ललितपुर क्षेत्र नम्बर–१: आठौंपटकका कांग्रेस उम्मेदवारविरुद्ध पाँचौं जितको दौडमा एमाले

ललितपुर । प्र तिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणा र एमाले उम्मेदवार चेतनाथ सन्जेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । राणा परिवारबाट आठौं पटक उम्मेदवार भएका उदयशमशेर राणासँग २०४६ सालको परिवर्तनपछि ४ पटक चुनाव जितेर पाँचौं जितको लागि एमालेले सञ्जेललाई उम्मेदवार बनाएको हो ।

१६ राजनीतिक दल र १२ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा रहेको ललितपुर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला सभापति बुद्धरत्न महर्जन, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सुनिल महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सजिना कार्की, नेकपा माओवादीका विपिन घिमिरेलगायत उम्मेदवारहरू प्रतिस्पर्धामा छन् ।

ललितपुर क्षेत्र नम्बर–१ मा कांग्रेसका तर्फबाट उम्मेदवार भएका उदयशमशेर राणाको पाँचौं उम्मेदवारी हो भने एकाघर परिवारको तर्फबाट आठौं उम्मेदवारी हो । आमनिर्वाचन २०४८ र २०५६ तथा मध्यावधि निर्वाचन २०५१ मा सागरशमशेर राणाले चुनाव लडेको यस क्षेत्रमा २०६४ र २०७० को संविधानसभा निर्वाचन तथा २०७४, २०७९ र २०८२ सालको निर्वाचनमा उदयशमशेर उम्मेदवार भएका हुन् ।

पाँचौंपटक उम्मेदवारी दिएर मैदानमा रहेका राणाले २०७० र २०७९ सालमा जितेका थिए । उनले २०६४ र २०७४ सालमा पराजय भोगेका थिए । बहुदलीय प्रजातन्त्रको पुनः स्थापनापछि भएको पहिलो २०४८ सालको चुनावमा सागरशमशेर राणा उम्मेदवार थिए । उनी हालका उम्मेदवार उदय शमशेर राणाका पिता हुन् । त्यसपछि भएका २०५१ र २०५६ सालका निर्वाचनमा पनि कांग्रेसका तर्फबाट सागरशमशेर नै उम्मेदवार थिए । तर ती तीनैवटा चुनाव उनी र कांग्रेसका लागि सुखद् रहेन ।

२०४८ सालको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार मिठाराम शर्मा बजगाईंले १२ हजार ४ सय १६ मत ल्याएर विजयी हुँदा कांग्रेसका राणाले ७ हजार ३ सय ५९ मत ल्याएर तेस्रो भएका थिए भने २०५१ मा पनि एमालेका बजगाईंसँगै पराजित भएका थिए । एमालेका बजगाईंले १९ हजार ६ सय ३३ मत ल्याउँदा राणाले पनि मत बढाएर ९ हजार ८ सय ८२ मत ल्याई दोस्रो भएका थिए । २०५६ सालको आमनिर्वाचनमा एमालेकी सुशीला नेपालले १३ हजार ८ सय ९३ मत ल्याएर चुनाव जित्दा राणाले ८ हजार ५ सय ७६ मत ल्याएर तेस्रो भएका थिए ।

२०६४ सालपछि भने सागर शमशेरका उत्तराधिकारीको रूपमा उदयको उदय भयो । २०६४ को संविधानसभा निर्वाचनमा नेकपा माओवादीका वर्षमान पुनले १५ हजार ३ सय २९ मत ल्याएर विजय हासिल गरे भने राणाले १४ हजार ११ मत ल्याए । २०७० को निर्वाचनमा उदयले नेकपा एमालेका मधुसूदन पौडेल र एनेकपा माओवादीका हरि दाहाललाई पराजित गर्दै चुनाव जिते ।

