काठमाडौं । गायक रामकृष्ण ढकालले नयाँ चलचित्र ‘मालती मंगले’ निर्माण गरेका छन् । दुई दशक अघि आफ्नै जीवनीमा आधारित चलचित्र ‘आशीर्वाद’मा नायकको भूमिका निभाएका उनी त्यसपछि चलचित्र अभिनयमा आएनन् । यिनै गायक यति बेला चलचित्र निर्माणमा उत्रिएका हुन् ।
शिवरात्रिको अवसर पारेर चलचित्र ‘मालती मंगले’को आधिकारिक फस्ट लुक्स (पोस्टर) र प्रदर्शन मिति समेत उनले सार्वजनिक गरेका छन् । निर्माता रामकृष्णका अनुसार यो चलचित्र आगामी नयाँ वर्षको अवसर पारेर २५ वैशाखमा नेपाल सहित विभिन्न देशमा रिलिज गरिने भएको छ ।
चलचित्रमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भूमिकामा छन्। साथै प्रकाश घिमिरे, सरिता गिरी, सुष्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरुङ र सागर भट्टराईलगायत कलाकारहरूको पनि अभिनय रहेको छ ।
चलचित्रको निर्देशन प्रकु पाण्डेयले गरेका हुन् । निर्देशक पाण्डेयले यसलाई एक विशुद्ध नेपाली पारिवारिक प्रेमकथाको रूपमा व्याख्या गर्दै सबै उमेर समूहले एकसाथ हेर्न सक्ने पारिवारिक चलचित्र भएको बताएका छन्। उनका अनुसार चलचित्रले नेपाली समाजको सामाजिक संरचना र पारिवारिक मूल्यलाई उजागर गर्ने प्रयास गरेको छ। चलचित्रको कथा निर्देशक स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन् ।
प्राविधिक पक्षमा चलचित्रका छायाकारमा महेश पौडेल, सम्पादकमा रोमी मोजेज, रंग संयोजकमा कृष्ण भण्डारी तथा ध्वनि मिश्रणमा डिकेश खड्गी रहेका छन् । रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यस चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् ।
जसमा सह–निर्मातामा बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्मावती गुरुङ र स्वीकृति बस्नेत छन् । चलचित्रको डिजिटल वितरण ओएसआर डिजिटलले गर्नेछ भने चलचित्र घरमा वितरण आरआर फिल्म्सले गर्ने भएको छ ।







