धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले संस्थागत (निजी) विद्यालयहरूलाई अनुमतिबिना पाठ्यपुस्तक परिवर्तन नगर्न निर्देशन दिएको छ । नगर कार्यपालिकाको कार्यालयले जारी गरेको पत्रमार्फत यस्तो निर्देशन दिइएको हो ।
उपमहानगरका अनुसार प्रत्येक शैक्षिक सत्रमा विद्यालयहरूले पाठ्यपुस्तक परिवर्तन गर्दा अभिभावकमाथि अनावश्यक आर्थिक बोझ पर्ने गरेको भन्दै गुनासोहरू प्राप्त भएपछि यस्तो निर्णय गरिएको हो ।
उपमहानगरले एक सार्वजनिक सूचना जारी गर्दै अब उपमहानगरपालिकाको पूर्वस्वीकृति बिना कुनै पनि विद्यालयले पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने बताएको छ ।
सूचनामा भनिएको छ, यदि कुनै विद्यालयले बिना अनुमति पाठ्यपुस्तक परिवर्तन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ । यस निर्देशनले अभिभावकको आर्थिक भार कम गर्ने तथा विद्यालय व्यवस्थापनमा पारदर्शिता ल्याउने अपेक्षा गरिएको छ ।
उपमहानगरपालिकालेधनगढीका सबै निजी विद्यालयहरूलाई आफूखुसी पाठ्यपुस्तक परिवर्तन नगर्न सोमबार नै परिपत्र गरेको जनाएको छ ।






