काठमाडौं । मेडिकल व्यवसायी तथा राजावादी आन्दोलनका अगुवा दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गर्न राष्ट्रिय प्रजान्त्र पार्टी (राप्रपा) र आम जनता पार्टी (आजपा) ले माग गरेका छन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठ तथा आजपा प्रवक्ता चन्द्रभुषण साहले वक्तव्य जारी गर्दै प्रसाईको अविलम्ब रिहाको माग गरेका छन् ।
पार्टीका प्रवक्ता श्रेष्ठले भने ‘रातिको समयमा गरिएको पक्राउले सरकारको लोकतान्त्रिक प्रतिबद्धतामाथि प्रश्न उठाएको टिप्पणी गरेका छन्। उनले एउटै व्यक्तिलाई बारम्बार नियन्त्रणमा लिनु प्रतिशोधको संकेत भएको दाबी गर्दै यसले मुलुकलाई अनावश्यक तनावतर्फ धकेल्ने खतरा रहेको छ।’ राप्रपाले कुनै स्पष्ट कारण बिना गरिएको कारबाही स्वीकार्य नहुने बताउँदै प्रसाईँलाई बिना शर्त अविलम्ब मुक्त गर्न माग गरेको छ।
आजपा प्रवक्ता साहद्वारा जारी विज्ञप्तिमा रातिको समयमा गरिएको पक्राउप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा राज्य संयन्त्रले आलोचनात्मक धार र फरक मतप्रति असहिष्णुता देखाउँदै पटक-पटक पक्राउ र रिहाइको प्रक्रियालाई दोहोर्याउनु शासनको परिपक्वता र संस्थागत मर्यादासँग मेल नखाने कार्य भएको टिप्पणी गरिएको छ।
प्रसाईँलाई सोमबार साँझ भक्तपुरस्थित निजी निवासबाट प्रहरीले नियन्त्रणमा लिइएको थियो ।









