वासिङ्टन । संयुक्त राज्य अमेरिकाले इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित करिब ६० संस्था, व्यक्ति र पानीजहाजमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रतिबन्धको उद्देश्य इरानी शासनका आम्दानीका स्रोत रोक्नु तथा अमेरिकी सेना र सहयोगीमाथि आक्रमण गर्न सहयोग गर्ने सञ्जाल कमजोर पार्नु हो ।
‘अपरेसन इकोनोमिक आउटकास्ट’ अन्तर्गत लगाइएको प्रतिबन्धले इरानको पेट्रोलियम आम्दानी र परम्परागत हतियारको प्रसारसँग सम्बन्धित गतिविधिलाई लक्षित गरेको मन्त्रालयले जनाएको छ । प्रतिबन्ध कार्यकारी आदेश १३८४६ र १३९४९ अन्तर्गत लगाइएको हो ।
अमेरिकाले इरानी सैन्य गतिविधिलाई सहयोग गरेको आरोपमा ‘डेडेनेगर स्टार्टअप स्टुडियो’ लाई पनि प्रतिबन्ध लगाएको छ । उक्त कम्पनीले ‘अपरेसन एपिक फ्युरी’ का क्रममा इरानी सैन्य लक्ष्य पहिचान तथा युद्ध क्षतिको मूल्यांकनका लागि चिनियाँ व्यावसायिक स्याटेलाइट तस्बिर प्रयोग गरेको अमेरिकी दाबी छ । त्यस्तै, इरानी इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) साइबर–इलेक्ट्रोनिक कमान्डलाई अमेरिकी सैन्य सम्पत्तिसम्बन्धी सूचना प्राप्त गरेको आरोपमा प्रतिबन्ध लगाइएको छ ।
प्रतिबन्धको सूचीमा आईआरजीसीका कमान्डर–इन–चिफ अहमद वाहिदी पनि परेका छन् । अमेरिकी विदेश मन्त्रालयले उनले ‘अपरेसन एपिक फ्युरी’ का क्रममा इरानको सैन्य निर्णयमा महत्वपूर्ण भूमिका खेलेको आरोप लगाएको छ । ‘रिवार्ड फर जस्टिस’ कार्यक्रमअन्तर्गत वाहिदी र आईआरजीसीका वरिष्ठ नेता अली अब्दुल्लाही’bout सूचना दिनेलाई एक करोड अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरिएको छ ।
अमेरिकी कदमले इरानको तेल ढुवानी गर्ने ‘डार्क फ्लिट’ तथा पेट्रोलियम, पेट्रोलियम उत्पादन र पेट्रोकेमिकलको बिक्री तथा ढुवानीमा संलग्न अन्तर्राष्ट्रिय मध्यस्थलाई समेत समेटेको छ । मन्त्रालयले यस्ता सञ्जालले पहिचान लुकाएर भ्रामक ढुवानी गतिविधि गर्ने आरोप लगाएको छ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यसअघि घोषणा गरेको ‘अपरेसन इकोनोमिक आउटकास्ट’ ले विश्वभर इरानका वित्तीय सम्बन्ध तोड्ने र इरानी शासनका आर्थिक स्रोत बन्द गर्ने लक्ष्य राखेको छ । उनले इरानले विश्वव्यापी अलगाव रोज्ने वा अन्तर्राष्ट्रिय अर्थतन्त्रमा पुनः सहभागी हुने बाटो अपनाउनेमध्ये एक छनोट गर्नुपर्ने बताएका छन् ।
पछिल्लो प्रतिबन्धसँगै इरानको तेल निर्यात, सैन्य खरिद र अन्तर्राष्ट्रिय वित्तीय सञ्जालमाथि अमेरिकी दबाब थप बढेको छ ।
सम्बन्धित समाचार
संघीय अदालतद्वारा नेपालसहित ७५ देशका लागि अमेरिकी राष्ट्रपति ट्रम्पको भिसा प्रतिबन्ध खारेजका लागि आदेश
इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट
देवानगञ्ज-कप्तानगञ्ज घटनामा न्यायिक आयोग गठन गर्न काँग्रेसको माग
स्मार्ट टेलिकम लिलामी प्रकरण : एनसेल अध्यक्ष आचार्यसहित २२ जनाविरुद्ध मुद्दा दर्ता, ९६ अर्ब बिगो दाबी
जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई जफत सामाग्रीसहित सोमबार अदालत उपस्थित गराउन सर्वाेच्चको आदेश
आज श्रावण शुक्ल पञ्चमी : नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै
जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
स्कुलबाट घर आउँदै गर्दा बगेकी बिनिताको शव भेटियो, एक जनाको खोजी जारी






