काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन् । देउवा बुधबार राति ११:३० को सिंगापुर एयरलाइन्सको उडानबाट प्रस्थान गरेको विमानस्थल सुरक्षास्रोतले जनाएको छ ।
देउवा बुधबार राति साढे १० बजे अन्तर्राष्ट्रिय टर्मिनल तर्फको स्टेरलाइज एरिया (विमान प्रतीक्षा कक्ष)बाट प्रस्थान गरेका हुन् । पार्टी विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ समिति चयन भएपछि देउवा निष्क्रिय भएर बसेका थिए । जेनजी आन्दोलनमा उनीमाथि कुटपिट भएको थियो । त्यसपछि उनले सिंगापुरमै उपचार गराएका थिए ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा यसपटक देउवाको उम्मेदवारी छैन । कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि देउवा पार्टीको नेतृत्वबाट अपदस्थ भएका थिए । निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत आधिकारिकता नपाएपछि उनले रुख चिह्नबाटै अन्तिम पटक चुनाव लड्ने इच्छा देखाएका थिए ।
तर, वर्तमान संस्थापन पक्षले टिकट नदिएपछि २०४८ सालयता डडेल्धुराबाट लगातार सात पटक अपराजित देउवा यसपटक रिङ आउट भएका हुन् । डडेल्धुरामा उनको सट्टा उनीनिकटकै युवा नेता नैनसिंह महरले टिकट पाएका छन् ।






