दुधौली अस्पतालमा कार्यरत डाक्टर निकालेर ओपिडी सेवा बन्द

सिन्धुली । दुधौली नगर अस्पताल यति बेला चरम विवादमा छ । अस्पतालमा कार्यरत मेडिकल अधिकृतहरू, दुधौली नगरपालिका र अस्पताल व्यवस्थापनबीच विवाद चुलिँदा अस्पतालको सेवा नै प्रभावित बनेको छ । अस्पतालमा कार्यरत ३ जना मेडिकल अधिकृतहरूलाई बिना कारण जागिरबाट निष्कासन गरेपछि विवाद झनै चर्किएको छ । नगरपालिकाले हाल कार्यरत अन्य ३ जना डाक्टरहरूलाई समेत चरम दबाबमा राखेको र नियम संगत पाउनुपर्ने सेवा सुविधामा समेत विभेद गरेको पाइएको छ ।

अस्पतालमा कार्यरत डाक्टरहरूलाई माघ १ गतेदेखि लागु हुने गरि दुधौली नगरपालिकाका कार्यबाहक मेयर तथा अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका चन्द्रकिशोर थारु र उनको नेतृत्वको समितिले सेवा नविकरण नगरेपछि विवाद बल्झिएको हो । समितिले पुस २४ गतेको निर्णय अनुसार अस्पताल व्यवस्थापन समितिले करार सेवामा नियुक्त गरेका डाक्टरहरु सन्तोष पञ्जियार, पुरुषोत्तम बराल र हिमाल गौतमको करार सेवा नविकरण गरेको थिएन । उनीहरुलाई कार्यसम्पादन मुल्यांकन सन्तोषजनक नभएको भन्दै नविकरण नगर्ने अस्पताल प्रशासनले निर्णय गरेको थियो । अस्पतालका डाक्टरहरुको करार सेवा नविकरण नभएपछि विवाद झनै चर्किँदै गएको छ ।

अस्पतालमा कार्यरत बाँकी रहेका ३ जना मेडिकल अफिसरले मात्र अस्पतालको ओपिडी सेवा, आपतकालिन सेवा लगायतका सेवा सञ्चालन गर्न नसक्ने भएपछि बिहीबार अस्पताल प्रशासनले सूचना जारी गरि शुक्रवारदेखि ओपिडी सेवा बन्द गरेको जनाएको छ ।

शुक्रवारदेखि ओपिडी सेवा बन्द भएपछि दैनिक १ सय देखि १ सय ५० जनासम्म विरामी आउने अस्पतालमा बिरामीहरूले सेवा पाउनबाट वञ्चित भएका छन् । अस्पतालमा हाल कार्यरत ३ जना मेडिकल अफिसर छन् । डा. रमा खपांगी, डा. मन्दिप अधिकारी र डा. मनिष कार्कीले २४ सै घण्टा सेवा सञ्चालन गर्न नसक्ने जनाएपछि अस्पताल प्रशासनले ओपिडी सेवा बन्द गरेको हो ।

यता अस्पताल व्यवस्थापन समितिको अध्यक्ष रहेका दुधौली नगरपालिकाका कार्यवाहक मेयर चन्द्रकिशोर थारुले समितिबाट राजीनामा दिएका छन् । उनले राजीनामा दिएपछि नगरपालिकाका प्रवक्ता समेत रहेका दीपक खड्का शनिवार अस्पताल विकास समितिको अध्यक्ष बनेका छन् ।

नवनियुक्त अध्यक्ष खड्काले अस्पतालमा स्वास्थ्यकर्मीहरूले राजनीति गरेको आरोप लगाएका छन् । उनले स्वास्थ्य सेवा सञ्चालनका लागि दुई जना डाक्टर खोजेर ल्याउने तयारी गरेको बताएका छन् ।

यता अस्पतालमा कार्यरत मेडिकल अफिसरहरूलाई नगरपालिकाले हटाउने तयारी सुरु गरेको खुलेको छ । कार्यपालिका बैठकमा सहमति जुटाउन सकेमा थप ३ जना डाक्टरहरु समेत हटाउन मेयर थारु आफै क्रियाशील रहेको नगरपालिका श्रोतले जानकारी दिएको छ । करार सेवामा रहेका ३० जना भन्दा बढी स्वास्थ्यकर्मीलाई साउनदेखि दोब्बर तलब तथा सेवा सुविधा बढाएको अस्पतालले मेडिकल अफिसरहरूलाई तलब वृद्धि नगरेको, थप सेवा सुविधा नदिएको भन्दै उनीहरू आन्दोलित भएका थिए । उनीहरू असोज देखि नै आफ्नो अधिकारका लागि सङ्घर्षरत थिए । त्यही सङ्घर्षरत डाक्टरहरूलाई अस्पतालले माघ १ गतेदेखि जागिरबाट निष्कासन गरेको हो ।

