काठमाडौँ । साहित्यकार नारायण ढकालले आफ्नो छैटौँ उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’ सार्वजनिक गरेका छन् । पब्लिकेसन नेपालयको कालिकास्थानस्थित आरशालामा शनिबार आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो । कार्यक्रममा ढकालले आफ्ना नातिनी रीति ढकाल र नाति रिवाज ढकाललाई पुस्तक उपहार दिएसँगै औपचारिक रूपमा कृति सार्वजनिक गरे ।
लोकार्पण समारोहमा लेखक ढकालले आफ्नो पाँच दशकभन्दा लामो साहित्यिक यात्राका अनुभव सुनाए। २०३० सालमा पहिलो कथा प्रकाशन भएयता ५२ वर्षको निरन्तर साधनाले आफूलाई यहाँसम्म ल्याएको उनले बताए। किशोरावस्थामै जासुसी उपन्यास लेखेर प्रकाशककहाँ बुझाएको तर प्रकाशन नभएको प्रसंग स्मरण गर्दै उनले भने, ‘त्यसपछि संसारका चर्चित लेखक खोज्दै पागलझैँ पढ्न थालेँ, त्यो लत अझै उस्तै छ ।’
कार्यक्रममा नेपालयका सम्पादक विमल आचार्यले ढकालको पाण्डुलिपिले आफ्नो ‘दिमाग खराब र मन सफा’ गरेको टिप्पणी गरे। ‘आफूप्रति निर्मम र लेखनप्रति पूर्ण विश्वास भएका लेखकभित्र बारम्बार परिष्कार गर्ने हुटहुटी र आलोचना सुन्ने लोकतान्त्रिक संस्कार पाएँ,’ उनले भने ।
दुई सय ८६ पृष्ठको उक्त कृतिको मूल्य छ सय ७५ रुपैयाँ निर्धारण गरिएको छ । पुस्तक देशभरका पुस्तक पसलका साथै थुप्रै अनलाईन मार्फत विश्वभर उपलब्ध हुने कार्यक्रममा जनाइयो ।
लेखक ढकालको हालसम्म ६ उपन्यास, सात कथा संग्रह, तीन निबन्ध संग्रह, दुई बालकथा संग्रह र एक कविता संग्रह प्रकाशित भइसकेका छन् ।










