काठमाडौँ । ओस्कार जस्तै विश्वको अर्को प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सव मानिएको ‘कान्स फिल्म फेस्टिभल’मा अब नेपालले औपचारिक रूपमा सहभागिता जनाउने भएको छ । ‘७९औँ कान्स फिल्म फेस्टिभल–२०२६’मा नेपालले औपचारिक सहभागिता जनाउने लागेको चलचित्र विकास बोर्डले जनाएको छ ।
यो विषयमा बोर्ड अध्यक्ष दिनेश डिसीले भने,‘यति लामो कान्सको इतिहासमा नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्धन, सहकार्य विस्तार तथा विश्व बजारमा पहुँच विस्तार गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्डले आगामी १२ मे देखि २३ मे २०२६ सम्म फ्रान्सको कान्स सहरमा आयोजना हुने यो महोत्सवमा नेपालको प्रतिनिधित्व गर्ने तयारी गरेको हो ।’
डिसीले अगाडि भने,‘यो कार्यले नेपाली चलचित्र उद्योगलाई विश्व चलचित्र मञ्चमा स्थापित गर्ने ऐतिहासिक अवसरका रूपमा लिइएको छ । कान्स महोत्सवमा सहभागी हुन इच्छुक नेपाली चलचित्रकर्मीहरूलाई बोर्डसँग समन्वय गरी आफ्नो सामग्री प्रदर्शन गर्न हामी अनुरोध गर्दछौँ ।’
उनका अनुसार यस पटक महोत्सवमा चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपालको विशेष ‘नेपाल पवेलियन’ स्टल पनि रहने छ । सो स्टलमार्फत नेपाली चलचित्र, चलचित्र परियोजना, पोस्टर, ट्रेलर तथा अन्य प्रचार सामग्री अन्तर्राष्ट्रिय फिल्म बजारका वितरक, निर्माता, चलचित्र फन्ड, फेस्टिभल प्रतिनिधि तथा दर्शकसमक्ष प्रस्तुत गरिने पनि बोर्ड अध्यक्ष डिसीले राजधानीलाई जनाए । कान्समा संसार भरिका चलचित्रकर्मीहरूको सहभागिता हुने भएकाले पनि यस पटकबाट बोर्डले नियमित सहभागिता जनाउन लागेको पनि उनले बताए ।
बोर्डका अनुसार कान्स फिल्म फेस्टिभलमा व्यक्तिगत रूपमा सहभागी हुने नेपाली चलचित्रकर्मीहरूले पनि बोर्डको स्टल साझा गरी आफ्नो चलचित्र तथा परियोजनाहरू अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्न सक्नेछन् । जसले नेपाली चलचित्रलाई विश्व चलचित्र बजारसँग जोड्ने महत्त्वपूर्ण अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।