२०७४ को चुनावमा बाम गठबन्धनले एमालेका तर्फबाट उम्मेदवार भएका नवराज सिलवालले चुनाव जिते भने २०७९ मा एमालेसँग प्रतिस्पर्धा गरेको नेकपा माओवादी र समाजवादीसहितको बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट पुनः राणाले नै चुनाव जिते । २०४८ सालदेखि निरन्तर निर्वाचनको मैदानमा रहेको राणा परिवारका प्रतिनिधि पात्र उदयले नेपाली कांग्रेसमा भएको रूपान्तरण र विद्रोहमा गगन थापा समूहको शक्तिशाली मोर्चा सम्हालेर आफूलाई पार्टी सत्तामा समेत एकैपटक संस्थापनबाट विद्रोही कमान्डरको रूपमा रूपान्तरण गर ।

त्यसपछि ललितपुरको राजनीतिमा शेरबहादुरसँगै उदयशमशेरको बिदाइ हुने पर्खाइमा बसेको भनिने समूहसमेत चुपचाप कांग्रेस जिताउन लागेको दाबी गरिएको छ । राणा परिवारसँगको प्रतिस्पर्धामा घुमेको ललितपुर क्षेत्र नम्बर १ को राजनीतिमा यसपटक पनि नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा), उज्यालो नेपाल पार्टी (उनेपा), पिपुल्स फर नेसन, विप्लव नेतृत्वको नेकपा माओवादीलगायतका शक्तिले आफूहरूको संगठनसमेत भएको दाबीका साथ उम्मेदवारी र प्रचारप्रसार गरिरहेका छन् ।

नेकपा माओवादीबाट भीमसेन घिमिरे ‘विपिन’ उम्मेदवार छन् । २०७४ सालको निर्वाचनमा ललितपुर क्षेत्र नम्बर–१ ‘ख’बाट प्रदेशसभामा निर्वाचित भएका एमाले उम्मेदवार चेतनाथ सन्जेललाई पृष्ठभूमिका हिसाबले बलियो साथ भएको बुझिएको छ । ललितपुर १ को राजनीतिमा लामो समय प्रभाव जमाएका केशरबहादुर विष्टको प्रभावसँग जोडिएको राजावादी सहानुभूति लिँदै जेनजी समूहकी सजिना कार्की राप्रपाबाट उम्मेदवार भएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार भएका बुद्धरत्न महर्जन चापागाउँ र आसपासको नेवारी समुदायलाई आधार बनाएर राजनीतिक गतिविधि तीव्र बनाइरहेका छन् । २०७९ सालको निर्वाचनमा ललितपुर क्षेत्र नं. २ बाट उम्मेदवार बनी ८ हजार ६ सय ६६ मत प्राप्त गरेका उनले ६ हजार हाराहारी रास्वपाको सांगठानिक मतको जगमा आफूलाई बढाइरहेका छन् ।

यस क्षेत्रमा तामाङ समुदायको बाहुल्यता भएकाले कुलमान घिसिङ नेतृत्वको उनेपाका पदमकुमार लामा र लेलेको स्थानीय समुदायमा स्थानीय मौलिक एजेन्डालाई सामाजिक अभियन्ताको रूपमा उठाउँदै आएका पिपुल्स फस्ट पार्टीका सनोज महत समेत आङ्खनो पक्षमा जनलहर भएको बताइरहेका छन् ।

घनश्याम भुसाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी संयुक्तले अमृतनाथ बजगाई ंलाई उम्मेदवार बनाएको छ भने जनता समाजवादी पार्टीका महावीर स्याङ्तान तामाङ, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की सरिता गोसाईं देसार, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का रोहितकुमार बाँस्तोला, मंगोल नेसनल अर्गनाइजेसनले सुरेश मार्पाको समेत प्रचार प्रसार भइरहेको छ ।

यस्तै, नेसनल रिपब्लिक नेपालले सञ्जय घिसिङ तामाङ, श्रम संस्कृति पार्टीले गौतम थापा, आम जनता पार्टी (एकल चुनाव चिह्न)बाट किरण महर्जन उम्मेदवार छन् । ललितपुर क्षेत्र नम्बर–१ मा २ महिलासहित २८ जना उम्मेदवार मैदानमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 485 times, 1 visits today)

epaper

ताजा समाचार

१५ फागुन २०८२