वपाका तर्फबाट मतदातालाई सम्बोधन गर्दै लेखेका छन्, ‘आदरणिय मतदाता, आजको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनैतिक व्यवस्था र नयाँ संविधान ल्याउन योगदान दिने सम्पूर्ण सहिद, सबै राजनैतिक दल र अग्रज नेताहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै, सम्पूर्ण नेपालीहरूको आफ्नो व्यक्तिगत राजनैतिक आस्था र विचारको कदर गर्दै, कसैलाई अपमान र अनादर नगर्ने प्रतिबद्धता सहित नयाँ समय र नयाँ आन्दोलनको सम्बोधन गर्न नयाँ राजनैतिक शक्ति स्थापित गराउन खुलेर सरिक हुने÷सहयोग गर्ने निधो गरेको छु ।’

चुनावी प्रचारमा उत्रन नभ्याए पनि गायक प्रकाशले सांगीतिक कन्सर्टमा पुगेर रास्वपालाई घण्टीमा भोट दिनको लागि अनुरोध गर्न छाडेका छैनन् । १ माघबाट विभिन्न मेला महोत्सवमा पुगेका उनले आइतबार आफ्नो सांगीतिक कार्यक्रम टुंग्याएका छन् । आइतबार सिन्धुली महोत्सवमा आफ्ना गीत प्रस्तुत गर्ने क्रममा गायक एवम् अभिनेता प्रकाशले दर्शकहरूसँग खुलेरै यसपालि घण्टीमा मतदान गर्न अनुरोध गरे । विगत १० दिन यताबाट अर्घाखाँचीको सन्धिखर्क, नवलपरासीको देव चुली, पोखराको अमरसिंह चोक, स्याङजाको चापाकोट, महेन्द्रनगरको कञ्चनपुर, बर्दियाको राजापुर र बासगढी, कैलालीको टिकापुर, दाङको लाल मटिया र सिन्धुली बजारमा आयोजित मेला महोत्सवमा प्रकाशले आफ्नो गीत संगीत प्रस्तुत गरे । यी हरेक कन्सर्टमा प्रकाशले घण्टीमा भोट मागेका थिए ।

अभिनेता एवम् गायक प्रकाशले एक कलाकारको रूपमा दर्शकहरू माझ पुगेर आफूले यस पटकको कन्सर्ट सम्पन्न गरेको बताएका छन् । सबै कन्सर्ट सम्पन्न गरेर काठमाडौँ फर्किएका उनले मंगलबारबाट आगामी २१ फागुनसम्म पूर्ण रूपमा राजनीतिक क्षेत्रमा उत्रने बताएका छन् । यो अवधिमा आफूले अब कुनै पनि चलचित्र र गीत संगीतको काम नगर्ने पनि प्रकाशले जानकारी गराएका छन् ।

कन्सर्ट सकेर काठमाडौँ फर्किएपछि उनले मंगलबार पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनलाई सम्बोधन गर्दै लेखेका छन्, ‘मैले बडो दुःख, संघर्ष, मेहनत र धैर्यताले टिकाएको मेरो कला सिर्जना मार्फत रिझाएका विभिन्न दलमा आस्था राख्ने थुप्रै दर्शक श्रोताको मन दुखाएर तपाईँहरूसँग हातेमालो गर्दै छु । पेसा र व्यावसायिक हिसाबले यो मेरो जीवनकै कठोर निर्णय हो र मेरो यो कठोर निर्णय गलत साबित हुने छैन भन्नेमा मलाई विश्वास छ ।’ उनले अगाडि लेखेका छन्,‘कुनै एउटा दलमा लागेको भनेर अहिले म सँग मन दुखाउने मेरा प्रिय दर्शक श्रोताको मन हामीले हाम्रो काम र इमानले जित्ने छौ । हामी सँगै देशले जित्ने छ ।’

आफूले मेला महोत्सव मार्फत नेपालभरिका लाखौँ नेपालीजनहरु माझ प्रत्यक्ष पुगेर पार्टीको प्रचार गरेको र सामाजिक सञ्जालमा देखे जस्तो उनीहरू उग्र र उत्तेजित नभएको पनि प्रकाशले पार्टी नेताहरूलाई जानकारी गराउँदै लेखेका छन्, ‘तपाईँहरूको उदयसँगै मैले जस्तै अब अन्तिम पटक कसैलाई विश्वास गर्दै छन् । मैले देखँेकी उनीहरु उत्साहित छन् तर ढुक्क छैनन् ! थुप्रै प्रश्न र डर सहित केबल आशावादी छन् ।’

प्रकाशको भनाइमा जो आए पनि सबै उस्तै हुन भन्ने जनताको मनोविज्ञान छ । आफूहरूले सबै उस्तै होइनन्, हामी फरक हौँ भनेर बुझाउन पनि प्रकाशले आफ्ना पार्टीका नेताहरूलाई आग्रह गरेका छन् ।

उनले अगाडि लेखेका छन्,‘राजनीतिको आडमा केही व्यक्ति र शक्तिले बन्धक बनाएको यति सुन्दर व्यवस्थालाई फुकुवा गरेर यो देश, यो व्यवस्था हामी सबैको हो भन्ने अनुभूति गराउनु पर्ने छ । अब विचारको भारी होइन सुधार, विकास र समृद्धिको Þजिम्मेवारी बोक्नु पर्ने छ र कम्तीमा तपाईँहरूको नेतृत्वमा यो देशको सुधार हुनेछ, समृद्ध नेपालको सुरुवात मात्रै भए पनि हुनेछ ।’

आफू त्यो सुधार र समृद्धिको यात्रामा खबरदारी गर्दै साथी र साँची हुन आएको पनि उनले बताएका छन् । अन्तिम पटक आफू र आम नेपालीहरूले रास्वपालाई विश्वास गरेकोले जनतालाई निराश बनाउन रास्वपाका नेताहरूलाई छुट नभएको भन्दै उनले आफ्नो सन्देशमार्फत खबरदारी पनि गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 117 times, 1 visits today)

epaper

ताजा समाचार

अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक