काठमाडौं । नेपाली सेनाले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित तीन चरणको सुरक्षा रणनीति तयार पारेको छ । सेनाले निर्वाचनपूर्व, निर्वाचनको दिन र निर्वाचनपछि मत गणना भई परिणाम घोषणासम्मको गरी तीन चरणको सुरक्षा रणनीति तय गरेको हो ।
निर्वाचनमा सेनाको तीन चरणको सुरक्षा
राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषद्को निर्णय तथा राष्ट्रपतिबाट स्वीकृति प्राप्त भएपछि निर्वाचन सुरक्षाका लागि सेना परिचालन भइसकेको छ । सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचन केन्द्रित तालिम तथा संयुक्त अभ्यास सञ्चालन गरी आवश्यक तयारी पूरा भइसकेको छ ।
सेनाको सुरक्षा घेरामै मतपत्र छपाइ सकिएर हाल ७५ वटा जिल्लामा ढुवानीसमेत भइसकेको बताइएको छ । निर्वाचन आयोगका अनुसार बिहीबारसम्ममा सबै जिल्लामा मतपत्र र निर्वाचन सामग्री ढुवानी भइसक्नेछ । आयोगका अनुसार भौगोलिक अवस्थाअनुसार ५ जिल्लामा हवाई माध्यमबाट र अन्य जिल्लामा स्थलमार्गबाट मतपत्र ढुवानी गरिएको हो ।
सेनाले २०४८ सालयताका सबै निर्वाचनमा मतपत्र छपाइस्थलको सुरक्षा, काठमाडौंबाट देशका सबै जिल्लास्थित निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी गर्दै आएको छ । निर्वाचनको दिन मतदानस्थलमा तेस्रो घेरामा सेनाले सुरक्षा दिँदै आएको छ । मतदान सकिएपछि भने निर्वाचन अधिकृतलगायत दलका प्रतिनिधिसहितको एकीकृत टोलीले सुरक्षा प्रदान गरी मतपेटिकालाई मतगणनास्थलसम्म लैजाने काम गर्दै आएको छ ।
एकीकृत सुरक्षा योजनाअनुसार सेनाले निर्वाचनका दौरान मतदान केन्द्र तथा मतगणनास्थलको सुरक्षा, हवाई गस्ती, शंकास्पद वस्तु निष्क्रिय पार्नेलगायत कार्य गर्ने प्रवक्ता बस्नेतको भनाइ छ । भौगोलिक विकट स्थानमा सडक तथा बाटोमा जमेका हिउँ पन्छाएर बाटो खुलाई निर्वाचन सामग्री ढुवानी र व्यवस्थापन गरिरहेको उनको भनाइ छ । कारागार, विमानस्थल तथा सरकारी कार्यालयसहित अन्य सुरक्षा निकायले सुरक्षा प्रदान गरिरहेका १ सय १६ महत्वपूर्ण संरचनाको सुरक्षाका लागिसमेत सेना खटिएको छ ।
निर्वाचन सुरक्षासम्बन्धी गतिविधिको केन्द्रीय र स्थानीय तहबाट निरन्तर अनुगमन भइरहेको सेनाले जनाएको छ । प्रधानसेनापति अशोकराज सिग्देलले विभिन्न कमान्ड सेन्टर र फिल्डमा खटिएका फौजको निरीक्षण गरेर आवश्यक निर्देशन दिने कार्य जारी रहेको प्रवक्ता बस्नेतको भनाइ छ । १४३ अस्थायी मतदान केन्द्र निर्धारण निर्वाचन आयोगले देशैभर १ सय ४३ अस्थायी मतदान केन्द्र निर्धारण गरेको छ ।
बुधबार आयोगले निर्वाचन केन्द्र र अस्थायी मतदाताको विवरण सार्वजनिक गरेको हो । आयोगले २१ फागुनका लागि खटिने कर्मचारी, सेना, प्रहरीलगायतका लागि अस्थायी मतदान केन्द्र निर्धारण गरेको आयोगका सहायक प्रवक्ता सीता श्रीष पुनले जानकारी दिइन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटिएका सेना, प्रहरी तथा कर्मचारीलाई अस्थायी मतदाताको रूपमा सूचीकृत गरिएको आयोगले जनाएको छ ।
आसन्न निर्वाचनमा १ लाख ८६ हजार अस्थायी मतदाता कायम भएको आयोगले जनाएको छ । अस्थायी मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ तोकिएको मतदानस्थलमा मात्रै मतदान गर्न पाउने आयोगकी सहायक प्रवक्ता पुनले जानकारी दिइन् । मतदाता सूचीमा नाम समावेश भएका तर निर्वाचनमा खटिएका वा अन्य कारणले निर्धारित मतदानस्थलमा जान नसक्नेहरूलाई अस्थायी मतदाता सूचीमा समावेश गर्ने व्यवस्था गर्ने गरी आयोगले आह्वान गरेको थियो ।
आयोगले गरेको यो व्यवस्था अनुसार नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारको स्वामित्वमा रहेका संस्थामा कार्यरत कर्मचारी, सेना, प्रहरी, कारागारका थुनुवा र कैदी, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी संवैधानिक निकायका प्रमुख तथा पदाधिकारको नाम अस्थायी मतदाता नामावलीमा समावेश छ ।
यस्तो निर्वाचन केन्द्रमा राज्यको संरक्षणमा रहेका ज्येष्ठ नागरिकसमेत अस्थायी मतदाताको रुपमा सहभागी हुन पाउनेछन् । आयोगले यस अघि नै २३ हजार १ सय १२ नियमित मतदान केन्द्र निर्धारण गरेको छ । निर्धारित मतदान केन्द्रका लागि आवश्यक जनशक्ति तथा आवश्यक सामग्री र मतपत्र समेत पठाइसकेको आयोगले जनाएको छ । आयोगका अनुसार कोशीमा २४, मधेशमा १८, बागमतीमा २६, गण्डकीमा १७, लुम्बिनीमा २३, कर्णालीमा १८ र सुदूर पश्चिममा १७ अस्थायी मतदान केन्द्र रहेका छन् ।






