रौतहट । रौतहटको गौर नगरपालिका–६ सबगढामा सदभाब भड्काउने २२ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटले आपराधिक उपद्रोह तथा आगजनी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ ।
गत बिहीबार एउटा विवाहमा भएको दुई समुदाय बिचको विवादमा सदभाब भड्काउने गरी भएको तोडफोडमा संलग्न २२ जनालाई प्रहरीले पक्राउ गरी आपराधिक उपद्रोह तथा आगजनी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको हो ।
पक्राउ पर्नेहरूमा शुभनारायण साह र समिर मियाँ, शेख अलियास, शेख अरमान, रितेश कुमार राम, रितिक कुमार यादव, दीपेन्द्र चन्द्रवंशी, विनोद कुमार साह, शेख रहम्तुल्लाह, शेख मैनुदिन, अब्दुल रुमान, दिपलाल पासवान, ललन साह, शेख निराले, शेख सागिर, अहम्मद राजा, सर्फुदिन अंसारी, अफरोज महम्मद, दीपक कुशवाहा, अब्दुल समिर,बिहान साह र महम्मद कैफ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिएका छन् ।
प्रनाउ बस्यालका अनुसार गत शनिवार सबगढा घटनालाई चर्काएर तोडफोड गर्ने थप दुई जना शुभनारायण साह र समिर मियाँलाई आज पक्राउ गरिएको हो । उनीहरु विरुद्ध आपराधिक उपद्रोह तथा आगजनी कसुरमा मुद्दा दर्ता गरेर प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक बस्यालले बताए ।
गौर नपा–६ का वडाध्यक्ष अबधविहारी साह र पूर्व वडाध्यक्ष एवं जनमत पार्टीका जिल्ला संयोजक शेख जमशैदलाई आवश्यक परेको बखतमा उपस्थिति गराउने सर्तमा रिहा गरिएको समेत उनले जानकारी दिए ।
जिम्मा जमानीमा छुटेका साह र जमशैद सहितका तिन जना व्यक्तिको मोवाइल प्रहरी नियन्त्रणमा राखिएको र उनीहरुको मोवाइल परीक्षणको लागि काठमाडौँ पठाउने दोषी ठहर हुने खालको प्रमाणहरू फेला परेमा यसै कसुर अनुसार नियन्त्रणमा ल्याएर कारबाही गरिने समेत प्रहरी नायब उपरीक्षक बस्यालले जानकारी दिएका छन् ।
सुरक्षा निकायले घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा खोजी कार्य जारी रहेको र प्रशासनले शान्ति सुरक्षा कायम राख्न सबै पक्षलाई संयमित रहन आग्रह गरेको समेत उनले बताएका छन् ।
स्थानीय प्रशासनले शान्ति सुव्यवस्थाको लागी सो क्षेत्रमा शनिवार दिउसो १ बजेदेखि आज सोमबार ६ बजे सम्म कर्फ्यु लगाएको थियो । आज बिहान सबगढा गाउँमा सदभाब र्याली गरेपछि अहिले उक्त गाउँको अवस्था सामान्य बनेको छ ।







