मुम्बई । बलिउड निर्माता निर्देशक रोहित सेट्टी माथि ज्यान लिने उद्देश्यले गरिएको गोली काण्ड प्रकरणमा नयाँ तथ्य सार्वजनिक भएका छन् ।
गत १ फेब्रुअरी राति १२ बजेपछि मुम्बईको जुहीस्थित उनको नौतले निजी निवासमा अन्धाधुन्ध गोली प्रहार गरिएको थियो। घटनामा मानवीय क्षति नभए पनि यसले बलिउड वृत्तमा ठुलो त्रास फैलाएको थियो । प्रहरीले यो प्रकरणमा नयाँ नयाँ तथ्य फोला पारिरहेको छ ।
मंगलबार मुम्बई प्रहरीले पत्रकार सम्मेलन गर्दै उक्त आक्रमण योजनाबद्ध रूपमा जेलभित्रै तयार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । पक्राउ परेका अभियुक्तहरूले दिएको बयान अनुसार, जेलमा बसेरै योजनाबद्ध रूपमा हत्या प्रयास गरिएको र सोही योजना कार्यान्वयन गर्न जुहीस्थित घरमा गोली प्रहार गरिएको प्रहरीले जनाएको छ ।
मुम्बई अपराध शाखाले घटनाको अनुसन्धान थप तीव्र बनाएको जनाएको छ । अनुसन्धानका क्रममा आक्रमणको योजना बिश्नोई गिरोहका महाराष्ट्र प्रमुख शुभम् लोनकर र उनका भाइ प्रवीण लोनकरले बनाएको खुलासा भएको छ । आक्रमण लगत्तै शुभम् लोनकरले सामाजिक सञ्जालमार्फत घटनाको जिम्मेवारी लिएको बताइएको छ ।
प्रहरीका अनुसार प्रवीण लोनकर हाल चर्चित बाबा सिद्दीकी हत्या प्रकरणमा जेलमा छन् । जेलमै रहँदा पनि उनले रोहित शेट्टीमाथि आक्रमण गर्न हतियार र आर्थिक सहयोग उपलब्ध गराएको प्रारम्भिक निष्कर्ष छ । अपराध शाखाले प्रवीण लोनकरले नै सम्पूर्ण आपराधिक सञ्जाल समन्वय गरी जेलबाटै निर्देशन दिएको आशंका गरेको छ।
मुख्य गोली प्रहार गर्ने अभियुक्तसहित हालसम्म १२ जनालाई पुणे, हरियाणा र उत्तर प्रदेशबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रवीण लोनकर हाल न्यायिक हिरासतमा रहेका छन् र छिट्टै यस मुद्दामा औपचारिक रूपमा प्रहरी हिरासतमा लिएर थप अनुसन्धान गरिने प्रहरीले बताएको छ ।
अनुसन्धानबाट आक्रमणमा प्रयोग गरिएको मोटरसाइकल, पेस्तोल तथा आर्थिक स्रोत सबै प्रवीण लोनकरकै निर्देशनमा उपलब्ध गराइएको देखिएको छ । यस घटनाले जेलभित्रबाटै आपराधिक षड्यन्त्र कसरी सञ्चालन भयो भन्ने गम्भीर प्रश्न उठाएको छ । सन्देश आदान–प्रदान र व्यवस्थापनमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको एक वरिष्ठ प्रहरी अधिकारीले सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।
उनका अनुसार हाल अपराध शाखाका १२ वटा टोलीहरू घटनाको विस्तृत अनुसन्धानमा खटिएका छन् । प्रवीण लोनकरलाई थप सोधपुछका लागि हिरासतमा लिएपछि षड्यन्त्रका बाँकी कडीहरू र बिश्नोई गिरोहका भावी योजना’bout थप खुलासा हुने प्रहरीको विश्वास छ ।