त्यही आन्दोलनपछि अस्पतालका डाक्टर र अस्पताल विकास समितिको विवाद झनै चुलिएको थियो । असोजमा चिकित्सकको नियमित सेवा, जोखिम र जिम्मेवारी, कार्यसम्पादन सम्बन्धी ६ बुँदे माग राखेका डाक्टरहरु अहिले अस्पताल व्यवस्थापन समिति र नगरपालिकाको तारो बनेका छन् । उनीहरूले जनप्राक्टिस भत्ता, सर्प दंश उपचार भत्ता, प्रोत्साह भत्ता, महँगी भत्ता र गत वर्षको ओभर टाइम ड्युटीको बाँकी बक्यौता भुक्तानीको माग समेत गरेका थिए । डाक्टरहरूले अघिल्लो आर्थिक वर्षको ओभर टाइम बक्यौता समेत भुक्तानी नभएको जनाएका छन् ।

मेडिकल अधिकृतहरूले असोजमा राखेको माग पुरा नभएपछि मङ्सिर १ गतेदेखि केही दिन अस्पतालको ओपिडी सेवा बन्द गराएका थिए । अस्पतालले पटक पटक आफूहरूका माग पुरा गर्ने आश्वासन दिने र बेवास्ता गर्ने गरेको अस्पतालका मेडिकल अफिसर इन्चार्ज रमा खपांगीले बताइन् ।

उनले पछिल्लो समय डाक्टरहरुको विना कारण, विना जानकारी र स्पष्टीकरण समेत दिने अवसर नदिई करार सेवा नविकरण नगर्नु, निरन्तरता उठाएका डाक्टरहरूका मागको बेवास्ता गर्नु, सेवा सुविधामा विभेद गर्नु र अस्पतालमा कामको चाँप अत्यधिक भएको हुँदा सेवा दिन समस्या भएको बताएकी छिन् । अस्पताल प्रशासन र मेडिकल अफिसरका बीचमा भएको विवादका कारण काम गर्ने मनोबल र उत्साह समेत हराउँदै गएको उनले बताइन् । निर्वाचन आचारसंहिता लागेकाले तत्काल डाक्टर आउन सक्ने सम्भावना पनि न्यून रहेको उनले बताएकी छिन् ।

अस्पतालमा कार्यरत डा. मन्दिप अधिकारीले जनशक्ति कम भएकाले अस्पतालको ओपिडी सेवा सञ्चालन गर्न नसकिएको बताएका छन् । तीन जना डाक्टरले ओपिडीका डेढ सय र आपतकालिन सेवा लिन आउने ४०, ५० जना विरामी तीन जनाले हेर्न नसक्ने बताएका छन् । उनका अनुसार अस्पतालको आपतकालिन सेवा र ७० वर्ष माथिका नागरिकलाई सेवा नरोकिएको बताएका छन् । दुधौली नगरपालिकाका कार्यबाहक मेयर चौधरीले दुधौली अस्पतालको विषयमा बोल्न चाहेनन् ।

अस्पताल विवादमा मुछिएपछि दुई जना विशेषज्ञ डाक्टरहरु समेत बिदामा बसेका छन् । यता अस्पतालको विवाद चुलिएपछि र अख्तियारमा नियम बमोजिम भन्दा अत्यधिक सेवा सुविधा लिएको भन्दै दुधौली अस्पतालका प्रमुख डा. सुमनसिंह कार्की विरुद्ध अख्तियारमा मुद्दा चलिरहेको छ । उनी विरुद्ध बिमाको औषधि र निःशुल्क औषधिमा अनियमितता गरेको, निःशुल्क औषधि विक्री वितरण गरेको समेत आरोप लागेको छ । डा. कार्कीले अस्पतालबाट मासिक तलब, ७५ प्रतिशत विशेषज्ञ भत्ता र २५ प्रतिशत प्रोत्साहन भत्ता लिएको आरोप छ । अख्तियारले छानबिनका लागि अस्पतालको दस्ताबेजहरू लगिसकेको छ ।

अस्पतालले अस्पतालभित्रका विवादहरूको अध्ययन गर्न छानबिन समिति समेत बनाएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख बिमल पट्टेल, स्थानीय राजनीतिक दलका प्रतिनिधि सहितको छानबिन समितिले प्रतिवेदन दिन सकेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

epaper

ताजा समाचार

छोरी जन्माउने अभिभावकलाई तीन हजार प्रोत्साहन भत्ता