‘यादव जी की लभ स्टोरी’ विवादमा

मुम्बई । बलिउडमा पछिल्लो समय चलचित्र रिलिज हुनुअघि नै विवादमा तानिने क्रम बढ्दो छ । केही दिनअघि मात्र मनोज वाजपेयीको चलचित्र ‘घुस्खोर पण्डित’ लाई लिएर विवाद बढेको थियो । सो चलचित्र विरुद्ध पण्डितहरूले अदालतमा दायर गरेको मुद्दाको फैसला अझै आएको छैन ।

यसैबिच, अर्को चलचित्र ‘यादव जी की लभ स्टोरी’ पनि रिलिजको संघारमै गम्भीर विवादमा फसेको छ । अर्को शुक्रवार रिलिज हुने यो चलचित्रलाई प्रतिबन्ध लगाउनु पर्ने भन्दै विरोधको क्रम बढेको हो । यस पटक विवादको जड चलचित्रको शीर्षक र कथावस्तु बनेको छ ।

उत्तर प्रदेशस्थित यादव समुदायका केही समूहहरूले चलचित्रको नाम र कथाले उनीहरूको सामाजिक छविमा नकारात्मक असर पार्ने दाबी गरेका छन्। बिहारमा पनि यादव समुदायले यो चलचित्रलाई रोक्नु पर्ने भन्दै आवाज उठाएका छन् । उनीहरूले चलचित्रले ‘लभ जिहाद’ जस्तो संवेदनशील विषयलाई गलत ढंगले प्रस्तुत गरेको आरोप लगाएका छन्। यही असन्तुष्टिका कारण समुदायका प्रतिनिधिहरू सडक आन्दोलनमा उत्रिएका छन् । उनीहरुले यो चलचित्रका निर्माता निर्देशक, कलाकारको पोष्टर समेत जलाएका छन् ।

सम्बन्धित व्यक्तिहरू विरुद्ध प्रहरीमा एफआईआरसमेत दर्ता गरिएको समाचार आएको छ । यस कदमले विवादलाई अझ चर्काएको छ र चलचित्रको प्रदर्शनमाथि नै प्रश्न चिन्ह खडा भएको छ ।

बुक माई सोमा उपलब्ध विवरणअनुसार, चलचित्र अंकित बदनाद्वारा निर्देशित र सन्दीप तोमरद्वारा निर्मित हो। मुख्य भूमिकामा प्रगति तिवारी रहेकी छन्, जो ‘बिग बोस १९’ फेम मृदुल तिवारीकी बहिनीका रूपमा पनि चिनिन्छिन्। विशाल मोहन, अंकित बदना, सुविन्दर विक्की र रजत तनवरले यस चलचित्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

यो चलचित्र २७ फेब्रुअरीमा देशभरका हलहरूमा रिलिज हुने तय भएको थियो । यही मितिमा चलचित्रलाई विश्व रिलिज पनि गरिँदै थियो, तर बढ्दो विरोध र कानुनी प्रक्रियाका कारण प्रदर्शन तालिका प्रभावित हुन सक्ने आँकलन गरिएको छ। निर्माण पक्षले भने हालसम्म औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन ।

विवादका बिच ‘यादव जी की लभ स्टोरी’ निर्धारित मितिमै प्रदर्शनमा आउँछ वा स्थगित हुन्छ भन्ने कुरा हेर्न बाँकी छ । चलचित्रको कथावस्तु र प्रस्तुतीकरण’bout स्पष्टता आएपछि मात्र विवाद साम्य हुने अपेक्षा गरिएको छ ।

निर्माण पक्षका अनुसार यो चलचित्र एक रोमान्टिक–एक्सन कथामा आधारित छ, जसमा अन्तर धार्मिक प्रेम र पारिवारिक दबाब मुख्य विषय बनेका छन्। कथाकी केन्द्रीय पात्र सिम्पल यादव (प्रगति तिवारी) एक शान्त र पारिवारिक परिवेशमा हुर्किएकी युवती हुन्। उनी वसीम अख्तर (विशाल मोहन) सँग प्रेममा पर्छिन् र विवाह गर्न चाहन्छिन्। तर, फरक धर्मका कारण उनीहरूको सम्बन्ध सामाजिक तथा पारिवारिक विरोधको सामना गर्न बाध्य हुन्छ ।

उता, सिम्पलका परिवारले उनको विवाह अभिमन्यु यादव (अंकित भदाना) सँग गराउन चाहन्छन् । परिवारको दबाब, सामाजिक प्रतिष्ठा, धार्मिक संवेदनशीलता र राजनीतिक रंग मिसिँदा कथाले भावनात्मक र द्वन्द्वात्मक मोड लिन्छ । यो चलचित्रले प्रेम, पहिचान, सामाजिक पूर्वाग्रह र सम्मानका मुद्दाहरूलाई उठाएको दाबी गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)

epaper

ताजा समाचार

सामाजिक सञ्जालमा मात्रै हैन घरघरमा पुगौँः सभापति थापा