चलचित्र घरमा ‘कुमारी’ र ‘रमिताको पिरती’ बिच प्रतिस्पर्धा

काठमाडौं । प्रेम कथामा आधारित नयाँ नेपाली चलचित्र ‘कुमारी’ले २३ माघ शुक्रवार (आज)बाट रिलिज भएको छ । यो चलचित्र मुलुकको करिब १४० वटा चलचित्र घरमा रिलिज भएको यसका निर्माता महेन्द्र अधिकारीले राजधानीलाई जानकारी गराए ।

चलचित्र रिलिजको पूर्व सन्ध्यामा काठमाडौँमा आयोजित पत्रकार भेटघाटमा निर्माता अधिकारीले भने,‘यस अघि मैले सामाजिक कथामा आधारित चलचित्र निर्माण गरेको थिएँ भने यस पटक नयाँ पुस्तालाई लक्षित गरेर चलचित्र कुमारी निर्माण गरेको हुँ । यो चलचित्रमा जेनजी पुस्ताको जीवन शैली, उनीहरूको सोचाई र प्रेम सम्बन्धलाई मुख्य कथाको रूपमा उठाइएको छ ।’

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । प्रेम कथामा सार्थक चलचित्र बनाउँदै आएका दिनेशले अघिल्ला दुई चलचित्र सामाजिक कथामा केन्द्रित भएका बनाएका थिए । तर दर्शक र शुभचिन्तकहरूको सल्लाह अनुसार यस पटक आफू फेरी ‘लभ स्टोरी’ जनराको चलचित्र निर्देशनमा फर्किएको जनाउँदै उनले भने,‘यस चलचित्रमा प्रेम, संघर्ष र पारिवारिक अन्तद्र्वन्द्वलाई चित्रण गरिएको छ । नयाँ पुस्ताहरूका आवाज र जीवन शैली चलचित्रमा आउनु पर्छ भनेर यस पटक उनीहरूमा केन्द्रित भएका छौँ ।’

चलचित्र ‘कुमारी’बाट अभिषेक खड्का र आकृति राजभण्डारीको मुख्य भूमिकामार्फत चलचित्रमा डेब्यु गर्दै छन् । चलचित्रमा स्नातक गर्दै गरेको अभिषेक यो चलचित्रबाट निकै आसावादी छन् । यी दुई कलाकारसँगै ‘कुमारी’मा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांषा कार्कीलगायतको अभिनय छ ।

यो चलचित्रको सबै गीतलाई ‘केहर सिंह लिम्बु एन्ड लुंगा ब्यान्ड’ले संगीत गरेको छ । चलचित्रमा रहेको ‘डोको बुन्ने..’, ‘कता छौ मेरो फूल…’ गीत अहिले चर्चामा रहेको छ । विकास सुवेदीको स्क्रिप्ट लेखेको चलचित्र ‘कुमारी’मा सुसन प्रजापतिको छायांकन, सुप्रिम पराजुलीको सम्पादन तथा रंग संयोजन रहेको छ । यो चलचित्रको कार्यकारी निर्माता केदार भुसाल हुन् ।

शुक्रवारबाटै अर्को नेपाली चलचित्र ‘रमिताको पिरती’ पनि चलचित्र घरमा लागेको छ । यो चलचित्रले करिब सात दर्जन चलचित्र घर पाएको निर्माण पक्षको कथन छ । चलचित्र ‘रमिताको पिरती’लाई सुदिप्ताले निर्देशन गरेकी हुन् । स्कृप्ट पनि उनकै हो । उनको यो डेब्यु निर्देशन चलचित्र हो ।

चलचित्र ‘रमिताको पिरती’मा आना शर्मासँगै धिरज मगर, गायक समीर श्रेष्ठ, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेणु योगी, थिन्ले लगायतका कलाकारको अभिनय छ ।

सागर लम्साल र सुवास कोइरालाले यो चलचित्र निर्माण गरेका हुन् । ‘रमिताको पिरती’मा त्रिकोणात्मक प्रेम सम्बन्धको कथा रहेको यसका निर्माता सुवासले राजधानीलाई बताए । उनका अनुसार प्रेम सम्बन्ध टुटेकाहरूले चिन्तामा जीवन अघि बढाउनु भन्दा नयाँ सम्बन्धमा जोडिएर जीवनलाई अझ रंगिन बनाउनु पर्छ भन्ने सन्देश दिन खोजिएको छ । यो चलचित्रमा अभिनेत्री आना शर्मासमेत यसमा कार्यकारी निर्माता रहेकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

epaper

ताजा समाचार

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी