सप्तरी । फागुन २१ गते हुने प्रतिनीधी सभा निर्वाचनलाई लिएर सप्तरी निर्वाचन क्षेत्र नं.३ अहिले राजनितीक रुपमा निकै चासोको केन्द्र बन्न पुगेको छ । चुनावी मैदानमा पहिलो पल्ट यस क्षेत्रमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ती पार्टी नेपालका सहमहासचिव गजेन्द्र मण्डल र नयाँ शक्तीका रुपमा देखापरेका रास्वपाका डा.अमरकान्त चौधरीको प्रवेशले यो क्षेत्र निकै चासोको केन्द्र बन्न पुगेको हो ।
आफनो राष्ट्रिय अध्यक्ष नै यस क्षेत्रबाट प्रतिस्पर्धामा उत्रेपछि प्रतिष्ठा जोगाउन र जीत निकाल्न जसपा नेपालका नेता–कार्यकर्ता प्रचार प्रसार र चुनावी रणनीतीमा पुरा शक्ती लगाएको देखिएको छ ।
यस क्रममा पार्टीका केन्द्रिय सचिव एवं क्षेत्र निर्वाचन परिचालन समितीका संयोजक शैलेन्द्र प्रसाद साहको नेतृत्वमा एक टोली सक्रिय भएका छन । जसपा नेपालका अध्यक्ष यादव संगै राष्ट्रिय मुक्ती पार्टी नेपालका सहमहासचिव मण्डल र नयाँ शक्तीको रुपमा देखापरेको रास्वपाका डा. चौधरीको प्रवेशले विगतमा यस क्षेत्रमा हुदै आएको नेपाली काँग्रेस तत्कालिन मधेशी जनअधिकार फोरम, राजपा तथा एमाले बीचको चौकोणिय प्रतिस्पर्धा अहिले बहुकोणिय प्रतिस्पर्धामा परिणत बन्न पुगेको छ ।
अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट नेपाली काँग्रेसका दिनेश कुमार यादवले जीतेका थिए । यस पल्ट पनि जीत दोहो¥याउने दाउमा उनी काँग्रेसबाटै चुनावी मैदानमा छन । अघिल्लो निर्वाचन परिणाम हेर्दा काँग्रेसका यादवले २६ हजार १ सय ६६ मत प्राप्त गरेका थिए भने एमालेका ताराकान्त चौधरीले २२ हजार ३ सय मत प्राप्त गरेका थिए । यहाँ काँग्रेस जीतलाई निरन्तरता दिने कसरतमा छन भने अन्य दल काँग्रेसको पकड क्षेत्र तोड्दै आफ्नो जीत निकाल्ने दाउमा छन ।
यहाँ नेपाली काँग्रेस, जसपा नेपाल, रास्वपा, राष्ट्रिय मुक्ती पार्टी नेपाल,जनमत, नेकपा तथा एमाले मुख्य प्रतिस्पर्धामा देखिएका छन । जनमत पार्टीबाट सुरेन्द्र मधेशी, नेकपाबाट अरुण कुमार साह, एमालेबाट ताराकान्त चौधरी उम्मेदवार छन ।
यस्तै उज्यालो नेपाल पार्टीबाट परमेश्वर लाल साह, नेपाल जनता पार्टीबाट डा.सन्तोष चमन, राप्रपाबाट उम्मेदश्वर प्रसाद साह, आजपाबाट धनिक लाल चौधरी बहुजन एकता पार्टीबाट महादेव राम, नेमकिपाबाट प्रभु प्रसाद साह, श्रम संस्कृति पार्टीबाट जयनाराण मण्डल गरी कुल २२ जना उम्मेदवार चुनावी मैदानमा छन ।
यहा रोचक पक्ष के छ भने रास्वपाबाट उम्मेदवार बनेका डा. अमरकान्त चौधरीका काका ताराकान्त चौधरी एमालेबाट उम्मेदवार बनेका छन ।
काका–भतिजा प्रतिस्पर्धी बनेपछि यहाँको चुनावी भीडन्त झन रोचक बनेको छ । कुल १ लाख ११ हजार ८ सय ७१ मतदाता रहेको यस क्षेत्रमा शम्भुनाथ र डाक्नेश्वरी नगरपालिका तथा रुपनी, विष्णुपुर र राजगढ गाउँपालिका गरी कुल ५ पालिका पर्दछ ।









